जापानका नेपालीको सु:ख दु:खको साथी बन्ने प्रयास गर्नेछु : राजन पौडेल

9 August, 2017 23:49 | अन्तरवार्ता , जापान | comments | 24450 Views

स्याङ्जाको टक्सार-५ मा जन्मेर, हुर्केर बढेर र पढेर  कास्की पोखरा हुदै हाल जापानमा रहेका राजन पौडेल जापानको नेपाली समुदायमा परिचित  ब्यक्ति  हुन | समाजशास्त्र र ग्रामिण बिकासमा एमए सकेका उनले  हाल पीएचडी गरिरहेका छन | काठमाडौंमा रहेर नेपाल सरकारको अधिकृत पदमा बसेर सेवा गरेको अनुभब समेत उनको छ | साथै जापानको एक गैर-सरकारी संस्थामा कार्यरत उनै राजन पौडेल संग गैर-आवाशीय नेपाली संघ जापानको आसन्न अधिबेसनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिएका बखत नेपाल जापान डट कमका कृष्ण अधिकारीले गरेको कुराकानी :

जापानमा स्थाई रुपमा बसाई कति भयो हजुरको ?
जापानसँग मेरो नाता जोडिएको (जाने-आउने गर्न लागेको) १८ वर्ष पुग्यो तर लगातार रूपमा बस्दै आएको १२ वर्ष भयो ।

आफैले आफैलाई परिचय दिनु पर्दा कसरी चिनाउनु हुन्छ ?
आफ्नो परिचय आफैले दिनु भन्दा अर्काले दिएको राम्रो हुन्छ तैपनि सोधीहाल्नु भयो छोटकरीमा भन्नु पर्दा म कर्मचारी, राजनितिज्ञ, कलाकार, पत्रकार सबै हूँ। नेपालमा श्री ५ को सरकार को अधिकृत स्तरमा काम गर्दागर्दै उच्च शिक्षाको लागि जापान आएको हुँ । नेपालमा हुँदा म मेरो जागीरका साथसाथै रेडियो प्रस्तोता पनि थिएँ ,टेलिभिजनमा पनि काम गर्थे अनि सानोतिनो नाटक र फिल्महरूमा एक्टिङ्ग पनि गर्थे । समाजसेवा तथा राजनितीमा पनि सक्रिय नै थिएँ । जापानमा आएर सबैभन्दा पहिला मैले पुन मास्टर्स डिग्री गरें अनि पि.एच.डि. इनरोल गरी पढ्दा पढ्दै जाइकामा एउटा ट्रेनर पोजिसन मा बिज्ञापन खुल्यो, त्यसमा एप्लाई गरें । परिक्षामा पास पनि भएँ। शुरूमा म जाइकाको आउट सोर्सिङ्ग कम्पनि बाट त्यहाँ छिरे अनि त्यहाँ मैले आफ्नो खुबी देखाएर सोझै कन्ट्रयाक्ट गर्ने अवसर पनि पाएँ । जापानमा आफूलाई मन पर्ने पद र काम पाएको र आफ्नो देशको राजनिती अवस्था नाजुक हुँदै गएको कारण यही बसौ भन्ने लाग्यो र जापानमै बसें भन्नु पर्यो । यसै क्रममा म अहिले जागीर पनि गर्दै जापानी साथीहरूसँग मिलेर एउटा बिजिनेश तिर पनि हात हालेको छु। हामीले आइ.टी. कम्पनि पनि खोलेका छौ । यो क्षेत्रमा हात हालेको धेरै भएको छैन तर मैले जापानमा आइ.टी.को मार्केट र भविष्य राम्रो देखेको छु। अब आफ्नै कम्पनिलाई धेरै समय दिनुपर्ने भयो भने अहिलेको जागीरबाट राजीनामा दिई आफ्नै बिजिनेशमा लागिपर्ने पनि सोच बनाएको छु ।
जापानमा बिगत १८ बर्ष देखि बसेको छु, भन्नु भयो जापानको नेपाली समाजलाई कस्तो पाउनु भएको छ ?
म शुरूमा जापानमा आएको बेलामा नेपाली समाज एकदम राम्रो थियो । एक-आपसमा एकदमै मेल मिलाप थियो । एउटा नेपालीले अर्को नेपालीलाई भेट्दा भगवानै भेटेजस्तो र आफ्नै परिवारको सदस्य भेटेको जस्तो हुन्थ्यो । एक-आपसमा माया, सदभाब थियो । तर नेपालीहरूको संख्यामा बिस्तार भए सँगै बिस्तारै यी चिजहरू सब लोप हुँदै गए । अहिले एक नेपालीले अर्को नेपाली देख्यो र भेट्यो भने उता फर्की हिडछन् । म जापानमा लामो समय बसेपनि हालसम्म म कुनै पनि संघ-संस्थामा लागिन । तर पनि मैले नेपाली समाजलाई भित्रबाट निकै नै स्टडी गर्ने मौका पाएको छु । किनकी म जापानको सरकारी निकायहरू सँग सम्बन्धित पनि भएकोले नेपाली समाजलाई राम्रो सँग अनुसन्धान गर्ने मौका पाएको छु । मैले नेपाली समाजलाई धेरै नै जान्ने र बुझ्ने मौका पाएँ, त्यसपछि थाहा भयो कि बाहिरबाट देखिने नेपाली समाज र ‘सहि’ नेपाली समाज एकदमै फरक छ । नेपाली समाजमा भएका बिकृतिहरू अनि नराम्रो कुराहरू धेरै पाएको छु । सबै कुरा त अहिले यहाँ प्रस्तुत गर्न सक्दिनँ । तर विस्तारै नेपाली समाजका भएका बिकृति र सुधार गर्नु पर्ने पक्षहरूको बारेमा जनचेतना दिँदै जानेछु।
तपाईं त नेपालमा पनि सरकारी अफिसर भैसक्नु भएको अनि देशको प्रशासनिक पक्ष राम्रो पार्नको लागि उच्च शिक्षाको लागि छात्रवृतिमा जापान आउनु भएको मान्छे किन जापानमै हराउनु भयो ?
यूनिभर्सिटी पढ्ने बेला सम्म पढाई सिध्धाएर नेपालमा भएको पोजिसनमा फर्कने बिचार थियो तर देशमा दिनानुदिन बिग्रदै गएको राजनिती अवस्था र अन्यौलका कारण फर्कन सक्ने वातावरण भएन। अन्तत राजीनामा पेश गरी यही नै काम गरी बस्ने निर्णय गरें । मैले यहाँ बस्ने निर्णय गरेको बेलामा माओवादी आन्दोलन र हिंसाले गर्दा नेपालमा बस्न सक्ने वातावरण नै थिएन । देशमा भएका कर्मचारीहरू सबैजसो ज्यान बचाउनै गर्हो भई याकुल र ब्याकुल भई देश नै छोडि भाग्नु पर्ने अवस्था आएको बेलामा नेपाल फर्कने सल्लाह कसैले पनि दिनु भएन। जागीरका समकक्षी, इष्टमित्र सबैले जापानमै बस्ने सल्लाह दिनु भयो र त्यही गरियो ।

जापानमा बस्ने निर्णय गरेर पनि किन तपाई समाज सेवामा पर्दा पछाडी बस्नु भयो देखिने गरि लागिपर्नु भएन त ?
यहाँ बस्ने निर्णय गरेपछि मेरो काम भनेको देश बिदेशमा घुमिरहनु पर्ने थियो । खासै समाजमा लागेर हिडने समय पनि मिलेन अनि अरू पनि बिबिध कारणहरू थिए। जस्तै समाज सेवा भनी खोलिएका संस्थाहरूमा पनि राजनिती हुन थाल्यो। कुर्सीको लागि खिचातानी हुन थाल्यो र पद को लुछाचुडी हुन थाल्यो यी कुराहरूले गर्दा मलाई खासै ती संघ-संस्थाहरूमा लाग्ने इच्छा जागेन। तर पनि मैले बिना संघ-संस्था सिधै नेपालका स्थानिय सरकारी तथा गैर-सरकारी संस्थाहरूमा बिभिन्न परियोजनाहरू पुर्याएर देश विकासमा टेवा पुर्याएको छु । मैले जापानका सरकारी तथा गैरसरकारी संघ-सस्थाहरू मार्फत नेपालका बिभिन्न जिल्लाहरूमा शिक्षा, स्वास्थ, खानेपानी,कृषि विकाश, बिधालय भवनहरू निर्माण , सडक निर्माण जस्ता बिबिध प्रोजेक्टहरू नेपालमा लगेको छु ।

जापानको नेपाली समाजका प्रमुख समस्याहरु ठ्याक्कै एक,दुइ, तिन भनेर भन्दा के के हुन ? र समाधानको उपायहरु के-के छन ?

यो कुरा सबै गरौं भने त निकै लामो हुन्छ । चुनाबको बेलामा धेरै साथीहरूका बिभिन्न पोष्टहरू पढ्नै भ्याइ नभ्याई भएका साथीहरू लाई पढ्ने फुर्सत पनि नहोला । यो बिषयलाई लिएर मैले तपाईको नेपाल-जापान डट कमको लागि २ महिना पहिला ८,९ पेजको अन्तर्वार्ता दिईसकेको छु । तिनै कुराहरू दोहोरिन्छन । यदि नपढ्नु भएका कोही हुनुहुन्छ र पढन इच्छुक हुनुहुन्छ भने लिङ्क शेयर गरिदिनु होला ।

यो पनि :अपराधमा जापानका नेपाली : भ्रम र बास्तबिकता

यहि समाजको छाता संगठन भनिने गैर-आवाशीय नेपाली संघ जापानको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिनु भएको छ, तपाई लाई भोट किन दिने ?

मैले माथि पनि भने जस्तै गैर-आवाशीय नेपाली संघ जापानको सदस्य नभएर पनि मैले नेपालको विकाशको लागी धेरै कामहरू गरेको छु । तर एक्लैले गरेको केहि नदेखिँदो रहेछ र एउटा संस्थामा लागि जाऔ भन्ने कुरा सोचेर मात्र उम्मेदवारी दिएको हूँ । भोट तपाईहरूले दिने भनेको मलाई होइन । मलाई भोट दिनु भनेको तपाईंको मातृभूमी नेपाललाई दिनु हो । मेरो लागि त चुनाब हारे पनि जितेपनि केहि फरक पर्दैन । कुरा यो हो कि मैले जिते भने यहाँको नेपाली समाजमा केहि योगदान गर्न सकौं । सिधा सम्पर्क हुन्छ र तपाईंहरूले जापानमा भोग्नु भएका दुख कष्टहरू सिधै संघमा आएर म लगाएत हाम्रो टिमलाई राख्न सक्नुहुन्छ । म यो चुनाबमा उठ्नु मूख्य उदेश्य भनेको कुनै नेपाली जापानमा ठगियोस, दुख नपाओस । पिडामा परेका हरेक नेपालीको समस्या समाधानमा लाग्नु म र हाम्रो टिमको मुख्य लक्ष्य हुनेछ ।

जापानबासी नेपालीले तपाइँ लाई भोट पनि दिए, तपाइको ठोस योजना के बनाउनु भएको छ ?
मैले माथि पनि भने कि हाम्रो अबको मूख्य योजना भनेको कुनै पनि नेपाली जापानमा आएर दुख नपाओस। कोहि पनि पिडा सहेर नबसोस। हामी एउटा हटलाईन बनाउनेछौ । जुन नेपालीलाई कसैले दुख दिन्छ , ठग्छ र पिडामा पार्छ, उसले सिधै हाम्रो हटलाईनमा सम्पर्क गर्नेछ र पिडित लाई राहत दिनको लागि हामी पिडा दिने माथि कडा कार्बाहीमा लाग्नेछौ । र अहिले नेपालीहरूको अपराधिक गतिबिधि पनि कम गरेर जापानीको अगाडि झुकेको नेपालीहरूको शिर ठाडो पार्नेछौ । अर्को उदेश्य भनेको जापानी लगानी र प्रबिधि नेपालमा भित्र्याई नेपालीहरूको जीवनस्तर उकास्नु हो ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यो अन्तर्वार्ता पढ्नुहुने सबैलाई म यो भन्छु कि ! मलाई नै भोट दिएर जिताउनुहोस भनेर म भन्दिनँ । नाम र पदको लागि मात्र उम्मेदवारी दिएका उम्मेदवार र काम गर्नको लागि उम्मेदवारी दिएका उम्मेदवारहरू स्पष्टसँग छुट्टयाएर भोट दिनुहोस र जिताउनुहोस । राजनले केही गर्छ भन्ने लाग्छ भने मलाई भोट दिएर जिताउनुहोस साथीभाइलाई पनि शेयर गर्नुहोस लाग्दैन भने मलाई भोट नदिनुहोस। यो सबै तपाईंहरूको हातमा छ । म हार पनि सहर्ष स्वीकार्छु र जीत पनि स्वीकार्छु । मेरो समाजसेवालाई चुनावले केहि फरक पारेको पनि छैन पार्दैन पनि । नेपाली समाजको लागि योग्य देख्नुहुन्छ भने भोट दिएर जिताउनुहोस। धन्यवाद ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More