चिकित्सकलाई बाजागाजासहित स्वागत गरे गाउँलेले

16 March, 2017 17:51 | जन सरोकार | comments | 1650 Views

doctor

जनताको स्वास्थ्यमा सरकारले वर्षेनी अबौं रुपैयाँ खर्च गर्ने गरे पनि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामाा दक्ष चिकित्सक बस्नै मान्दैनन् । उनीहरु शक्तिको आडमा राजधानी तथा सुविधासम्पन्न शहरमा बसेर पैसा कमाउन तल्लिन रहन्छन् ।

गाउँघरमा भने जनता सिटामोल र जीवनजल नपाएर अकालमै मृत्युवरण गर्न बाध्य हुन्छन् । दुर्गम क्षेत्रका जनताका लागि चिकित्सकको अनुसार देख्नु पनि दुर्लभ हुने गरेको छ । त्यसैले त उनीहरु गाउँमा चिकित्सक आए भने बाजागाजासहित स्वागर्त गर्छन् । यस्तै भएको छ बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ।

त्यहाँ १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । चिकित्सकलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि डा. जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर हुनुभएको हो ।

विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो ।

आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताउनुहुन्छ ।

मेलौलीमा चिकित्सक आएसँगै स्वास्थ्य बीमाको सेवासमेत सुरु हुने भएको छ । स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । १६ वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्तरुपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताउनुभयोे । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गरेपछि बल्ल चिकित्सक आएका छन् ।”

सरकारले चालु आवको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा गत फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ ।

दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More