उज्वेकिस्तानको चुनौती सामना गर्न सक्ला नेपाल ?

17 July, 2017 18:56 | खेल | comments | 4 Views

एएफसी यू-२३ च्याम्पियनसिप छनोटका लागि यूएईमा रहेको नेपाली युवा फुटबल टिमले आज ८:१५ बजे प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । नेपाल सम्मिलित समूह ‘डी’ मा सर्वाधिक बलियो प्रतिद्वन्द्वीका रूपमा हेरिएको उज्वेकिस्तानविरुद्ध गोल नखाने रणनीति अख्तियार गर्नु नेपालको हितमा हुनेछ ।

पहिलो खेलमा आयोजक यूएईविरुद्ध दबाबमा पर्दै ५ गोल खाएको नेपाली टिमका लागि प्रतियोगितामा छनोट हुने सम्भावना लगभग सकिएको छ । यस्तोमा उसका लागि सोमबारको खेलमा जित निकाल्नैपर्ने बाध्यता भए पनि नेपालले एक अंकका लागि खेल्दै उज्वेकिस्तानलाई रोक्न सकेमा उत्कृष्ट ‘कमब्याक’ मानिनेछ ।

यद्यपि उक्त सम्भावना निकै कम भए पनि असम्भव भने छैन । त्यसका लागि यूएईविरुद्धको डिफेन्समा भएको कमजोरीलाई सुधार्नु नेपालका लागि उज्वेकिस्तानविरुद्ध जोगिने एक मात्र विकल्प हो । अन्यथा फेरि पनि यूएईविरुद्धको गोल संख्या दोहोरिने खतरालाई टार्न नेपालका लागि निकै मुस्किल पर्ने पक्का छ ।

उद्घाटन खेलमा उज्वेकिस्तानले ३–१ ले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । यस्तोमा उसले छनोटका लागि आफूलाई रोक्न सक्ने टिमका रूपमा यूएईलाई लिएकाले नेपालविरुद्ध फराकिलो जितको खोजीमा उज्वेकिस्तान रहनेछ । किनकि यूएईसँग बराबरी भएमा गोलअन्तरमा छनोटको सम्भावनालाई कायम राख्न पनि नेपालविरुद्ध उसले आक्रामक खेल खेल्ने पक्का छ । यस्तोमा नेपालले आफूलाई जोगाउँदै गोल नखाने नीति अख्तियार गरेमा सम्भवतः यूएईको इतिहास दोहो¥याउन उज्वेकिस्तान असफल हुनेछ ।

त्यसो त फिफा वरीयतामा समूहमा नै अग्रस्थानमा रहेको उज्वेकिस्तान ६५औं नम्बरमा रहेको छ । उज्वेकिस्तानले छनोट खेलअघिको मैत्रीपूर्ण अभ्यास खेलमा पनि बलिया टिमविरुद्ध कडा प्रतिस्पर्धा गरेको छ । २०२२ को विश्वकप आयोजनाको तयारी गरिरहेको कतारविरुद्ध उसले ३-१ को जित हासिल गरेको थियो भने क्यानडासँग १-० ले हारेको उसले २०१८ को विश्वकप आयोजक रुससँग ४-३ गोलअन्तरले पराजित हुँदै आफ्नो प्रभावशाली खेल पस्कन सफल भएको थियो ।

नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले पनि यूएईविरुद्धको खेलपछि टिमको रणनीति स्वाभाविक रूपमा परिवर्तन हुने बताएका छन् । प्रशिक्षक शाक्यले यूएईमा नेपाली टिमका लागि बलिया दाबेदारहरूविरुद्ध कडा चुनौती दिने टिमका रूपमा रहे पनि बलिया टिमसँगै मौसम पनि नेपाली खेलाडीका लागि प्रतिकूल रहेकाले सोचेअनुरूप प्रदर्शन गर्न नसकेको उनले बताएका छन् ।

उज्वेकिस्तानले प्रतियोगिताको उद्घाटनमा नै छनोटको आसमा रहेको लेबनानलाई हराएर बलियो आत्मविश्वास लिएकाले नेपालमाथि हाबी हुने पक्का छ । यस्तोमा जित्नैपर्ने तनावबाट मुक्त भएर नेपालले उसलाई रोक्ने रणनीति लिनुको विकल्प छैन ।

यस्तो छ उज्वेकिस्तानविरुद्धको लाइनअप

गोलरक्षक: एलन न्यौपाने

डिफेन्स: दिनेश राजवंशी-अनन्त तामाङ-गौरब बुढाथोकी-कमल श्रेष्ठ

मिडफिल्ड: सुमन लामा-हेमन गुरुङ-पुजन उपरकोटी-विश्वास श्रेष्ठ

फरवार्ड: बिमल घर्ती मगर-अन्जन बिष्ट

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More