देउवा, ओली, प्रचण्डले भन्नुपर्यो- गगन–रविन्द्र–योगेशहरु प्रधानमन्त्री बन्न अयोग्य हुन् ?

5 December, 2017 17:39 | बिचार | comments | 25800 Views

– यादब देवकोटा –

मुलुकको नयाँ संविधानको राज्य पुनःसंरचना अनुसार प्रदेश सरकार र केन्द्रीय सरकारको नेतृत्व दिने गरी मंसिर १० गते सम्पन्न भएको र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अधिकांश उम्मेदवार पुराना छन् । दशकौंदेखि चुनाव लडेका, जितेका र प्रधानमन्त्री, मन्त्री भएकाहरुकै बाहुल्य छ । उनीहरुमा अझै थकान छैन चुनाव लड्न तर, देश बनाउने हिम्मत भने पटक्कै छैन ।

नेताहरु पद लिन जति उत्सुक छन् देश बनाउने मामलामा उत्तिकै कमजोर छन् । हुन त निर्वाचन प्रचारका बेला नेताहरुले आफूले गरेको विकासको नालीबेली लगाएको सुन्दा देशमा ठूलै विकास भएछ भन्ने लाग्छ, तर यथार्थमा त्यो सब भ्रम सावित हुन्छ । विकासको कुरा गर्ने हो भने सरकारले कति विकास गर्याे, कति जनतालाई राहत दियो अनि देशको आर्थिक समृद्धिमा कति टेवा पुर्यायो र देशको सुदूर भविष्यसम्म सकारात्मक असर पर्ने के कति काम भयो भन्ने लेखाजोखा गर्दा सबै छर्लङ्ग हुन्छ । सरकार चलिरहन्छ, विकास निर्माणका आयोजनाहरु पम्परागत रुपमा घिस्रदै घिस्रदै चलिरहेका छन् । मेलम्चीको दुई दशकले यस्तै देखाउँछ । यो सब नेतृत्वमा गतिशील सोच नभएर हो ।

राजनीतिको दुई आयाम हुन्छ । एउटा आन्दोलन वा क्रान्ति, अर्को शान्ति अर्थात् समृद्धि । नेपालमा पटकपटक आन्दोलन भयो त्यो आन्दोलनको नेतृत्व अहिलेका शीर्ष भनिएका नेताहरु (कति दिवंगत भैसके)बाटै भएको हो । यो गर्वलायक पक्ष हो । तर क्रान्तिको नेतृत्व गरेको, जेल बसेको, कुटाई खाएको भन्दै आजीवन मन्त्री–प्रधानमन्त्री–सांसद आफू मात्रै बनिरहनुपर्ने भन्ने मान्यताले उनीहरुको राजनीतिक चेतना र देशभक्तिको भावनामा ठेस पुर्याउँछ । उनीहरुको सत्तारोहणको उपलब्धि उनीहरुले जतिसुकै बखान गरे पनि जनताले देखेकै छन् ।

क्रान्तिनायकहरुलाई जनताले पटकपटक पुरस्कृत गरेका छन् । तर, उनीहरुले जनताको त्यो पुरस्कारको सम्मान गर्न सकेनन् । एकले अर्कोलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने काम मात्रै गरिरहे । अर्थात् आरोप–प्रत्यारोपमा उत्रिए । उनीहरुले भट्याउने देशको समृद्धिको नारा केवल नारा मात्रै बनिरहेको छ ।

क्रान्तिको नेतृत्व गरेको, जेल बसेको, कुटाई खाएको भन्दै आजीवन मन्त्री–प्रधानमन्त्री–सांसद आफू मात्रै बनिरहनुपर्ने भन्ने मान्यताले उनीहरुको राजनीतिक चेतना र देशभक्तिको भावनामा ठेस पुर्याउँछ । उनीहरुको सत्तारोहणको उपलब्धि उनीहरुले जतिसुकै बखान गरे पनि जनताले देखेकै छन् ।

राजनीतिमा पुस्तान्तरण भए मात्र देशले विकास गर्छ । यहाँ आजीवन पद ओगटिरहने प्रवृत्ति छ । लामो समयपछि मुलुकले रुपान्तरणको ढोका खोल्छ कि भन्ने आश गरिएको प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पनि त्यही प्रवृत्ति हावी भयो । २०४८ सालदेखि लगातार उच्च पदमा पुगेकाहरुलाई अझै कति पद चाहिएको ? उनीहरु चुनाव प्रचारमा अझै पनि आफू नै प्रधानमन्त्री बन्छु भन्दै कुर्लिरहेको देख्दा यस्तो लाग्छ यो देशको ‘अढैया दशा’ अझै सकिएको रहेनछ ।

देशको माया गर्छु भन्नेले सक्षमलाई नेतृत्वमा ल्याउनुपर्छ । अहिले मुलुकका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले,र माओवादी केन्द्रका शीर्ष तहका नेता, जो यसअघि कैयौंपटक प्रधानमन्त्री बने, मन्त्री बने र सांसद पनि बने, उनीहरुकै निरन्तरता छ । कोही पनि नेताले देशको भावी प्रधानमन्त्री अब ‘फलानो’ भनेर जनताले आश गरेका युवा पुस्ताका नेताको नाम उच्चारण नै गरेनन् ।

चुनाव नहुँदै नेपाली कांग्रेसभित्र शेरबहादुर–रामचन्द्रदेखि डा. शशांक कोइरालासम्मले प्रधानमन्त्रीको दावी गर्न थाले । एमाले र माओवादीभित्र पनि बाम गठबन्धनबाट को प्रधानमन्त्री बन्ने होड चलेको छ । यी दुबै दलभित्र प्रशस्त सम्भावना भएका र काम गरेर आफ्नो क्षमता देखाएका युवा पंक्तिको कमी छैन, तर उनीहरुलाई देशको भावी नेतृत्वकर्ता भनेर कसैले पनि अघि सारेनन् । उनीहरु आआफू नै प्रधानमन्त्री बन्ने भाषण गरिरहे ।

यही प्रवृत्तिले गर्दा जनतामा स्थापित राजनीतिक दलका शीर्षस्थ नेताहरुप्रति वितृष्णा जनाएको छ र विकल्पको खोजीमा लागेका छन् । यसको भेउ नेताहरुले पाएका छन् कि छैनन् त्यो उनीहरुले नै जान्ने कुरा हो । तर, एउटा सत्य के हो भने नेताहरुले जनताको भावनाको कदर पटक्कै गर्न सकेका छैनन् । उनीहरु लोकतन्त्रको नाममा आफ्नो हालीमुहाली चलाइरहन चाहन्छन् ।

सत्ताको निकट रहने तीन दलभित्र युवा पंक्तिका आशलाग्दा थुप्रै नेताहरु छन् । गगन थापा, रविन्द्र अधिकारी, योगेश भट्टराई, चन्द्र भण्डारी, जनार्दन शर्मा, गोकर्ण बिष्ट, विश्वप्रकाश शर्मा, रामहरि खतिवडा (यी केही प्रतिनिधि नाम मात्र हुन्) लगायत दर्जनौं यस्ता नेताहरुले संसदमा रहँदा वा नरहँदा जहिले पनि देश र जनताको पक्षमा खटिरहेका हामी सबैले देखेकै हौं । किन ती नेताहरुलाई भावी प्रधानमन्त्री भनेर अघि सारिएन ?

ल, निर्वाचनमा त्यसो गरिएन रे ! शेरबहादुर, केपी ओली, प्रचण्डहरुले अब आफूहरु प्रधानमन्त्री नबन्ने र युवा पुस्तालाई नेतृत्व दिने भनेर भन्न सक्छन् । उनीहरु अभिभावक बनेर देशलाई दिशानिर्देश गर्न तयार हुन्छन् ? वा हुँदैनन् । नहुने हो भने उनीहरुले भन्न सक्नुपर्यो गगन–रविन्द्र–योगेश जस्ता नेताहरु प्रधानमन्त्री बन्न अयोग्य हुन् भनेर । हैन भने अब मौका उनीहरुलाई दिने हो । यसो गरे मात्र उनीहरुले भाषणमा भनेजस्तो विकास वास्तवमै हुनेछ, नत्र देश विकास केवल सपना र भाषणमै सीमित हुनेछ ।

निर्वाचन अवैध बनाउने बाहिरी षड्यन्त्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More