एनआरएन अभियन्ता उपेन्द्र महतो दाजीलाई धन्यबाद पत्र !

16 July, 2017 20:42 | बिचार | comments | 16 Views

– अनुप न्यौपाने

दाजी उपेन्द्र महतो,
म क्यानडाबासी नाथे नारानको नमस्ते।

तपाई जिल पर्नुहुन्छ होला, यो बेला न कुबेलाको धन्यवाद पत्र देखेर । कुरा अलि त्यस्तै त्यस्तै छ के दाजी, धन्यवाद दिनै पर्ने ।

नेपालमा भर्खर स्थानिय तहको चुनाव सकिदै गर्दा यहाँ बिदेशमा बस्ने हामी नारानहरुलाई पनि गज्जबैले चुनाव लाग्या छ। हाम्रा दाजुभाई दिदीबहिनीहरुले नेपालको चुनावमा निक्कै मजा लिएको देखेर थुक घुटुघुटु निल्न बाध्य हामी अब आफ्नै वरिपरि सोही तौर तरीका अपनाउदै पाखुरी सुर्क्याउने तयारीमा जुटिसकेका छौ। काङ्ग्रेस,एमाले, माओबादी र अन्य साना मसिना, भुसुना पार्टीमा बिभाजित हामी नारानहरु झगडा, किचलो, आरोप प्रत्यारोप र पौठे जोरिको गहन अभ्यासमा ब्यस्त छौ। अहा ! कम्ति तमाशा हेर्न पाइएको छ त ? नेपालमा मात्र देख्न/पढ्न पाइने यस्ता दुर्लभ दृश्य अब हामीले यता तिर पनि सजिलै आयात गरिसक्यौं । त्यहाँ नेपालमा नेपाली जनता चुनावको रमितामा रमाएको देख्दा यो नारानलाई कत्रो टेन्सन थियो । धन्य ! तपाइले आजभन्दा झन्डै १५ बर्ष पहिले एनआरएन नामको बिदेशी संस्था म जस्ता राजनीति बिचारले ओतप्रोत नारानहरुको लागी खोलि दिनु भाको थियो र त ति सबै कर्मकाण्ड गर्न पाइ रहिएको छ, नत्र चुक्क चुक्क गरेर मात्र बस्नु पर्थ्यो। मेरो ठुलो रहर पुगाइ दिनु भाकोमा धन्यबाद भनेको नि बुडा । कस्तो कुरा नबुझ्या। हररर ! आँतै हरहर भएर आयो,अबको यहाको रडाको सम्झेर ।

२००३ मा तपाइले यो संस्था खोल्दाको उद्देस्य “बाहिर बसेका नेपालीहरुलाई एक जुट बनाउनु र रेमिटान्स भित्राएर देश बिकासमा लगाउनु हो” भन्दा पररर तालि पडकाउनेमा यो मनुवा अग्रपंक्ति मै थियो, अहिले उ बेलाको कुबुद्धि सम्झेर आफुलाई खिस लोपार्दै बेकुफको श्रेणीमा राख्दैछु। हैट ! त्यस्तो उद्देस्य पनि राख्ने दाजी ? हामी नेपालीहरुको जन्मजात बानी थाह थिएन र तपाइलाइ ? हामी मिलेर बस्ने जात हो र ? हेर्नुस त फुटेर झगडा गर्नुको रमाइलो कति छ। कहिले लिनु भा छ यस्तो सितलताको अनुभव ? व्यक्ति व्यक्ति, गुट उपगुट, यसलाइ खसाउ, उसलाई तानौ, गेम भित्र गेम, पोल खोला खोल, वाह! क्या बात। यी सब त हामी नारानहरुको नशा नशामा छ। हामी नारानाहरुलाई यो सुवर्ण अवसर प्रदान गरी दिनुभएकोमा जति धन्यबाद दिए पनि पुग्दैन।

अझ चुनावको मौसम मात्रै आओस त, बाताबरणनै चम्किलो र उज्यालो हुन्छ यहाँ। यो मौसममा तपाई यस्सो विदेशतिर पस्नुस त अनि थाह पाउनु हुन्छ हामी नारानहरु देशको दलगत राजनीतिबाट कति गदगद छौ र त्यसलाई बिदेशमा पनि इमानदारी पुर्वक अगाडि बढाइ रहेका छौ । झन क्यानाडा,अमेरिका, बेलायत,अस्ट्रेलिया जस्ता बिकशित देशहरूमा त हामी बुद्धिमान नारानहरु अड्डा अदालत पनि धाउने भै सकेका छौ आफ्नो पौरखताको झण्डा गाड्न। यस्तो सित्तैको मनोरञ्जनको अवसर जुटाई दिनु भएकोमा फेरी धन्यबाद है दाजी।

बर्षबर्ष दिनमा हुने साधारण सभामा त कुटम कुट वा हात हालाहालको अवस्था न आउदा हामी दर्शकलाई पनि मनोरंजन हुन छाडी सक्यो। म त त्यही हुन्छ कि भनेर नै यस्ता ठाउँहरुमा नियमित जाने गर्या छु। झन् चुनावी बर्षको साधारण सभा परेमा त हामी अन्तराष्ट्रिय छापामा हेड लाइन मै आउछौ आफ्नो बिर गोर्खाली पाराको कारण। खै किन हो तपाई चाहि रमाउन सक्नु भएन दाजी,अलिक चकित छु।

अब हेर्नुस न, तपाईले तोकी दिएको अध्यक्ष पद पनि कति शक्तिशाली छ हामी कहाँ ,उही नेपालका कार्यकारी प्रधानमन्त्री सरह। जे निर्णय गर्नु परे पनि एकाधिकार। स्वक्ष छविकालाई मण्डलीमा नराखी कहा छाड्छु र ? विधानमा जे सुकै होस् ? बार्षिक साधारण सभा नजिकै होस, बाल मतलब? चुनाव रोकु,सारु जे गरौ, म पो अध्यक्ष। के रे ? बिभिन्न प्रान्तबाट चुनिएर आएका प्रतिनिधि रे ? के भन्या त्यस्तो ? कार्यकारिणी निकाय रे ? त्यस्तो पनि केहि हुन्छ र भन्या ? समाजका भद्र भलाद्मीहरु ? को छ यहाँ म जस्तो भद्र ? भए पनि ती सबै मेरा बिरोधि हुन। सर्वेसर्वा, क्रान्तिकारी, प्रजातान्त्रिक सबै मै त हो नि, मै भन्नाले म के दाजी म नारानहरुको महानारान। कस्तो कुरा नबुझ्या यो दाजीले पनि। जे होस् मेरो यत्रो मान बढाई तपाइले गर्दा नै त भाको हो नि, धन्यबाद नदिई कहाँ रहन सक्छु।

”राजनीति त हामी नारानहरु पटक्कै गर्दैनौ। सबै पढ्या लेख्या, बुद्धिजीबी र प्रोफेसनलहरु मात्र छौ यहा। नेपालको गुइये राजनीति पनि गर्छ कसैले ? लाज मर्दो ”, भन्न चाहि छोडेका छैनौ है दाजी तर गर्न भने नेपालका नेताहरुले के भेट्टाउलान र हामी बौद्धिक नारानहरुलाई। बयानबाजी, बखानबाजी, घोच्यानबाजी, होच्यानबाजी के के बाजी हो के के ? फेसबुक त गोरखापत्र नै हो हामी नारानहरुको। सुन्यो कुरसुरा नबुझ्यो, ड्याम्मै ठोक दियो। चुनावको रन्को यस्तो सित रन्केको छ कि उहिले उहिलेका खुइलेका कुरहरु,गल्तिहरु भट्टाभट ई-मेल र हुलाकी मार्फत आउन थालीसके। कम्ति रमाइलो भाछ त ? हो त्यही रमाइलोमा डुब्दै यस्तो उत्कृष्ट अवसर श्रीजना गरि दिनु भएकोमा फेरिपनि भित्रि हृदय देखिनै कृतकृत्य भै यो धन्यबाद वा साधुबाद पत्र यहालाई अर्पित गर्दै बिदा चाहन्छु। गल्ति भए क्षमा।

हजुरको भाई उही

नाथे नारान
टोरोंटोवाला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More