कस्सम म तपाईलाई जिताउन डटेर लाग्छु, तर !

12 August, 2017 12:46 | बिचार | comments | 6900 Views

शिव तण्डुकार

एनआरएनए जापान चुनावी माहोलमा होमिइसकेको छ । उमेद्वारहरू राम्रो राम्रो पोजमा फोटोसपमा फोटो इडिट गरी गरी आफ्ना फोटा र आफ्ना घोषणाका वाक्यांशहरू पनि प्रस्तुत गर्दैछन् । लगभग सबैलाई चिन्छु र सबै हाम्रा जस्तै लाग्छन् । कोहीलाई पिँधसम्म चिनेको छु कोहीलाई सतहसम्म ।

धेरै साथीहरूले उहाँहरूको समर्थनमा उहाँहरूको पोष्टलाई सेयर गर्दिनुपर्यो भनि अनुरोध पनि गरेका छन् । मलाई यस लायकको सम्झिनुभएकोमा धन्यवाद । तर हाम्रा मान्छे सबै राम्रा हुन्छन् नै भन्ने छैन । यदि तपाईहरूको घोषणपत्रमा मेरो प्रश्नको उत्तर आउँछ र जित पश्चात त्यस किसिमको कुकर्मको बिरूद्ध डटेर लाग्नुहुन्छ भने कसम म पनि तपाईलाई जिताउन डटेर लाग्छु ।

यहाँ देशको समृद्धिको कुरा गर्छन् तर यही जापानमा बिद्यमान नेपालीहरुको समस्या जुन नयाँ होइन धेरै पुरानो हो र बिकराल छ त्यसको समाधान गर्छु भनेर कोही कुरा गर्दैनन् । आज बिहान बिहान एकजाना साथीको फोन आयो । उसले चिन्ने मान्छे एक वर्ष अगाडि कुक भिषामा १७ लाख तिरेर आएछ, तर यहाँ आएर काम दिएनछ । साहुले भएको रेष्टुरेन्ट पनि बचेछ । बेकाम भएर महिनौ बसेछ । त्यसैबीच बिरामी पनि परेछ, दुई महिना अस्पतालको बास भएछ । औषधि खर्च दशौं लाख उठेछ तर यसमा भाग्यले साथ दिएको भनौ केही मनकारी साथीहरूले चन्दा उठाएर केही तिर्दिएछन् केही अस्पतालको खर्चमा कटौटी गराएछन् ।

मलाई काम नदिए पनि मेरी श्रीमतीलाई डिपेन्डेन्टमा बोलाइदेऊ न भनेछ । आएको झण्डै एक वर्ष लगाएर भिषा प्रोसेस गर्दिएछ, इजिबिलिटी पनि निकाली दिएछ तर ईजिबिलिटी निकाली दिएको बापत फेरी ७ लाख मागेछ । बिचरा पीडितलाई पीडामाथि झन् पीडा, लुट्नुको पनि सीमा हुन्छ ।

चुस्नुको पनि सीमा हुन्छ, भिषाको लागि साहुले आफै गरे ४००० येन भिषा चार्ज र आवत जावत खर्च हो, वकिल लगाए ५०,००० देखि १००,००० येन सम्म लिन्छ यो ७ लाख कताको हिसाब निकालेछ । सोझो मान्छे अक्क नबक्क भएर बसेको छ ।

यी त केही प्रतिनिधि घटना हो । यहाँ हजारौं यस्ता घटना छन् । हजारौं पीडित छन् कति घटना बाहिर आउछ कति चुपचाप हराउछ । तर जति बाहिर आउछ त्यतिको समस्या समाधान गर्नमा समय खर्च गर्नसक्नु समाजको अगुवाई गर्न र गर्न खोज्नेहरूको कर्तव्य हो ।

देशलाई समृद्ध बनाउने कुरा छोड्दिनुस्, नेपालका नेताहरूले २०४६ सालमा पनि त्यही कुरा रट लगाएका थिए । कहिले सिंगापुर, कहिले स्विजरल्याण्ड भनेर खोकेको खोकै छन् । यसरी खोक्ने कति नेता माटोमा मिलेर गैसके, कति यसलाई आफ्नो धन्दा बनाएको छ । अब त स्मार्ट सिटी रे, शब्द फरक हो तर गर्छु भनेको कुरा त्यहि हो देशलाई समृद्ध बनाउने । तर वास्तविकता सबैलाई घाम झैं छर्लङ्ग छ , देशको समृद्ध त्यस्तै हो माग्ने र नाङ्गे नेता र तिनका कार्यकर्ता समृद्ध भएका छन् ।

त्यसैले पहिला आफ्ने ठाउँको समस्यालाई चिरफार गर्ने सोच राख्नुहोला । त्यो भनेर अपराधीलाई कार्वाही गर्ने पूरा अधिकार तपाईमा छ भन्न खोजिएको पनि होइन । तर कुकर्म गर्नेको भण्डाफोर गर्न त सक्नुहुन्छ नि ? सामाजिक रूपमा नङ्ग्याऊन त सक्नुहुन्छ नि ??

बिगतमा मैले-
● कुनै पनि कुक र कामदारको रगत पसिना लुटेको छैन ।
● कुनै पनि बिद्यार्थी भित्र्याऊदा अनावश्य शुल्क लिएर लुटेको छैन ।
● कुनै पनि प्रशिक्षार्थी भिषामा आएकालाई लुटेर वर्वाद बनाएको छैन ।
● कुनै पनि भिषामा जापान ल्याएर शणार्थी बन्न अभिप्रेरित गरेको छैन ।
● कुनै पनि बहानामा मानव तस्करी गरेको छैन ।
● कुनै पनि नेपालीलाई अनावस्यक दुस्ख दिएको छैन ,
● कसैको कमजोरी र विवशताको फाईदा ऊठाएको छैन ।
● कसैलाई ठगेको छैन ।
● सबैभन्दा महत्वपुर्ण कुरा कसैलाई आत्माहत्या गर्न बाध्य पारेको छैन ।
यदि सार्वजनिक रूपमा यस्तो कुनै पनि एनआरएनए जापानको चुनावी उमेद्वारले भन्नसक्छ भने मेरो र मेरो मातहकको भोट सबै उसलाई जान्छ । धेरै बुट्टा भरेर घोषणा पत्र नलेखे हुन्छ । मानवताको नाताले यि कुकर्म नगरेको भैदिए पुग्छ ।

जय एनआरएनए !!

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More