गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

19 March, 2017 19:45 | एन आर एन न्युज | comments | 11850 Views

nrna-asia-pacific

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भन्नुभएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।”

मन्त्री डा महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखाँै नेपाली बिदेसिन बाध्य हुनु परेको स्मरण गर्दै उनीहरुले अन्य देशमा गएर आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताउनुभयो । उहाँले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईंहरुले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ट पहिचानका लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन गर्नुहोस् र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।”

नेपालमा अर्को महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनामा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाउँबाट सुरु हुन लागेको उहाँले बताउनुभयो । नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल पुनःसंरचित रुपमा स्थिरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहेकाले संसारका सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

मन्त्री डा महतले भन्नुभयो – “नेपालले यतिखेर विकास र समृद्धिको मार्ग तय गर्दैछ । विगतको जस्तो लगानीको वातावरण नरहेको भन्ने अवस्था अब देशमा छैन । त्यसैले म सबै गैरआवासीय नेपालीलाई नेपालको जलविद्युत्, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु ।” उहाँले देशको आर्थिक तथा विश्वमा नै पुँजी तथा प्रविधिको विकास र आदानप्रदान गर्न सकिने एक प्रभावकारी मञ्चका रुपमा गैरआवासीय सङ्घलाई लिएकाले यस अभियानको सहयोग र प्रवद्र्धनमा सघाउँदै आएको धारणा पनि राख्नुभयो ।

खाडी देशमा ठूलो सङ्ख्यामा रहेको नेपाली जनशक्तिको श्रमको सम्मान होस् र उनीहरुको हकअधिकार र सुविधाको संरक्षण र प्रवद्र्धन होस् भनी नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उक्त बैठकमा गैरआवासीय नेपाली सङ्घको एसिया प्रशान्त क्षेत्रीय देश, युरोप र अन्य देशका अगुवाका साथै नेपालका उद्योगी–व्यवसायीको पनि सहभागिता रहेको छ । सो बैठकमा मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान सिंह बस्नेत, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले, पूर्वअध्यक्षहरु जिवा लामिछाने र उपेन्द्र महतोलगायतले सम्बोधन गर्नुभयो ।

सो बैठकका लागि मन्त्री डा महत शनिबार मलेसिया जानुभएको हो ।

नेपालमै रोजगारीको सृजना गर्न एनआरएनहरुलाई गभर्नर नेपालको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More