युवराज गौतम युवराज गौतम

  • युवराज गौतम
  • युवराज गौतम
  • युवराज गौतम
  • युवराज गौतम
  • युवराज गौतम
  • युवराज गौतम

ज्ञानेन्द्र शाहकाे अात्मवृत्तान्त अाए दिल्ली-वासिङ्टनकाे समेत साताे जानेछ

10 March, 2018 20:17 | बिचार | comments | 94950 Views

युवराज गौतम

युवराज गौतम नेपालका ‘अन्तिम राजा’ वा ‘पूर्वराजा’ भनेर सम्बोधन गरिने ज्ञानेन्द्र शाह हाल झापामा छन् । उनको विगत र आगतबारे बेलाबेलामा सञ्चारमाध्यममा अनेक रोचक चर्चा र प्रसंग आउने गरेका छन् ।

adsads

राजदरबारको छत्रछायामा उच्चपदमा बसेर प्रशस्त सम्पत्ति, सुख, विभूषण, पदक, अलंकार एवं मान–सम्मान पाएका कतिपय भाग्यमानी व्यक्तिले आफ्नो महिमा गाउँदै पुस्तक लेख्दा शाहको चर्चा गरेको पाइन्छ । ती पुस्तकमध्ये धेरैजसोमा नेपालमा राजसंस्था ढल्नुको प्रमुख कारकतत्व राजा वीरेन्द्रका माइला भाइ नै हुन् भन्ने आक्षेप लगाइएको छ । तर लेखकहरूले आफ्ना कमी–कमजोरी भने स्वीकारेको पाइँदैन ।

अत्याधुनिक प्रविधिले गर्दा अचेल ससाना र गुप्त सूचना पनि तत्काल ब्रह्माण्डमा फैलिने गर्छ । रसुवाको खबर तत्काल रसिया पुग्छ । मनाङको खबर मनिला पुग्छ । हंगेरी र हल्यान्डको खबर क्षणभरमै हुम्ला र होलेरी पुग्छ । यस्तो स्थितिमा ‘आफ्ना विश्वासपात्र’ भनिएका मान्छेहरूले नै मिथ्या, निराधार, कपोलकल्पित र मनगढन्ते आरोप लगाएर ‘जे पायो त्यही’ (युवावर्गको भाषामा जेपीटी) लेख्न थालेपछि पूर्वराजा शाहले हालै सामाजिक सञ्जालमा गुनासो गरे, “ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ भनेको यही हो ।”

भनिन्छ, ज्ञानेन्द्र शाह नयाँनयाँ चर्चित पुस्तक पढ्छन् । दिनहुँ देश–देशान्तरका पत्रपत्रिका पनि हेर्छन् । संसारको खबर र इतिहासको ज्ञान राख्छन् । सामाजिक सञ्जालमा ‘अपडेट’ देखिन्छन् । भारतमा ब्रिटिस शासन छँदै युरोपियन गुरुहरूबाट दार्जिलिङमा पश्चिमी शैलीको शिक्षा लिएका शाह गीत र कविता पनि लेख्छन् । प्रियजनसँग ठट्टा गर्छन् । विनोदप्रिय छन् । नेपालीमा भन्दा अंग्रेजी अझ परिष्कृत देखिन्छ उनको । नियतिले उनलाई आफ्ना पिता राजा महेन्द्रभन्दा पहिले नै राजमुकुट पहि-याइदियो, २००७ सालमा । २०५८ साल जेठ १९ गतेको हृदयविदारक घटनापछि उनी दोस्रो पल्ट राजा भए । यो उनका निम्ति अप्रत्यासित र कल्पनातीत घटना थियो ।

केही दिनअघि सामाजिक सञ्जालमा शाहको टिप्पणी देखियो –“कहिलेकाहीँ लाग्छ, किताब त म पनि लेखूँ … ।” यो टिप्पणीमा उनको अव्यक्त पीडा छ। उच्छ्वास छ । छटपटी र औडाहा छ । मनभित्र उकुसमुकुस भएका हजारौँ चिन्ता र चिन्तनको लामो जुलुस छ । देखाउन र सुकाउन नसकिने अश्रुको सरोवर छ । आक्रोश छ । मौन चित्कार छ। भुसको आगो पनि छ।

कम्बोडियामा कम्युनिस्टहरूलाई उचालेर अमेरिकाले राजतन्त्र ढाल्यो । लाखाैँ मानिसलाई राजा, धर्म र संस्कृतिका समर्थक भन्दै मारियो । कम्बोडिया पुग्ने विदेशीलाई देखाउन संग्रहालयमा लाखौँ खप्परहरू आज पनि सुरक्षित राखिएको छ । पोलपोट नामका कम्युनिस्ट नेतालाई प्रयोग गरेर अमेरिकी गुप्तचर संस्था सीआईएले वर्षौंसम्म आतंक फैलायो। त्यसलाई पनि ‘जनयुद्ध’ भनिन्थ्यो । ‘सीआईएसँग मेरो लडाइँ’ (माई वार विथ् द सीआईए) ग्रन्थमा राजा नरोदम सिंहानुकले विदेशी हस्तक्षेपले राष्ट्र कसरी जर्जर, शिथिल, अराजक, अस्थिर र अन्यौलग्रस्त बन्छ भन्ने मार्मिक चित्रण गरेका छन् । दुष्प्रचार गरिएझैँ सिंहानुक अपराधी थिएनन् । त्यसैले सन् १९९३ मा जनताले राजसंस्था पुनर्वहाली गरे । उनले एक ठाउँमा साह्रै हृदयस्पर्शी वाक्य लेखेका छन्, “म बौद्धमार्गी राजा भएकै कारण कम्बोडियाको राजतन्त्र ढालियो ।” उनको आशय स्पष्ट छ, क्रिश्चियन भइदिएको भए त्यस्तो निर्मम हमला अवश्य हुने थिएन ।

सिंहानुकको आत्मकथाबाहेक ‘लायन अफ जोर्डनः द लाइफ अफ किङ हुसेन इन वार एण्ड पिस’ तथा भोल्तेयरको ‘द एज अफ लुई सिक्सटिन्थ’ जस्ता ग्रन्थ ज्ञानेन्द्र शाहले अवश्य पढेका होलान् । त्यस्तै, पल एम. हेन्ड्लीको ‘द किङ् नेभर स्माइल्सः अ बायोग्राफी अफ् थाइल्याण्ड्स् भूमिबल अदुल्यादेज्’ थाइ राजाबारे लेखिएको चर्चित पुस्तक हो । चीनका अन्तिम सम्राट पु यी (छिनवंशी) को जीवनी पनि मार्मिक छ । १९०६ फेब्रुअरी ७ मा जन्मेका ती राजालाई निर्दोष ठहर्‍याएर १९५९ डिसेम्बर ४ तारिखमा क्षमादान दिइयो । १९६७ अक्टोबर १७ मा उनी परलोक भए ।

राजतन्त्र ढल्दाको अवस्थामा उनी बेबिकिङ (बालराजा) थिए, सन् १९१२ मा । अन्तिम सम्राट् छिप्पिँदै जाँदा चीन गृहयुद्धको आगोमा जलिरहेको थियो । युद्ध सरदारहरू आपसमा लडिरहेका थिए । त्यसबेला उनले भनेका थिए, “म विदेश गएर बस्दिनँ आफ्नै माटोमा मर्न चाहन्छु ।” सम्राट पु यीको आत्मवृत्तान्त पढ्दा कैयन् ठाउँमा मन छुने प्रसंगहरू भेटिन्छन् । सुरुमा भाग्न खोजे उनी तर पछि हङ्कङ्मा बसेका नातेदारले बोलाउँदा पनि गएनन् । राजा पु यीले पत्रमा लेखेका छन्, “म मेरै दरबारको माली भएर बस्छु, विदेशमा बस्दिनँ । हुन पनि हो उनी सहायक माली भएरै बसे । (हङ्कङ् त्यसबेला ब्रिटेनको अधीनमा थियो ।)

नेपालमा राजतन्त्र विरोधी हावा फैल्याइएपछि हिमाल खबरपत्रिकामा कार्यरत पत्रकार शरद केसी (हाल बीबीसी) ले २०६५ वैशाखमा यस पङ्क्तिकारसँगको अनौपचारिक कुराकानीमा सोधेका थिए, “दाइ, राजाले अब के गर्छन् ? विदेश गएर बस्छन् ?” “मैले बुझेसम्म उनी कतै भाग्दैनन् । बरू आफ्ना पुर्खा पृथ्वीनारायण शाहको दरबार छेउछाउमा पुख्र्यौली पहाड गोर्खामा गएर तीनचार रोपनी जग्गामा छाप्रो हालेर बस्लान् ।” उत्तर सुनेपछि शरद हाँसे । कतिपयले हठी, अभिमानी र निरंकुश स्वभावका भनेर आलोचना गरे पनि ज्ञानेन्द्र शाहको वास्तविक चरित्र त्यस्तो पाइँदैन । उनी जिद्दी थिए भने सहजै गद्दी त्याग्ने थिएनन् । १९ दिने दोस्रो जनआन्दोलनका बेला रक्तपात नहोस् भनेर सुरक्षा निकाय र मन्त्रीहरूलाई पटकपटक चेतावनी दिने थिएनन् । कम्युनिस्ट तानाशाहहरूले आप्mनो शासन जोगाउन लाखौँ मानिस मारेको इतिहास पाइन्छ भने शाह पनि तानाशाह थिए भने धेरैलाई सिध्याउन सक्थे । आन्दोलनका क्रममा १९ मानिस मर्दा उनले दुःख व्यक्त गरेका छन् । आन्दोलन चर्काउन चाहनेहरूले भर्ती गरेका सुरक्षाकर्मी र गुप्तचरहरूको व्यवहारका कारण त्यसबेलाका आन्दोलन बढी हिंसात्मक हुन थालेपछि शाहले राजनीतिक दलका मागहरू सहजै स्वीकारेको जगजाहेर छ।

शाहका सद्गुण धेरै छन् । तर त्यसको चर्चा नै भएन । उनको मनमा राष्ट्रिय स्वाभिमान र मानवताको मात्रा बढी पाइन्छ। “बाँच्नु नै छ यदि भने बाँच नेपाली भई” लगायतका धेरै गीतका रचनाकार जी. शाह आफैँ साहित्यकार भएकाले संवेदनशील छन्। आफ्ना पिता राजा महेन्द्रका कैँयन् गुण भेटिन्छन् उनमा । दुर्भाग्यवश, उनका निकटवर्ती, सहयोगी र तलबजीवीहरूले ती सद्गुणहरू प्रकाशमा ल्याउन जानेनन् । त्यस्तै उनीमाथि लागेका अभियोगहरूबारे समयमै स्पष्ट गर्न पनि सकेनन्।

नारायणहिटी काण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह बिस्तारै एक्लो जस्तो देखिए । उनले कुनै अपराध वा कसुर गरेको भए गणतन्त्रका सात/आठजना प्रधानमन्त्री र नेपालमा बसेर हालीमुहाली गर्ने विदेशी कूटनीतिज्ञहरू मौन बस्ने थिएनन् । दिल्लीमा बसेर शाहको जरो खनिरहेका व्यक्तिहरूले समेत शाह दोषी भएको प्रमाण फेला पारेको भए अन्तर्राष्ट्रिय अदालतमा नै उनका विरुद्ध मुद्दा चलाउन सक्थे । नेपालमा हजारौँ व्यक्तिका हत्याराहरू ‘मानव अधिकारका पक्षधर, लोकतन्त्रवादी र जनहितैषी’ ठहरिए पनि शाहलाई कैयन् वर्षसम्म अपराधीसरह व्यवहार गरियो । ‘लोकतन्त्रवादीहरू’ पचासौँ अंगरक्षक लिएर पनि भीडमा जाने साहस गर्दैनन् तर शाह आफैँ गाडी चलाएर मेची–महाकालीका गाउँगाउँमा घुमिरहेका छन् । उनी जघन्य अपराधी थिए भने उनको मनोबल यति उच्च हुने थिएन ।

नेपाल स्वाधीन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न प्राचीन राष्ट्र भएकाले यहाँको माटोमा विदेशीको ढलीमली हुनुहुँदैन भनेर शाहले आज पनि चुनौती दिइरहेकै छन् । २०४७ सालपछि बाह्र/तेह्रवर्षसम्म पटकपटक सरकार मात्र परिवर्तन भइरहने र अस्थिरता बढ्दै जाने रोग देखेपछि उनले प्रत्यक्ष शासन गर्ने इच्छा गरे, तीनवर्षका लागि राष्ट्रको बागडोर हातमा लिए । तर चौधपन्ध्र महिनामै उनलाई गद्दीच्युत गरियो । त्यसबेला “राजसंस्था साह्रै महँगो, सेतो हात्ती र अत्यन्त खर्चिलो पद्धति भएकाले हटाउनै पर्छ” भन्नेहरू नै धेरै राजा र राजधानी पाल्नु पर्‍यो भनेर चिन्तित देखिएका छन् । राजा नहुँदा राष्ट्र शान्त, समुन्नत, सुदृढ, एकताबद्ध, सम्मानित, गतिशील, लोकतान्त्रिक र प्रगतिशील हुन्छ भनिएको थियो । बितेका दशवर्षमा केके भयो, भएन भन्ने कुरा जगजाहेर नै छ । घामजस्तै छर्लङ्ग छ । तसर्थ, त्यसबारे धेरै चर्चा गरिरहनु आवश्यक पनि छैन । भविष्यको चिन्ता आफ्नै ठाउँमा छ । राष्ट्र आज पनि संक्रमणकालमै छ भनेर ठूला नेताहरूले नै स्वीकार गरिरहेका छन्।

ज्ञानेन्द्र शाहले भविष्यमा प्रकाशित गर्न सक्ने पुस्तक भर्खरका ठिटाठिटी, प्राज्ञिक–बौद्धिक र सबै खालका चेतनशील समुदायदेखि लिएर जीवनका अन्तिम क्षणहरू गनिरहेका सबैका लागि अध्ययन र चासोको विषय बन्न सक्छ । उनलाई धोका दिने, मद्दत गर्ने, ढाँट्ने र लाखौँ रुपैयाँ मागेर चाट्ने सबैका नाम शाहको हृदय र डायरीमा पक्कै सुरक्षित होला । आप्mना रिपोर्ट, तथ्य, संस्मरण, पीडा, खुसी, कूटनीति, राजनीति, बाल्यकाल, युवावस्था, देश–परदेशको यात्रा र गद्दीच्युत भएपछि भोग्नुपरेको अपमानलगायतका सबै विषय सुन्दर र यथार्थपरक ढंगले प्रस्तुत गर्न सके भने उनको पुस्तक अवश्य पनि ‘बेस्ट सेलर’ (सर्वाधिक बिक्री हुने पुस्तक) बन्न सक्छ । उनीमाथि लागेका दोषहरूको सफाइ दिन मात्र होइन, युवापुस्तालाई उनको मार्गचित्र र विचार प्रवाह गर्न पनि पुस्तकबाट मद्दत पुग्नेछ । भोलि आउने पुस्ताले पनि उनी अपराधी होइन रहेछन् भन्ने कुरा बुझ्नेछन्।

भूल मान्छेबाटै हुन्छ । धेरै काम गर्दै जाँदा ज्ञानेन्द्र शाहबाट पनि कैँयन् भुलचुक भए होलान् । पुस्तकमा आत्म–आलोचना गर्ने त्यस्ता प्रसंगहरू इमानदारी र निर्भीकतापूर्वक प्रस्तुत गरे भने उनलाई पाठकहरूले सच्चा र इमानदार लेखक तथा राष्ट्रवादी राजनेताका रूपमा बुझ्नेछन् । व्यक्तिगत आग्रह–पूर्वाग्रह, द्वेष, घृणा, संकीर्णता र भावावेशबाट मुक्त भएर यथार्थमा आधारित तर्कपूर्ण एवं कालजयी ग्रन्थ तयार पार्न उनले विश्वासिलो, सक्षम, अनुभवी र योग्य शिल्पीको मद्दत लिन सक्छन् । धेरै राजा, राजनेता र विश्वप्रसिद्ध व्यक्तिले आत्मवृत्तान्त तयार गर्दा इतिहास, वर्तमान एवं भविष्यको तस्बिर देखाउँदै आफूलाई सन्तुलित र परिपक्व ढंगले प्रस्तुत गरेका छन् । शाहले पनि त्यसै गर्लान्।

हमिद उल्लाह शाहवादी कास्मिरीले सम्राट् अकबरको जीवनीमा आधारित ‘अकबरनामा’ लेखे। निरक्षर अकबर (सन् १५५६–१६०५) विद्वान्हरूको रायसल्लाहमा मात्र काम गर्थे । त्यसैले उनी जगत्प्रसिद्ध भए । जापानका १२४ औँ सम्राट् हिरोहितो हुन् वा पश्चिमी राष्ट्रको दबाबबाट राष्ट्रलाई मुक्त राख्न चाहने सम्राट् मेजी, उनीहरूको सफलतामा सुयोग्य र इमानदार सल्लाहकारहरूको ठूलो हात रहेको पाइन्छ । सन् १९७९ मा इरानमा पच्चीस सय वर्ष पुरानो राजतन्त्र ढल्यो । त्यसबेला भागेर पत्नी फराहसहित इजिप्ट पुगेका अन्तिम राजा रेजा पहलवीले भनेका थिए, “सबैथोक ठीक छ सरकार भन्दै मलाई मेरै वरिपरिका मानिसहरूले भ्रममा पारेका रहेछन् । अहिले पो थाहा भयो।”

सन् १९७९ मा यो पंक्तिकार झापाको एउटा अखबारमा कार्यरत रहेकाले विदेशी पत्रपत्रिका अध्ययन गर्ने र बीबीसी समाचार सुन्ने आदत बस्यो । इरानी राजाबारे प्रकाशित एउटा लेखमा उल्लेख गरिएको प्रसंग अहिले पनि सम्झना छ “राजा खराब थिएनन् तर उनका वरिपरि बस्नेहरूले गुमराहमा पारे ।” नेपालमा पनि शाहका बारेमा त्यस्तै टिप्पणी सुनिन्छ।

इटलीको हस्तक्षेपविरुद्ध इथियोपियाका राजा हेली सेलासीले विद्रोह नै गरे । सन् १९३६ मा उनलाई गद्दीच्युत गरिए पनि जनसमर्थन जुटाएर सेलासी सन् १९४१ मा पुनः राजा भए । अन्ततः सन् १९७५ मा त्यहाँको राजतन्त्र निर्मूल गरियो । सोही वर्ष लाओसका राजा सिसाभाङ् गद्दीच्युत भए । राजा इद्रिसलाई हटाएर विदेशीको समर्थनमा सन् १९६९ मा लिबियाका राष्ट्रपति भएका महमर गद्दाफी विदेशी षड्यन्त्रकै कारण मारिए । सन् १९६८ मा मालदिभ्समा ८५३ वर्ष पुरानो राजतन्त्र ढल्यो । राजा ‘महमद फरिद दिदी’ बिदा भए । राजा ज्ञानेन्द्रको जस्तो नियति धेरैले भोगेका छन् । जनविश्वास, राष्ट्रको आवश्यकता, अन्तर्राष्ट्रिय कूटनीति, लोकप्रियता र निरन्तरको यत्नले कतिपय राजा पुनः गद्दीमा फर्केका छन् । किनभने राजनीतिमा ‘अन्तिम सत्य’ केही पनि हुँदो रहेनछ । त्यसैले आज देखिएको गणतन्त्र पनि दीर्घायु नहुन सक्छ ।

ब्रिटेनमा राष्ट्रद्रोही भन्दै राजा चाल्र्स प्रथम (सन् १६२५–१६४९) लाई काटे, गणतन्त्रवादीले । ओलीभर क्रमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भयो । उनी ‘हिज हाइनेस’ भए । तर एघार वर्षपछि राजतन्त्र फर्कियो । स्पेनमा पनि गणतन्त्रको रहर गर्दै राजतन्त्र फ्याँकिएको थियो । गृहयुद्धमा लाखौँ मानिस मरेपछि जनरल फ्रान्सिस्को फ्रांको बहामन्डेले अन्त्यमा हुआँ कार्लाेसलाई गद्दीमा राखेर घोषणा गरे “शान्ति र स्थायित्वका लागि स्थायी संस्था (राजसंस्था) नै चाहिने रहेछ । विदेशी हस्तक्षेप रोक्ने पर्खाल राजा नै रहेछ, त्यसैले राजतन्त्र पुनःस्थापना गर्न हामी बाध्य भएका छौँ ।”

पूर्वी गोलाद्र्ध र पश्चिमी राष्ट्रहरूको प्राचीन सभ्यता राजतन्त्रसँग गाँसिएको छ। आज २८ वटा राष्ट्रमा मात्र राजतन्त्र बाँकी छ तर नर्वे, ब्रिटेन, स्वीडेन, जापान, नेदरल्यान्ड, बेल्जियम, थाइल्यान्ड, मलेसिया, कतार, साउदी अरेबिया, ब्रुनाई, बहराइनलगायतका राष्ट्रमा स्थायित्व, शान्ति र समृद्धि छ भने सुखी राष्ट्रहरूको मापदण्डमा अधिकांश राजतन्त्रात्मक राष्ट्र नै अग्रणी छन् । राजतन्त्र पूर्ण रूपले खराब हुन्छ भन्नेहरूलाई राष्ट्रसंघीय तथ्यांक, विकासका बारेमा गरिएका गहन अध्ययन र विश्वशान्तिको निम्ति राजतन्त्रात्मक राष्ट्रहरूले पुर्‍याएका योगदानले नै जवाफ दिएको छ । गणतन्त्र र राजतन्त्रबारे तुलनात्मक अध्ययन गर्न चाहने प्रवृत्ति युवा पुस्तामा बढेको पाइन्छ ।

प्रथम महायुद्धपछि रोमानोभ राजतन्त्र समाप्त भयो, रसियामा । सन् १९१७ मा भएको बोल्सेभिक क्रान्तिपछि त्यहाँ कम्युनिस्ट शासन आयो । जर्मनीमा होयनजोलर्न वंशको राजतन्त्र मासियो । सन् १९३३ मा वेइमर संविधानले गणतन्त्र घोषणा त गर्‍यो तर उदायो हिटलरको तानाशाही । द्वितीय महायुद्धपछि पूर्वी युरोपका रोमानिया, अल्बानिया, हंगेरी, बुल्गेरिया र युगोस्लाभिया गणतन्त्रमय भए । कम्युनिस्ट शासकले ती राष्ट्रमा लाखौँ जनता मारेको कुरा ‘ब्ल्याक् बुक अफ कम्युनिज्म्’ ग्रन्थमा उल्लेख गरिएको छ ।

आफ्ना अनुभवहरू समेटेर ज्ञानेन्द्र शाहले लेखेको पुस्तक विश्वका लाखाँै शोधार्थी र विद्यार्थीका लागि पनि लाभदायक हुनसक्छ । नेपाली बाहेक अंग्रेजी, हिन्दी, चिनियाँ र फ्रेन्च भाषामा पनि अनुवाद गराएर नेपालको पाँच हजार वर्षभन्दा लामो लिखित इतिहासको संक्षिप्त व्याख्या, राजतन्त्रको आरोहअवरोह तथा नेपालले भोगेको चरम विदेशी हस्तक्षेप जस्ता कुरा कूटनीति र राजनीतिका विद्यार्थीका लागि गतिलो सन्दर्भ–सामग्री बन्न सक्छ । राजतन्त्रबारे गहन अध्ययन गर्न चाहनेहरूका लागि राजाले लेखेको पुस्तक कौतूहल, जिज्ञासा र अभिरुचिको विषय बन्न सक्छ ।

“कहिलेकाहीँ लाग्छ, किताब त म पनि लेखूँ” भनेर फेसबुकमा उनको धारणा सार्वजनिक भए पनि धेरैले त्यतातिर ध्यान दिएको पाइएन । ज्ञानेन्द्र शाहको पुस्तक प्रकाशित भयो भने एकपल्ट दिल्ली, बेइजिङ्, ब्रसेल्स र वासिङ्टन डीसीसम्म कम्पन जान सक्छ । उनलाई धोका, दबाब र धम्की दिने विदेशीहरूले समेत सोच्नुपर्ने अवस्था आउँछ । नेपालमा धेरैको मुटुमा ढ्याङ्रो बज्न सक्छ । शुभकामना छ शाहलाई । उनी निरोगी भएर अझै धेरै वर्ष बाँचून् र सत्यको उत्खनन गर्दै राष्ट्र र जनताका पक्षमा बोलिरहून्, लेखिरहून् । त्यति अधिकार त उनलाई पनि छ नि !

साभार नागरिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
युवराज गौतम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More