गैर आवासीय नेपाली संघ जापानको गठन र आगामी कार्यभार

13 August, 2017 10:44 | बिचार | comments | 5850 Views

– राजन प्रधानाङ्ग

जीवन यात्राका उकाली–ओराली भोगाई र अनुभूतिले जीवनलाई जीवन्तता दिन्छ । जीवन न त सोचे जस्तो हुनेरैछ, न त चाहे जस्तो नै, कहिले आरोह कहिले अवरोह यो एक किसिमको चक्र जस्तै रहेछ । मेरो बुझाई र भोगाई पनि एकै किसिमको भएन ।

जीवन भोगाईको अनुभव र आफ्ना अनुभूतिहरुलाई संक्षिप्त रुपमा यहाँ उल्लेख गर्ने जमर्को गरेको छु । जापानमा नेपालीहरुको बसोबास संख्यात्मक हिसावले धेरै र लामो भए तापनि प्रवासमा रहेका नेपालीहरुले आफ्नो जन्मभूमिका लागि के गर्न सकिन्छ, कसरी सकिन्छ, ब्यक्तिगत रुपमा भन्दा सामुहिक रुपमा केही बढी गर्न सकिन्छ कि ? यस्ता अनेकन प्रश्न आउने मेरो मन, जन्मभूमिको लागि केही त गर्नु पर्छ भन्ने विषयले मलाई धेरै पटक घचघचाएको थियो । लाग्थ्यो मैले केही त गर्नैपर्छ ।

जापान मेरो लागि जीवन जिउनको लागि बनेको देश मात्रै थिएन, जिम्मेवारी बहनको शिक्षा, जीवनको महत्व, उज्जवल भविष्यको सफल रुप पनि थियो । त्यसैले मेरो देशको लागि मैले भोगेको जीवनको केहि भाग, केही गर्नुपर्छ भन्ने मनको आवाज पनि सँगै थियो । जापानमा भएका हामी सबै–साथीबीच यसका बारेमा छलफल पनि भैरहन्थो, कसरी हामीले आफ्नो जन्मभूमिको विकासका लागि सहयोग पुर्याउन सक्छौ ?

नेपाली समुदायलाई प्रभावकारी रुपमा कसरी सहयोग पुर्याउन सकिन्छ भनेर एक किसिमको कौतुहलताले सताई नै रहन्थ्यो एनआरएन जापान युवा अवस्थामा आफ्नै जीवनका लक्ष्यहरुलाई सिंगार्दा नै बिते, जीवनका जिम्मेवारीलाई पूरा गरेको महसुसपछि हामीले पनि जापानमा अनेकन नेपाली संघ संस्था स्थापित भए पनि प्रवासमा रहेका सबै नेपाली अट्न सक्ने संस्था स्थापनाको खाँचो रहेको अनुभव गरेका थियौं जुन संस्था नेपाल सरकारले पनि सहयोगी संस्थाका रुपमा स्थापित होस भन्ने हामी विच पनि छलफल हुने गर्दथ्यो ।

त्यस वखत नेपालबाट रसिया पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या अधिक थियो । रसिया गई पढ्ने विद्यार्थीहरुले रसियामा नै पढ़ाई सकेपछि त्यही बिभिन्न पेशा ब्यवसायमा संलग्न भई सफलता प्राप्त गरेसंगै रसियासहित अन्य स्थानमा रहेका नेपालीहरुलाई समेटेर गैर आवासीय नेपाली संघको स्थापना गरेको थिए । संस्थाको लक्ष्य विदेशमा रहेका नेपालीहरुलाई समेट्दै विदेशमा आर्जन गरेको शिक्षा, अनुभव र लगानीको लागि असल वातावरण बनाउने र आफ्नो जन्मभूमिलाई सहयोग पुर्याउने रहेको थियो ।

सन २००० बाट नै युरोपमा रहेका नेपालीहरुबीच विश्वभर रहेका नेपालीहरुलाई गोलबद्ध गर्नसक्ने संस्थाको महशुस भैरहेको थियो । युरोपका विभिन्न देशहरुमा बस्ने नेपालीहरुबीच सहमति गर्दै संस्था संचालन गर्ने र नेपाल सरकारसग पनि संस्थाको उद्देश्यका बारेमा योजनासहित छलफल गर्ने काम भैरहेको थियो । यही आवश्यकतालाई पुरा गर्न २००३ शुरुवातमा डा उपेन्द्र महतोहरुको सक्रियतामा लण्डननमा पहिलो नौपचारिक भेला सम्पन्न भएको थियो । यो भेलपछि सन् २००३ को अगष्ट ३१ तारिखमा काठमाण्डौमा ग़ैरआवसीय नेपाली संघको विधिवत पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

पहिलो सम्मेलनले डा उपेन्द्र महतोको अध्यक्षमा कमिटि निर्वचित गर्दै विश्वको अन्य देशहरुमा रहेका नेपालीहरुलाई एनआरएन अभियानमा जोड़ने निर्णय अनुसार २००४ को फ्रेबवरीमा हामीले एनआरएन जापानमा गठन गर्न सफल भयौ । हामीले २००४ मा एनआरएन जापान गठन गर्दा त्यस समयमा जापानमा करिब ४ हजार नेपाली रहेको अनुमान थियो भने पहिलो भेलामा करिब ७० जनाको उपस्थिति रहेको थियो ।

एनआरएन जापानले जापानवासी नेपालीहरुलाई जापानिज भाषाको सहयोगी हुने कार्यक्रम संचालन गर्दा राम्रो हुनेछ, त्यसै गरी जापानिज नीति र कानुनहरुको पालन गर्दै भविष्यमा कानुनमा हुनसक्ने परिवर्तनहरुलाई मध्यनज़र गर्दै त्यसको तयारी गरिनु पर्दछ । जापानवासी नेपालीले यहॉको सांस्कृतिक संस्कार र नेपाली संस्कृतिको साटसाट गर्ने वातावरण तयार गर्दै दैविक प्रकोपको लागि चनाखो भएर नेपालीहरुको लागि सुचना सबैलाई सजिलोसंग पुर्याउन संयन्त्र निमार्ण गर्ने तयारी गरिनु पर्दछ ।

ग़ैर आवसिय नेपाली सघ जापानले सबै नेपालीहरुलाई समेटदै जापान सरकार र नेपाली दूतबासले प्रदान गर्ने सबै प्रकारका सेवा र सुविधाहरु लिने तरिकाका बारेमा पनि पुलको रुपमा सहयोगि बन्न आवश्यक छ । अबको लक्ष्य विश्व भरी रहेका नेपालीहरुलाई संगठित गर्दै जन्मभूमिको लागि आर्थिक र सामाजिक विकासमा टेवा पु्याउने उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अहिले ७० देशमा करिब ५० लाख नेपालहरुको साझा संस्थाको रुममा विकास भएको छ भने जापानमा रहेका हामी करिव ७० हजार नेपालीहरु मध्ये ११ हजार भन्दा बढी सदस्यहरु संगठित भएका छौ । knowledge, network and challenge मूल नाराका साथ हामीले जापानमा एनआरएन शुरु गरेका हौ । यो संस्थासँग जोडिने क्रम जारी रहेको छ । संघको दिननुदिन प्रगति देखेर मन हर्षित हुनुका साथै स्थापनाकालको संस्मरण आजको मितिमा याद गर्दा पनि रोमाञ्चित बनाउँछ ।

देशले अहिले ७.५ प्रतिशतको आर्थिक बृद्धीदर भेट्टाउँदा प्रवासमा रहेका नेपालीहरुको रेमिटान्सको प्रतिशत उच्च रहेको छ । यो मात्रै होइन, प्रवासमा आर्जन गरेको प्राविधिक ज्ञान होस वा कृषी क्षेत्रमा नेपालीले आर्जन गरेको शीप तथा उच्चतम प्रविधिको प्रयोग होस् यसले नेपालको अर्थतन्त्रमा टेवा दिएको नै छ । त्यस सँगसँगै साना तथा ठूला उद्योग, जलविद्युत, पर्यटन, बैक, होटल एवं रेष्टुरेण्ट, हवाई, भौतिक पुर्वधारमा देखिएको प्रवासीहरुको लगानी पनि नेपालको आर्थिक क्षेत्रलाई बलियो बनाउने कार्यमा एउटा दरिलो खम्वा सावीत भएको छ ।

मसहित एक विदेशी साथी नेपाल पठाउने अभियान, अहिले नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा संचालन भैरहेको अतिथि देवःभवः कार्यक्रम जसको संयोजक भवन भट्ट हुन उनी नेपालीहरु माँझ विश्वासलाग्दो अभियान्ता हुन । भट्ट नेपालका लागि नेपालीले गरेका मातृभूमिको प्रेमका दरिला उदाहरण हुन । हामीले जन्मभूमिका लागि सकारात्मक सन्देश सहित नेपालमा आर्थिक विकास र सामाजिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने कार्य गर्न आवश्यक छ । यदि त्यो लक्ष्यलाई भेट्टाउने हो भने हामीले सामुहिक रुपमा केहि ठुला आयोजनामा हात हाल्नु पर्ने हुन्छ ।

देशको विकासको लागि परदेशीको भूमिका खोजिरहेको बेला, हामीले उठाएको मागका बारेमा नेपाल सरकारले २०१५ मा जारी गरेको संविधानमा पनि गैर आवासीय नागरिकताको ब्यवस्थासंगै हामीमा जिम्मेवारी बढेको छ । त्यसैले अबको अधिवेशनमा कुनै राष्ट्रमा ५० हजार नेपाली बसोबास गर्छन भने त्यो राष्ट्रले संघको अगुवाईमा संयुक्तरुपमा गर्ने सकिने ठूला आयोजनाको सम्भाब्यता खोजिनु पर्दछ ।

जस्तो ५० हजारको लागि निश्चित दरले सेयर लिन सकिने, त्यो रकमले नेपालमा कुनै एक ठुलो आयोजना सम्पन्न गर्ने त्यसको लाभ सबैले लिने

अन्त्यमा, भनिन्छ जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ । त्यसैले एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल मर्म सहित स्थापना भएको गैर आवासीय नेपाली संघलाई निरन्तर संचालन गर्नको लागि यसको विधानको मर्मलाई आत्मसाथ गर्दे सवै नेपाली समुदायलाई सहयोग र एकताका लागि अनुरोध गर्दछु । एनआरआरएन जापानलाई सवै जापानवासी नेपालीहरुको आशा र विश्वासको केन्द्रका रुपमा विकास गर्न आफ्ना सदस्यहरुको समस्याहरु मात्र नभई समग्र नेपालीहरुको समस्यामा चिन्तित हुनु पर्दछ ।

जन्मभूमिको विकासको लागि हरदम सहयोगी बन्दै एक आपसमा भाइचारा कायम गर्दै सकारात्मक सौंचका साथ सबैलाई गोलबन्द गरेर समय अनुकुल अघि बढ्न आवश्यक छ । गैर आवासीय नेपाली सदस्यहरुले संघको विकास सहित प्रवासमा आर्जन गरेका सबै प्रकारको सफलता आफ्नो जन्मभूमिलाई प्रदान गरौ ।

(लेखक गैर आवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष हुनुहुन्छ)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More