– मोहनविक्रम सिंह – मोहनविक्रम सिंह

  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह

चुनावको मूल्याङ्कन : नेपाली काँग्रेसको पराजयबाट के शिक्षा लिने ?

13 December, 2017 14:34 | बिचार | comments | 111900 Views

– मोहनविक्रम सिंह

– मोहनविक्रम सिंहनिर्वाचनमा नेपाली काँग्रेसको नराम्ररी पराजय भएको छ । त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता छ । यस सन्दर्भमा सर्वप्रथम यो कुरा बुझ्नु पर्ने आवश्यकता छ – ने.का.को पराजयको कारण के हो ? त्यसबारे देशमा बहस पनि प्रारम्भ भएको छ । त्यो बहसलाई सही तार्किक निष्कर्षमा पुर्‍याउनु पर्ने आवश्यकता छ ।

यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुराहरू हुन् : ने.का.को नेतृत्वले राष्ट्रियताका सन्दर्भमा खुला प्रकारको भारतपरस्त नीति अपनायो । त्यसको नेतृत्वमा पृथकतावादी, राजावादी, कट्टर हिन्दूवादी शक्तिहरूको गठबन्धन बन्यो । ने.का.को नेतृत्वमा जुन शक्तिहरू एकीकृत भएका छन्, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनीहरूको झुकाव गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्थापना गर्ने, राष्ट्रियतामाथि प्रहार गर्ने तथा धर्म निरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनेतिर नै छ ।

शेरबहादुरले खुला रूपले ता राजतन्त्रको पुनस्र्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरा बाहिर ल्याएका छैनन्, तर एकातिर, उक्त प्रश्नहरूमा भारतीय विस्तारवादको दवाव तथा स्वयं देउवाको चरम प्रकारको अवसरवादी र सम्झौतापरस्त नीति तथा उनको नेतृत्वमा बनेको गठबन्धनको राजनीतिक चरित्रमाथि ध्यान दिंदा उनको नेतृत्वमा बनेको गठबन्धनको जित भएको भए राष्ट्रघात र प्रतिगमनको अत्यधिक खतरा थियो । चुनावको सन्दर्भमा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका प्रश्नहरू प्रमुख मुद्दाका रूपमा अगाडि आए । ने.का. पक्षीय गठबन्धनको पराजय वास्तवमा उक्त प्रश्नहरूमा जनताको विजय हो । ने.का. पक्षीय गठबन्धनको पराजयले वास्तवमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताबारे जनताको उच्च चेतना र जनमतलाई बताउँछ । त्यसरी अहिलेको निर्वाचनले दीर्घकालिन रूपले राजनीति भविष्यको फैसला गरेको छ ।

ने.का.भित्र एउटा ठूलो पक्ष छ, जसले राजतन्त्रको पुस्र्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने कुरामा जोड दिन्छ । त्यसले राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको पक्षमा सङ्गठित रूपले अभियान चलाउँदै आएको छ मधेशवादीहरूले खुला रूपमा नै पृथकतावादी नीतिहरूमा जोड दिंदै आएका छन् । अर्काशब्दमा उनीहरूले योजनावद्ध प्रकारले नेपालमा भारतीय विस्तारवादी उद्देश्यहरू पूरा गर्नका लागि काम गर्दै आएका छन् । त्यस प्रकारका सबै तत्वहरूको नेतृत्व देउवाले गर्दछन् ।

देउवाको बारम्बार राजा वा प्रतिगमनका पक्षमा काम गरेको इतिहास छ । त्यो बाहेक उनले राष्ट्रघाती प्रकारको दोस्रो संविधान संशोधन विधेयकलाई पारित गराउन लगातार जोड दिने प्रयत्न गर्दै आएका थिए । संसदले त्यो विधेयकलाई अस्वीकार गरिसकेपछि पनि उनले दिल्लीमा गएर त्यो विधेयकलाई पारित गराउन पुनः प्रयत्न गर्ने प्रतिबद्धता प्रकट गरेका थिए । त्यो अवस्थामा चुनावमा उनीहरूको विजय भएको भए त्यसले दीर्घकालिन रूपमा नै देशलाई राष्ट्रघाति र प्रतिगमनको दिशामा लैजाने थियो । त्यो अवस्थामा जनताले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि एउटा लामो सङ्घर्षको बाटो समात्नु पर्दथ्यो । वास्तवमा अहिले जनताले जुन उच्च प्रकारको चेतनाको प्रदर्शन गरेका छन्, त्यो नेपालको करिब एक सयवर्षदेखि, लखन थापा, प्रचण्डगोर्खाको समयदेखि नै राजतन्त्र, निरङ्कुश शासन र प्रतिगमनका विरुद्ध बेग्लाबेग्लै कालखण्डहरूमा चल्दै आएको प्रजातान्त्रिक सङ्घर्ष तथा २००७ सालको दिल्ली सम्झौतादेखि राष्ट्रियताका पक्षमा चल्दै आएको लामो सङ्घर्षको परिणाम हो । केही नेता वा पार्टीहरू बारम्बार जनतालाई धोका दिन सक्दछन् । अस्थायी रूपमा जनतालाई भ्रममा पार्न सक्दछन् । तर जनतालाई सधैँका लागि भ्रममा पार्नु वा धोका दिनु सम्भव हुन्न । त्यो कुरा अहिलेको चुनावले पनि बताएको छ ।

अहिले चुनावमा वामपक्षीय गठबन्धनको ठूलो जित भएको छ । त्यो जित वास्तवमा व्यक्तिगत रूपमा ओली र प्रचण्डको वा दलगत रूपमा एमाले वा माओवादी केन्द्रको मात्र जित होइन, यद्यपि त्यसमा उनीहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । त्यो जित उनीहरूले अपनाएको नीति वा उनीहरूले लिएको अडानको परिणाम हो । एमालेले सामान्यतः गत केही समयदेखि भारतीय विस्तारवादको दवावका विरुद्ध, राष्ट्रियताको पक्षमा र विशेषतः दोस्रो संविधान संशोधन विधेयकका विरुद्ध अडान लिंदै आएको छ । माओवादी केन्द्रले ने.का.सित गठबन्धन गरेर तथा दोस्रो संविधान संशोधनको पक्षमा उभिएर ठूलो गल्ति गरेको थियो । तरपछि त्यसले ने.का.सितको गठबन्धन तोडेर एमालेसित गठबन्धन गर्ने निर्णय गर्‍यो । त्यो निश्चित रूपले अत्यन्त शाहसिलो र सकारात्मक कदम थियो । त्यसरी एमाले र माओवादी केन्द्रका बीचमा जुन गठबन्धन बन्यो, त्यसले पनि चुनावमा वामपक्षीय गठबन्धनको विजयमा ठूलो मद्दत पुग्यो ।

ती दुवै पक्ष आपसमा विभाजित भएर चुनाव लडेको भए, अहिले वामपक्षीय गठबन्धनलाई जति सफलता मिलेको छ, त्यति मिल्ने थिएन । अर्कातिर, चुनावमा माओवादी केन्द्रको अवस्था पनि धेरै नै नराम्रो हुन्थ्यो । निश्चित रूपले ने.का.कोभन्दा धेरै नराम्रो । प्रचण्डले आफ्नो सङ्गठनलाई त्यस प्रकारको अवस्थामा पुग्नबाट बचाए । शायद त्यो उसले बारम्बार प्रदर्शन गर्ने गरेको ‘क्रमभङ्गता’को परिणाम थियो । त्यसरी आज चुनावमा उनीहरूलाई प्राप्त सफलताको कारण, एकातिर, ओलीले लिदै आएको अडान र, अर्कातिर, ने.का.सितको गठबन्धनबाट अलग हुने प्रचण्डको शाहसिलो निर्णयको परिणाम हो । निश्चय नै निर्णयात्मक कुरा, जनतामा गणतन्त्र र राष्ट्रियताको पक्षमा भएको उच्च प्रकारको चेतना नै हो । यदि जनतामा त्यस प्रकारको चेतना नभएको भए एमाले र माओवादीहरूले गठबन्धनका लागि जति प्रयत्न गरेको भए पनि ने.का. पक्षको गठबन्धनको नै विजय हुन्थ्यो । जनतामा त्यस प्रकारको चेतना, जस्तो किमाथि भनियो नेपालमा लामो समयदेखि प्रतिगमनका विरुद्ध तथा राष्ट्रियताका पक्षमा चल्दै आएको सङ्घर्षको परिणाम हो ।

एमाले र माओवादीद्वारा वामपक्षीय गठबन्धनको निर्माण र चुनावपछि एकीकृत कम्युनिष्ट पार्टीको निर्णयले देशव्यापी उभार ल्याइदियो । त्यसले देशमा व्यापक रूपमा वामपक्षीय जनमत भएको कुरालाई बताउँछ । संसार भरमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र वामपक्षीय जनमत अत्यन्त कमजोर भएको अवस्थामा नेपालमा विद्यमान व्यापक वामपक्षीय जनमत अत्यन्त महत्वपूर्ण कुरा हो । तर नेपालमा त्यस प्रकारको वामपक्षीय जनमतसित बारम्बार खेलवाड हुँदै आएको छ । अहिले पनि यो प्रश्न नउठाइ रहन सकिन्न – वामपक्षीय गठबन्धनले जुन विजय प्राप्त गरेको छ, उनीहरू देशमा विद्यमान वामपक्षीय जनमतसित के पूरै इमान्दार रहने छन् ?

नेपालमा एकीकृत र शक्तिशाली कम्युनिष्ट पार्टीको ठूलो आवश्यकता छ । एमाले र माओवादी केन्द्रले पनि चुनावपछि त्यस प्रकारको पार्टीको निर्माण गर्ने प्रस्ताव अगाडि ल्याएका छन् । त्यस प्रकारको कम्युनिष्ट पार्टीको निर्माण सही क्रान्तिकारी–माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र सङ्गठनात्मक पद्धतिका आधारमा नै हुन सक्दछ । ओली र प्रचण्ड तथा हाम्रा बीचमा भेट हुँदा हामीले त्यस प्रकारको कम्युनिष्ट पार्टीको निर्माणसित जोडिएका सिद्धान्तका प्रश्नहरूमा बहस चलाउने र त्यो बहसलाई विस्तृत तथा गहन रूपमा चलाउने समझदारी भएको छ ।

त्यो बहसमा नेपालमा किन कम्युनिष्ट पार्टीमा फुट हुने गर्‍यो ? त्यसका पछाडि कुन कारण छन् ? पार्टी एकताका बाधाहरू के हुन् ? ती बाधाहरूको समाधान वा निराकरण कसरी हुन सक्दछ ? उक्त प्रश्नहरूमा चल्ने बहसले देशमा एकीकृत र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका दिशामा स्पष्ट सैद्धान्तिक आधार तयार पार्‍यो भने त्यो स्वागतयोग्य कुरा हुनेछ । तत्काल त्यस प्रकारको एकीकृत कम्युनिष्ट पार्टीको निर्माण हुन नसकेपनि, कम से कम, तत्काल संविधानको कार्यान्वयन, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, राष्ट्रिय विकास तथा जनताका प्रगतिशील र न्यायपूर्ण मागहरूको पक्षमा काम गर्न वामपक्षीय प्रकारको कोअर्डिनेशन वा प्लेटफर्म बन्न सक्यो भने पनि त्यसले नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिन सक्नेछ । एकातिर एकीकृत कम्युनिष्ट पार्टीको निर्मँणका लागि चल्ने सैद्धान्तिक बहस र अर्कातिर तात्कालिक न्यूनतम कार्यक्रमका लागि बन्ने वामपक्षीय कोअर्डिनेशनले पनि भविष्यमा एकीकृत कम्युनिष्ट पार्टीको निर्माणका लागि आधार तयार पार्दै जानेछ ।

देशमा वामपक्षीय सरकार बनेपछि नेपाली काङ्ग्रेसले अपनाएको नीतिभन्दा बेग्लै नीतिहरूको अनुकरण पहिलो आवश्यकता हो । त्यसको अर्थ हो, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका प्रश्नहरूमा स्पष्ट र दृढ नीति । त्यसका लागि एकातिर, देशभित्रका पुनरुत्थानवादी शक्तिहरू र, अर्कातिर, पृथकतावादी र भारतीय विस्तारवादका विरुद्ध सम्झौताहीन प्रकारको नीति । तर त्यो कार्य सजिलो हुने छैन । राजावादी, पृथकतावादी र भारतीय शासक वर्गले वामपक्षीय गठबन्धनलाई वा त्यसले बनाउने सरकारलाई लगातार आफ्ना नीतिहरूका पक्षमा लैजान दवाव दिने वा –पहिले जस्तै– उनीहरूका बीचमाफुट पार्ने प्रयत्न गरिरहने छन् । वामपक्षीय गठबन्धनले त्यस प्रकारको स्थितिको कहाँसम्म दृढतापूर्वक सामना गर्न सक्ने छ वा आफ्नो एकतालाई कायम राख्न सक्ने छ ती महत्वपूर्ण प्रश्नहरू हुन् । यदि वाह्य दवाव वा आन्तरिक कलहका कारणले वामपक्षीय गठबन्धन वा त्यसले बनाउने सरकारमा कुनै प्रकारको विचलन आयो भने त्यो जनताले उनीहरूमाथि विश्वास गरेर दिएको समर्थनसित विश्वासघात हुनेछ ।

देशमा राजावादीहरूको नराम्ररी पराजय भएको छ । तर २ नं. प्रदेशमा पृथकतावादीहरूको उल्लेख्य विजय भएको छ । स्पष्ट छ, उनीहरूले भारतीय विस्तारवादको निर्देशनमा पृथकतावादी नीतिहरूमा जोड दिइरहने छन् । उनीहरूले २ नं. प्रदेशमा भएको विजयलाई पनि त्यही पृथकतावादी उद्देश्य पूरा गर्न प्रयोग गर्ने प्रयत्न गर्नेछन् । राजावादीहरूको पराजय भएको भए पनि उनीहरूले आफ्नो प्रतिगामी नीतिहरूमा जोड दिइरहने छन् । भारतीय विस्तारवाद वा भारतका कट्टर हिन्दूवादीले एक वा अर्को प्रकारले उनीहरूलाई मद्दत पुराइरहने छन् । त्यो अवस्थामा प्रतिगमन र राष्ट्रघात हुने खतरालाई कम मूल्याङ्कन गर्नु सही हुने छैन । त्यो स्थितिमा वामपक्षीय शक्तिहरूले उक्त प्रश्नहरूमा सही, सशक्त र दृढ नीति अपनाउन सक्नेछन् वा छैनन् ? उनीहरूका बीचको ऐक्यवद्धता कहाँसम्म कायम रहनेछ ? यी निर्णयात्मक महत्वका प्रश्नहरू हुन् ।

आफ्नो कार्यशैलीको कारणले पनि ने.का.को नेतृत्व देशमा राजनीतिक रूपले धेरै नै बदनाम भएको थियो । त्यो पनि ने.का.को पराजयको एउटा मुख्य कारण हो । राजासित साँठगाँठ गरेर बारम्बार प्रतिगमनको सेवा गरेको कारणले ने.का.का नेताहरू मध्ये शेरबहादुर नै नेपालको राजनीतिमा सबैभन्दा बढी बदनाम छन् । यो एउटा विडम्बना कै कुरा हो कि त्यस प्रकारको व्यक्ति ने.का.को सभापति बन्न पुगेका छन् । त्यसको परिणाम स्वरूप देउवाको नेतृत्वको ने.का.ले वी.पी., गणेशमान र गिरिजाको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलनमा जुन महत्वपूर्ण भूमिका खेलेको थियो, त्योभन्दा बेग्लै बाटो समातेको छ । बि.पी.को नेतृत्वमा ने.का.ले राणा शासनको अन्त गर्‍यो । वामपक्षीय शक्तिहरूसित मिलेर गणेशमानले निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्तका लागि ऐतिहासिक भूमिका खेले । गिरिजाले वामपक्षीयहरूसित मिलेर प्रतिगमनका विरुद्ध महत्वपूर्ण भूमिका खेले । राजतन्त्रलाई अन्त गरेर गणतन्त्रको स्थापना गर्ने तथा धर्म निरपेक्षतालाई अपनाउने कार्यमा पनि उनको महत्वपूर्ण भूमिका रह्यो । तर अहिलेको ने.का. वी.पी., गणेशमान र गिरिजाको त्यस प्रकारको इतिहासबाट पछाडि हटेको छ । यदि अहिलेको चुनावमा ने.का. पक्षीय गठबन्धनको विजय भएको भए त्यो खतरा अरू गम्भीर रूपमा अगाडि आउने थियो ।

ने.का.को इतिहासको चर्चा गर्ने बेलामा अन्य दुईवटा प्रसङ्गहरूको उल्लेख गर्नु अप्रसाङ्गिक हुनेछैन । गिरिजाले ने.का.को प्रजातान्त्रिक आन्दोलनलाई गणतन्त्रको चरणमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकाले अहिले ने.का.भित्र उनको भूमिकालाई अवमूल्यन गर्ने प्रयत्न भइरहेको छ । खास गरेर उनले राजतन्त्रको अन्त गरेर गणतन्त्र स्थापना गर्ने र धर्म निरपेक्षतालाई स्वीकार गर्ने कार्यमा सहयोग पुर्‍याएकाले ने.का.का राजावादीहरू र कट्टर हिन्दूवादीहरूले उनको विरोध गरिरहेका छन् । आफ्नो प्रतिगामी उद्देश्य पूरा गर्न उनीहरूले वी.पी.लाई उपयोग गर्ने (वा दुरूपयोग गर्ने ?) प्रयत्न गरिरहेका छन् ।

इतिहासको एउटा कालखण्डमा बि.पी.ले अपनाएको राजासितको मेलमिलापको नीतिलाई आधार बनाएर उनीहरूले राजतन्त्रको पुनस्र्थापना गर्ने कुरा उठाइरहेका छन् । वी.पी.को त्यो नीति गलत थियो । तर उनले भारतीय शासक वर्गबाट आफ्नो प्रजातान्त्रिक आन्दोलनमा सहायता नपाउने देखेपछि राजासित मेलमिलापको कुरा गरेर देशभित्र फर्केका थिए, यद्यपि उनलाई तुरुन्त गिरफ्तार गरेर जेलमा हालिएको थियो । तर त्यो बेलादेखि नेपालको इतिहास धेरै अगाडि बढिसकेको छ । वी.पी.ले परिस्थितिजन्य वाध्यताका कारणले अपनाएको नीतिमाथि टेकेर अहिले राजतन्त्रको पुनस्र्थापना गर्ने कुरा गर्नु इतिहासको प्रवाहलाई पछाडि धकेल्ने प्रयत्न गर्नु हो । अर्काशब्दमा वी.पी.लाई प्रतिगामी उद्देश्य पूरा गर्नका लागि उपयोग गर्नु हो ।

देउवाले प्रधानमन्त्री छदाँ राजासित मिलेर लोकतन्त्रमाथि प्रहार गरेका थिए । उनको त्यस प्रकारको व्यवहार देशमा अगाडि बढेको जनताको चेतनाभन्दा धेरै पछाडि छ । त्यसैले जनताका लागि उनलाई, उनको नेतृत्वलाई वा उनको नेतृत्वमा बनेको गठबन्धनलाई स्वीकार गर्नु सम्भव थिएन । त्यसैले चुनावमा उनीहरूको भारी पराजय भयो । सायद कुरा यहीसम्म सीमित रहने छैन । उनको नेतृत्वमा ने.का.ले झन् पनि झन् अधोगतिको बाटो समात्दै जाने कुरा निश्चित छ । तैपनि ने.का.को प्रजातान्त्रिक आन्दोलनको इतिहासमा देशलाई बारम्बार प्रतिगमनको दिशामा मोड्न प्रयत्न गर्ने व्यक्तिको नेतृत्वबाट ने.का. मुक्त हुन सक्यो भने वा वी.पी., गणेशमान र गिरिजाको काङ्ग्रेसको पुनस्र्थापना हुन सक्यो भने शायद त्यसले केही गति लिने सम्भावना रहने छ ।
माथि मैले जानिबुझीकन नै शुसिल कोइरालाको चर्चा गरेको छैन । संविधानको निर्माणको क्रममा उनको महत्वपूर्ण भूमिका रह्यो । भारतीय दवावका अगाडि नझुकेर संविधानको निर्माण वा त्यसलाई जारी गर्ने कार्यमा उनले देखाएको अडानले उनको प्रतिष्ठालाई धेरैमाथि उठाइदिएको थियो । तर उनको उँचाईमा निरन्तरता रहन सकेन । प्रधानमन्त्री पदको लोभमा उनी भारतका अगाडि झुके । त्यसैले बि.पी., गणेशमान र गिरिजाको स्थानमा पुग्दा पुग्दै उनी त्यसबाट तल खसे । बारम्बार राजतन्त्रको तरफदारी गरेकोले यहाँ मैले कृष्णप्रसाद भट्टराईको पनि उल्लेख गरेको छैन ।

देउवाको गैर–राजनीतिक र नोकरशाही कार्यशैलीका कारणले पनि नेपालको राजनीतिमा उनी धेरै बदनाम भए र त्यो पनि ने.का.को पराजयको एउटा मुख्य कारण बन्यो । आईजिपी प्रकरण र प्रधानन्यायधिशका विरुद्ध महाभियोगका सन्दर्भमा उनको त्यस प्रकारको कार्यशैली खुला प्रकारले अगाडि आयो । ती केही प्रतिनिधि उदाहरणहरू मात्र हुन् । ती केही उदाहरणहरूले मात्र पनि उनको कार्यशैलीको प्रकृतिलाई बताउँछ । उनको त्यस प्रकारको गैर–राजनीतिक कार्यशैलीमाथि ध्यान दिंदा उनको नेतृत्वको गठबन्धन चुनावमा विजयी भएको भए देशमा लोकतन्त्र समाप्त भएर अधिनायकवाद कायम हुने, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा गम्भीर आँच पुग्ने खतरा थियो । त्यस प्रकारको सम्भावनाबाट कम से कम तत्कालका लागि देश बच्यो ।

जुन नीतिगत गल्तिहरूका कारणले ने.का.को हार भयो, तिनीहरूलाई न दोहोराउन वामपक्षीय गठबन्धनले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसको साथै यो कुरा प्रति पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ कि देउवाले जुन प्रकारको कार्यशैली अपनाए, त्यसले पूरै ने.का.को स्थितिलाई धेरै नै कमजोर बनाइदियो । त्यो अवस्थामा वामपक्षीय गठबन्धनले त्यस प्रकारको कार्यशैली नअपनाओस् । त्यस प्रति पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

जनताले वामपक्षीय गठबन्धनलाई बहुमत दिएर जिताएका छन् । जनताको त्यस प्रकारको समर्थनका पछाडि उनीहरूको यो भावनाले काम गरेको छ कि उनीहरूले (वामपक्षीय गठबन्धनले) कम से कम प्रारम्भिक र नीतिगत रूपमा भएपनि समाजवाद उन्मुख वा वामपक्षीय प्रकारका परिवर्तनहरूलाई अगाडि बढाओस् । त्यसको विपरित वामपक्षीय गठबन्धनले पुरानै प्रकारका नीतिहरूलाई नै निरन्तरता दिने काम गर्दछ भने जनताले चुनावमा जुन भारी बहुमतले वामपक्षीय गठबन्धनका उम्मेदवारहरूलाई जिताएका छन्, त्यो आकांक्षा अधुरो रहने छ । अब यो कुरा वामपक्षीय गठबन्धनको नीति र भूमिकामाथि निर्भर रहने छ – जनताको त्यस प्रकारको आकांक्षालाई उनीहरूले कहाँसम्म पूरा गर्नेछन् ? त्यसकारण जनताले वामपक्षीय गठबन्धनलाई जुन भारी बहुमत दिएका छन् त्योभन्दा कैयौँ गुणा बढी महत्वपूर्ण कुरा यो हो ः त्यस प्रकारको समर्थनका पछाडिको जनताको आकांक्षालाई कहाँसम्म पूरा गरिने छ ?

देशको आजको ऐतिहासिक आवश्यकता देशमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थालाई अन्त गरेर नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नु हो । त्यसपछि नै जनताका आधारभूत समस्याहरूको समाधान सम्भव हुनेछ । त्यसका लागि लामो क्रान्तिकारी आन्दोलनको आवश्यकता हुनेछ । तै पनि तत्कालिक रूपमा विद्यमान व्यवस्थाभित्र पनि वामपक्षीय वा लोकतान्त्रिक प्रकारका अधिकतम मागहरू पूरा गर्न वर्तमान बहुदलीय व्यवस्थालाई उपयोग गर्ने हाम्रो नीति हुन्छ र हुनेछ । त्यसरी एकातिर रणनीतिक र अर्कातिर कार्यनीतिका बीचमा सामन्जस्यता कायम गर्दै हामीले जनवादी क्रान्तिका लागि आधार तयार पार्ने प्रयत्न गर्नुपर्दछ ।

आफ्ना अगाडिका तात्कालिक राजनीतिक जिम्मेवारी पूरा गर्ने सिलसिलामा हामीले आवश्यकतानुसार दुश्मनशक्तिहरूसित पनि कार्यगत एकता गर्ने गर्दछौँ । ने.का. हाम्रो दुश्मन शक्ति हो, तर एमाले, माओवादी मित्र शक्ति हुन् । ती दुवै पक्षहरूसित हाम्रो एकता वा सङ्घर्षको नीति कस्तो हुन्छ ? त्यसबारे प्रकाश हाल्दै माओले सूत्रको रूपमा त्यो कुरालाई यसरी बताएका छन् : दुश्मन प्रति सङ्घर्ष–एकता–सङ्घर्षको नीति अपनाउनु पर्दछ भने, मित्र शक्तिहरूप्रति एकता–सङ्घर्ष–एकताको नीति अपनाउनु पर्दछ ।

त्यसको अर्थ यो हुन्छ दुश्मन शक्तिहरूसित आवश्यकतानुसार एकता गरे पनि त्यसको प्रधान पक्ष सङ्घर्ष नै हुन्छ । मित्र शक्तिहरूसित आवश्यकतानुसार सङ्घर्षको नीति अपनाए पनि त्यसको प्रधान पक्ष एकता नै हुन्छ । दुश्मन र मित्र शक्तिप्रतिको नीतिमा भएको यस प्रकारको अन्तमा हामीले सधैँ ध्यान दिनु पर्दछ । अर्को शब्दमा नेपालको सन्दर्भमा ने.का. हाम्रो दुश्मन शक्ति हो र त्यससितको सङ्घर्ष नै प्रधान पक्ष हो, जब कि एमाले वा माओवादीका सन्दर्भमा एकता नै प्रधान पक्ष हो ।

तर कुनै पक्षप्रति एकता वा सङ्घर्षको नीति अपनाउने बेलामा हामीले कसैप्रति कुनै प्रकारको पूर्वाग्रह होइन, देशको कुनै खास बेलाको राजनीतिक स्थिति वा आवश्यकतानुसार नै आफ्नो नीति निश्चित गर्नुपर्दछ र हामीले गतकालमा विभिन्न राजनीतिक शक्तिहरूप्रति त्यही प्रकारको नीति अनुशरण गर्दै आएका छौँ । अहिलेको चुनावको सन्दर्भमा पनि देशको ठोस राजनीतिक स्थिति वा आवश्यकता अनुसार नै हामीले ने.का. वा एमाले र माओवादी केन्द्र प्रतिको आफ्नो विरोध वा एकताको नीतिलाई निश्चित गरेका छौँ ।

नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने छः प्रम

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
– मोहनविक्रम सिंह

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!