जरा जापानमा, हाँगाबिंगा सर्वत्र

15 October, 2017 13:44 | जापान , बिचार | comments | 14700 Views

काजुवो इसिगुरो

जमलस्थित एजुकेसनल बुक हाउसको एउटा कुनामा काजुवो इसिगुरोको उपन्यास ‘नेभर लेट मि गो’ लडिबसेको देखेकै हो धेरैदिन । तर, किन्ने र पढ्ने जाँगर कहिल्यै चलेन ।

तिनै लेखकले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाएछन् । पुरस्कारपछि उनका किताबको माग बढ्ने नै भयो । बजारमा यी किताब भेटिने कुरै भएन । अंगदानको विषयमा लेखिएको यो साइन्स फिक्सन अत्यन्त मौलिक मानिन्छ ।

उत्तिकै निराशाजनक (डिस्टोपियन) पनि । खासमा डिस्टोपिया इसिगुरोको मनपर्ने विधा हो । यही उपन्यासको कथामा बनेको सिनेमा आँखीझ्याल हुन सक्छ उनको सिर्जनात्मक संसार चियाउन । लेखनयात्राको तीन दशकमा उनका मात्र आठ किताब प्रकाशित छन् । तर, विषयगत विविधता र व्यापकताका कारण उनलाई रुचाएरै पढ्ने लोभलाग्दो जमात छ विश्वभर । नदोहोरिइनु उनको लेखनको सर्वाधिक सबल पक्ष मान्छन्, समीक्षकहरू ।

नागासाकी – दोस्रो विश्व युद्धमा अमेरिकी नेतृत्वको आक्रमणबाट ध्वस्त भएको सहर । यही सहरमा जन्मे उनी । तर, सानै छँदा बेलायत पुगे । अंग्रेजीमा लेख्न, पढ्न थाले । तर, जापानसँगको उनको कनेक्सन रहिरह्यो । बाबुआमा जापानी भाषामै कुराकानी गर्थे घरमा । कालान्तरमा हिरोसिमासँगै नागासाकी सहर आवाद बन्दै गयो, पुनर्निर्माणमा जापानीहरूको अद्वितीय संलग्नताबाट । त्यही नागासाकी सहरमा सालनाल छोडी हिँडेका इसिगुरोको गर्विलो उपस्थिति हुँदै गयो लेखन दुनियाँको अर्को गोलाद्र्धमा ।

एसियाली भूमि छोडेर सानैदेखि अमेरिका बस्ने मेडलिन थिएन, सेलेस्ट इंघजस्ता उदीयमान लेखक छन् । उनीहरूका कथा, उपन्यासमा सधैं ‘कल्चरल सक’ र ‘नोस्टाल्जिया’का सन्दर्भहरू छाइरहन्छन् । सलमान रुस्दीको भाषामा-काल्पनिक देश अर्थात् इम्याजिनरी होमल्यान्ड निर्माण गर्ने चेष्टा । तर, इसिगुरो दुई फरक संस्कृति र सभ्यताबीच बाँचे पनि सांस्कृतिक द्वन्द्वमा रुमल्ली बस्दैनन् । विगत विचरणमै सीमित रहने डायस्पोरिक लेखनबाट पर छन् उनी । त्यसैले त उनी दावा गर्छन्- ‘मेरो लेखन सरल छ तर पनि कालजयी ठान्छु ।’

लेखनमा विषयजत्तिकै महत्वपूर्ण ठान्छन् उनी स्थान अर्थात् लोकेसनलाई । स्थानवर्णनमा अधिक शब्द खर्च गर्छन् । तर यसरी कथा खिप्छन् मानौं वर्णित त्यो परिवेश हाम्रो आफ्नै हो । किताबको कभरबाट उनको नाम हटाइदिने हो भने सहजै अनुमान गर्न गाह्रो पर्छ- जापानी मूलका लेखकको सिर्जना हो यो भनेर ।

उत्तिकै प्रभावशाली अर्को उपन्यास छ उनको- ‘रिमेन्स अव दि डे’ । यही उपन्यासबाट उनले म्यान बुकरको स्वाद पनि चाखिसकेका छन् । लगत्तै सिनेमा भर्सनमा समेत रूपान्तरण गरियो यसलाई । म्यान बुकरलगायत अन्य धेरै पुरस्कार लेखकका नवीनतम् सिर्जनाका लागि दिइने गरिन्छ । तर, नोबेल भने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ जस्तो देखिन्छ, लेखकको सांगोपांगो मूल्यांकन ।

कहिलेकाहीँ त मर्नुअघि गरिएको सम्मान जस्तो पनि । डोरिश लेसिंघ, ह्यारोल्ड पिन्टरलाई हेर्दा त्यस्तै लाग्छ जो पुरस्कृत भएपछि धेरै बाँचेनन् । सलमान रुस्दी, मार्टिन एमिस, एनगुगी वा थियोंघो, इस्माइल कादिरे, फिलिप रोथ आदि नोबेल दौडमा बर्सेनि समावेश गरिने नाम हुन् । सट्टेबजारमा यी नाममाथि निकै रकम लगानी हुन्छ हरेक साल । तर, कसैको ध्यानै नगएको नामले बिना चर्चाबाजी मार्‍यो यसपटक पनि । प्याट्रिक मोदियानो र स्भेत्लाना अलेक्सिभिच आदि लेखकहरू नोबेल विजेता बन्नुअघि आ-आफ्ना देशमा मात्रै सुनिन्थे, पढिन्थे । तर विश्वभर पढिन्थे इसिगुरो यसअघि नै, भलै संख्यात्मक रूपमा सीमित थिए होलान् उनका पाठक ।

गत वर्ष गीत संगीत क्षेत्रका वव डिलनलाई पुरस्कृत गर्दा नोवेल कमिटीले धेरै पेचिला प्रश्नको सामना गर्नुपर्‍र्यो । सांगीतिक क्षेत्रलाई समावेश गरिएकोमा नै प्रमुख आपत्ति थियो धेरैको । पुरस्कृत भएपछिको डिलनको लामो मौनताले त झनै अप्ठ्यारोमा पर्‍यो कमिटी । तिनै डिलनका ‘डाइहार्ड फ्फ्यान’ रहेछन् यस पटकका विजेता इसिगुरो । यसै प्रसँगमा उनी थप्छन् : ‘म त १३ वर्षको उमेरदेखि डिलनको फ्यान बनेको । मेरो हिरोले नोबेल पाएपछि म पुरस्कृत हुनुलाई मैले ठूलो गौरवको विषय ठानेको छु ।’ गीत समेत लेखेका छन् उनले । डिलनप्रतिको उनको लगाव रहनुमा गीति सामीप्यता पनि हुन सक्छ । चर्चित केही गीति एल्बममा उनका गीतहरू पनि समावेश छन् । विधागत विविधता उनको सिर्जनामा भरपुर देखिन्छ । उनको प्रारम्भिक निबन्ध ‘रन मेलोडी, रन’ को शीर्षक नै काफी छ उनको लेखनमा रहेको गीति प्रभाव झल्काउन ।

इसिगुरो दुई फरक संस्कृति र सभ्यताबीच बाँचे पनि सांस्कृतिक द्वन्द्वमा रुमल्ली बस्दैनन् । विगत विचरणमै सीमित रहने डायस्पोरिक लेखनबाट पर छन् उनी ।

इतिहासप्रतिको उनको लगाव कसिलो छ । विगतका घटनाको बहुआयामिक उत्खनन् गर्छन् उनी । ‘अ पेल भिउज् फ्रम दि हिल्स’लगायतका सुरुका उपन्यासमा विश्वयुद्धअघिको जापानी परिवेश भेटिन्छ । हालसालै पत्रकारहरूमाझ उनले भनेका थिए- ‘कुनै पनि समुदाय या देशले अतीतलाई सम्झने पनि आ-आफ्नै तरिका हुँदोरहेछ । विगतका असहज घटनाहरू उल्लेख गर्नै चाहँदैनन् उनीहरू, ढाकछोप गर्नमै उद्दत रहन्छन् सधैं ।’ ठीकै भनेका छन् उनले । टर्कीले आर्मेनियाली नरसंहारको प्रसँग उप्काउनै चाहन्न ।

जर्मनीमै पनि नाजी ज्यादती एउटा जघन्य अपराध थियो भनी सार्वजनिकरूपमा स्वीकार गरिएको छैन आजसम्म । दिवंगत जर्मन उपन्यासकार गुन्टर ग्रासले यही विषयलाई चर्चामा ल्याउँदा जर्मनहरूमाझ अलोकप्रिय बने । अमेरिका ‘नाइन इलेभेन’को प्रसँग बारम्बार दोहोर्‍याउँछ । तर, चिलीमाथि पाँच दशकपहिले सेप्टेम्बर ११ मै उसैले चलाएको नरसंहारबारे चुइक्क कतै बोल्दैन । त्यसैले त इतिहासको वैकल्पिक बुझाइका लागि अरुन्धति रोयको ‘कम सेप्टेम्बर’ पढ्नैपर्छ ।

पंकज मिश्र, तारेक अली, नोम चोम्स्कीका नवीनतम विचार सुन्नैपर्छ । मोदी मुख्यमन्त्री रहँदा गुजरातमा गरिएको मुसलमानहरूको कत्लेआमको अध्याय उल्लेख गर्न चाहँदैन बिजेपी । पछिल्लो समय त मुगलकालका निसानी र अन्य पदचापहरू समेत मेट्न खोज्दैछन् लगातार । सवा नाक्मीहरूलाई नपढेसम्म इतिहासको यो कालो अध्याय बुझ्न सकिन्न । यस अर्थमा इसिगुरोको विगतलाई शंकाको दृष्टिले हेर्ने आग्रह सापेक्षितरूपमा सन्तुलित लाग्छ ।

गत वर्ष भएको जनमत संग्रहले युरोपियन युनियनबाट बेलायतको बहिर्गमनका लागि जनमत प्रदान गर्‍यो । बेलायती बहिर्गमन अर्थात् ब्रेक्जिट निरन्तर बहसको केन्द्रमा छ त्यसयता । पक्ष विपक्षमा विचारहरू आइरहेका छन् लेखक, कलाकारहरूका पनि । तर, बहुसांस्कृतिकवादको पैरवी गर्ने बेलायतको एकलकाँटे समाज (होमोजिनियस सोसाइटी) तर्फ उन्मुख यो निर्णयबाट धेरै स्रष्टाहरू स्तब्ध बने । बेलायतमै बस्ने टर्कीकी लेखक एलिफ सफकजस्तै धेरैलाई यो आप्रवासी विरोधी कदम लाग्छ । सम्पूर्ण जीवन बेलायतमा बिताएका इसिगुरोलाई पनि यो विषयले रन्थनायो ।

उनलाई लाग्छ, ‘सौम्य मानिने बेलायती समाज नराम्ररी विभाजित छ अहिले । बे्रक्जिटबारे दोस्रोे जनमतसंग्रहको पक्षमा छु म त ।’ कस्तो जनमतसंग्रह, उनको आसय त त बुझिएन । तर पनि वर्तमान बेलायती नेतृत्वमाथिको अविश्वास र अस्थिरताको आशंका मुखरित छ उनको भनाइमा । यसरी आफ्ना उपन्यासबाहेक समसामयिक घटनाक्रमबारे पनि उनी सार्वजनिक मञ्चमा बोल्छन् । उत्तर-सत्य (पोस्ट ट्रुथ) को यो समयमा उनी कथावाचन र कल्पनाशीलताको महत्ता दर्शाउँदै विचार राख्न विश्वविद्यालयमा निम्त्याइन्छन् ।

वासोको हाइकुदेखि मुराकामीका जादुमयी उपन्यास जापानमा मात्र होइन, विश्वभर लोकप्रिय छन् । बाक्लो जमातले पढ्छ जापानी साहित्य विश्वभर । यासुनारी कावाबाता र केन्जावुरो वेले जापानलाई यसअघि नै साहित्यमा नोबेल दिलाइसकेका छन् । अर्कोतर्फ बेलायती मनोविज्ञान बुझ्दै, झेल्दै र आत्मसात् गर्दै लेख्ने इसिगुरोको विजयको टेको नचाहिएला पनि जापानी साहित्यको फैलावटमा । तर पनि उनको जरा जापानमै गाडिएको पृष्ठभूमिबाट हेर्दा नोबेल विजयले जापानीहरूका लागि विशेष महत्व राख्छ नै । नेपाली किताबहरू अंग्रेजीमा लेखेर या अनुवाद गरेर बाहिरी जगत्का पाठकको मनग्गे ध्यान तान्न्न नसकिरहेका हाम्रो लागि उनको विजय एउटा चुनौती हो- आत्मरतिमा रमाउन छाडेर स्थानीय रङ घोल्दै लेखनको नयाँ क्यानभासमार्फत विश्वस्तरमा प्रभाव छाड्ने दिशामा ।

गणेश खनिया,अन्नपूर्ण पोस्ट

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More