“अवधि सकिएपछि म्याद थप्ने हैन निर्वाचन गर्नुपर्छ”

18 February, 2017 00:07 | राजनीति | comments | 1800 Views

Election

नेपालमा निवाचित निकायको अवधि सकिए पनि सबै दल मिलेर म्याद थप्ने परिपाटी बसिरहेको र अब पनि त्यस्तै हुने संकेत आउन थालेका बेला विज्ञहरुले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकाले निर्वाचित संस्थाको अवधि सकिने बित्तिकै चुनाव हुनुपर्नेमा जोड दिइएको छ ।

२०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ र अहिलेको कामचलाउ संसद पनि त्यति समयका लागि मात्र हो । तर, अहिलेसम्म निर्वाभनको सुरसार नभएका बेला अवधि सकिने बित्तिकै चुनाव हुनुपर्नेमा जोड दिइएको हो ।

शुक्रबार प्रथम निर्वाचन दिवसको पूर्व सन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको ‘लोकतन्त्र र निर्वाचन’ विषयक अन्तरक्रियाका सहभागी वक्ताले सो कुरामा जोड दिनुभएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रशासकीय अदालतका अध्यक्ष एवम् संविधान विश्लेषक काशीराज दाहालले लोकतन्त्र भएको देशमा वर्षौदेखि स्थानीय निकायको निर्वाचन नहुनु असुहाउँदो भएको बताउनुभयो ।

“तीन तहको निर्वाचन गर्न सरकारले तत्काल मिति घोषणा गर्नुपर्छ, रुपान्तरित संसद्ले दूरगामी प्रभाव पार्ने निर्णय गर्नुहुँदैन, निर्वाचन मिति आयोगले तोक्ने व्यवस्था हुनुपर्छ” –उहाँले भन्नुभयो ।

दलहरु पारदर्शी भई आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभ्यास सुरु गर्नुपर्नेमा दाहालले जोड दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जेठमा स्थानीय निर्वाचन गर्न सरकारले एक दुई दिनमै मिति घोषणा गर्नुपर्ने बताउनुभयो । “लोकतन्त्रको आधार निर्वाचन भएकाले आयोगले पहिलोपटक निर्वाचन दिवस मनाउने परम्परा सुरु गरेको छ, मुखले लोकतन्त्र भन्ने तर व्यवहारमा नउतार्ने संस्कार अन्त गरिनुपर्छ” –उहाँले भन्नुभयो ।

पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन जिते स्वच्छ भयो, हारे धाँधली भयो भन्ने संस्कारबाट दलहरु मुक्त हुनुपर्ने बताउनुभयो । “खेलको नियम मान्ने संस्कार राजनीतिक दलले विकास गर्नुपर्छ, आयोगलाई संवैधानिक रुपमै स्वायत्तता दिइनुपर्छ” –उहाँले भन्नुभयो ।

कार्यक्रममा भारतको केरला प्रदेशका प्रमुख निर्वाचन आयुक्त एके माझी, आयोगका सचिव गोपीनाथ मैनाली, पूर्व सचिव सुशील राणा, सह–सचिव नवराज ढकाल र रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र शर्मालगायतका वक्ताले लोकतन्त्रलाई संस्थागत गर्न समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

हुलाक टिकटमा टाँचा

निर्वाचन दिवसको पूर्व सन्ध्यामा आजै आयोगमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले निर्वाचन आयोगको स्वर्ण महोेत्सवका अवसरमा प्रकाशित विशेष संस्मरणात्मक आवरणमा प्रथम दिवसीय टाँचा लगाउनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले आयोगले दलहरुलाई निर्वाचनसम्बन्धी विषयमा मार्ग निर्देश गर्नुपर्ने बताउनुभयो । “आयोगले मताधिकारबारे मतदातालाई सचेत बनाउनुपर्छ, निवार्चनका विषयमा मतदाता सचेत र जागरुक भए भने मात्र निर्वाचन स्वच्छ हुन्छ” –उहाँले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको मिति तोकिएपछि मन्त्रीलाई पनि आचारसंहिता लगाइने प्रतिबद्धता जनाउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More