एनआरएनएको अध्यक्षमा भवन भट्टको सानदार जीत (मत परिणाम सहित)

17 October, 2017 05:12 | एन आर एन न्युज , जापान | comments | 21000 Views

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा विजयी हुनुभएको छ ।

भट्ट निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित हुनुभएको हो । जातीयता र क्षेत्रीयताको रंग दिने प्रयास गरिएको एनआरएनए अध्यक्षको निर्वाचनमा जमुनाको पक्षमा अपेक्षाकृत मत भने खसेन ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदानमामा भट्टले गुरुङलाई भारी मत अन्तरले पराजित गर्नुभएको छ । खसेको १७८८ मतमध्ये भट्टले ११ सय ९७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ६३ मत ल्याउनुभयो ।

त्यसै गरी २ जना निर्वाचित हुने उपाध्यक्षमा कुमार पन्त १०३० मत र कुल आचार्य ६४४ मत सहित निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी १०५४ मत पाएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा अमेरिकाबाट उम्मेदवारी दिएका तीनैजना पराजित भएका छन् । जस मध्ये साेनाम लामा ४२६ मत, चिरंजिवी थापा ३८० मत, खगेन्द्र जीसी ३३९ मत र रविना थापा २६४ मत पाएका थिए।  यस्तै महासचिवमा डाक्टर बद्री केसी ७६७ मत, सचिवमा जानकी गुरुङ ६५५ मत र डीबी क्षेत्री ६८६ मत, कोषाध्यक्षमा हिक्मत कार्की १०३८ र सहकोषाध्यक्षमा सोम सापकोटा १०३४ निर्वाचित हुनुभएको छ ।

महिला संयोजकमा रजनी प्रधान ९८२ मत पाएर निर्वाचित हुनुभएको छ भने युवा संयोजकमा सुदन थापा ४९७ मत सहित निर्वाचित हुनुभएको छ । महिला संयोजकमा भूमादेबी लिम्बुले ६७६ मत पाएकी थिइन।

त्यसै गरी युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।

ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।

एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

२० वर्षअघि अध्ययनका लागि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका हुनुहुन्छ । भट्टले अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहनुभएको छ ।

रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ ।

सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान जानुभएका भट्टले नेपालमा टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गर्नुभएको छ भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ ।

‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाको लगानी छ ।

सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गर्नुभयो । एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

एनआरएनए नयाँ नेतृत्वमा पैसा, जातियता र राजनीतिको प्रभाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More