‘धुर्मुस–सुन्तलीको मौन क्रान्ति’ : गोला बारुदको क्रान्ति फिक्का

7 February, 2018 14:57 | बिचार | comments | 125400 Views

– यादब देवकोटा –

एक दशककयता नेताहरुले भन्ने गर्छन्– राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्नुपर्छ । तर, त्यो क्रान्ति नेताहरुको व्यक्तिगत मात्र भयो । चाउरिएका गाला पुष्ट भए, महल–गाडी खडा भए । छोराछोरीका लागि विलासी जीवनको स्रोत जुट्यो । गरीब जनताको उत्थानका लागि आएको रकम धनी नेताको धन थुपार्न प्रयोग भयो । विकासका कुरा, समृद्धिका कुरा, जनताको जीवनस्तर उकास्ने कुरा सब हावादारी गफ सावित भयो ।

अनेक किसिमले पीडित जनताले राहतको प्रतिक्षा गर्दागर्दै जीवन बिताइरहँदा एउटा यस्तो दम्पत्ति समाजमा उदायो जसले अति विपन्न जनजातिका लागि चारवटा एकीकृत नमूना बस्ती निर्माण गरिदिए । ती समुदायका लागि भगवान सावित भए– ‘धुर्मुस–सुन्तली’ (सीताराम कट्टेल–कुञ्जना घिमिरे) ।

विकास गर्न धन हैन, मन चाहिन्छ । मन भयो भने धनको अभाव हुँदैन भन्ने दृष्टान्त धुर्मुस–सुन्तलीले देखाइदिए । भूकम्पपछि एकीकृत बस्ती बनाउने भनेर सरकारले योजना बनाएर बजेट छुट्यायो, तर अहिलसम्म एउटा बस्ती बनेको छैन । तर, हाँस्य कलाकार दम्पत्तिले भूकम्प पीडितका लागि दुईवटा एकीकृत बस्ती बनाइदिए, अनि तराईका पिछडिएका जातिका लागि दुईवटा एकीकृत नमूना बस्ती ।

उनीहरुले न राजनीति गरे न समाजसेवीको नाममा अनर्गल हल्ला मच्चाएर डलरको खेती गरे । आफ्नो कला बेचे, विदेशमा बस्ने–स्वदेशमा बस्ने नेपालीहरुसंग हारगुहार गरे, करोडौं करोड रकम सहयोग जुटाए अनि बस्ती बनाए । उनीहरुले जे काम गरे त्यो अतुलनीय छ । राज्यले गर्नुपर्ने काम हो त्यो, तर एउटा मनकारी दम्पत्तिमा त्यो उत्साह पलायो, आफ्ना दर्शकहरुको पत्यार गरे, आशा गरे अनि बनाइदिए एकीकृत नमूना बस्ती ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि एकीकृत बस्ती बनाइसकेपछि उनीहरु तराई झरे । पहाड र तराईलाई जोड्ने सेतुको काम गरे । राजनीतिक रुपमा विभाजित गर्न खोजिएको भूगोललाई उनीहरुले जोडे । पहाड र तराईका चार जिल्लामा धुर्मुस–सुन्तलीले जे गरे त्यो सिंहदरबारमा बसेर गफ हाँक्ने नेता, मन्त्री, सरकारी अधिकारी, अर्बपति उद्योगी–व्यवसायीहरुलाई ठूलो चुनौति हो । उनीहरु लाजै नमानी भन्छन् “यो अतुलनीय काम हो ।”

देश विकास गर्न सबैको आआफ्नो किसिमको साथ र सहयोग चाहिन्छ । धुर्मुस–सुन्तलीले आफ्नो क्षमताले भ्याएसम्म गरिरहेका छन् । सरकार ढुकुटीमा पैसा थुपारेर बसेको छ । अहिलेसम्म न भूकम्प पीडितका छाना हालिएका छन, न बाढी पीडितका लागि नै केही भएको छ । पीडितका नाममा आर्थिक सहयोगको घोषणा गरेर भोट बटुल्ने काम मात्र भैरहेको छ ।

देश विकासका लागि जातीय, क्षेत्रीय, साम्प्रदायिक नारा सबभन्दा घातक हो । तराई होस् वा पहाड आआफ्नो राजनीतिका जातीय र क्षेत्रीय नारा घन्काएर जनतालाई भ्रममा मात्र पारिरहेका छन् । मिलेर बसेका जनतालाई विभाजित गरेर उनीहरु सत्ताशिखरमा पुगेका छन् । तर, जनता भने दिन प्रतिदिन कमजोर बन्दै छन्, विभाजित हुँदै शक्तिहीन बन्दैछन् । पहाडमा जनजातिका कुरा, तराईमा जनजातिका कुरा, मधेशीका कुरा गर्नेहरुले कहिल्यै उनीहरुका पीडा बुझ्ने प्रयास नै गरेनन् ।

यसै वर्ष तराईमा बाढीले खर्बौंको क्षति पुर्यायो । हजारौं घरबारविहीन भए । तर, तराईका कुनै पनि राजनीतिक दलका नेताहरुले अति विपन्न परिवारका लागि घर बनाइदिने सोच राख्न सकेनन् । उनीहरु उल्टै पीडितका नाममा राजनीति गरेर भोट बटुल्ने मेसोमा लागे । यस विपरीत पहाडी भनिने धुर्मुस–सुन्तलीले तराईका अति विपन्न वर्गका लागि एकीकृत बस्ती बनाइदिए । मधेशवादी भनेर चिनिने, मधेशको हितका लागि भनेर राजनीति गर्नेहरुलाई यो सन्दर्भले भाउन्न भएको हुनुपर्छ ।

कलाकार जोडी ‘धुर्मुस–सुन्तली’ले कुनै नारा लगाएनन्, न त कसैलाई पीडा दिए । उनीहरूले यस्तो क्रान्ति गरे, जुन क्रान्तिले कीर्तिमान नै कायम गर्यो । उनीहरूले आदिवासी जनजातिको नारा लगाउने काम हैन आदिवासी जनजातिलाई आवास, शिक्षा, स्वास्थ्य र रोजगार एकैसाथ जुटाइदिए ।

अहिले पनि आदिवासी जनजातिको हकहितको नारा लगाएर राजनीतिक दलका नेताहरूले आआफ्नो अभिष्ट पूरा गर्न नौटंकी गरिरहेका छन् । यसको विपरीत कलाकार जोडी ‘धुर्मुस–सुन्तली’ले कुनै नारा लगाएनन्, न त कसैलाई पीडा दिए । उनीहरूले यस्तो क्रान्ति गरे, जुन क्रान्तिले कीर्तिमान नै कायम गर्यो । उनीहरूले आदिवासी जनजातिको नारा लगाउने काम हैन आदिवासी जनजातिलाई आवास, शिक्षा, स्वास्थ्य र रोजगार एकैसाथ जुटाइदिए । काम गर्न पद र शक्ति नै चाहिन्छ भन्ने छैन भन्दै उदाहरण प्रस्तुत गरें । यसले आदिवासी–जनजातिको नारा घन्काउनेहरुको मनमा के परेको होला ?

धुर्मुस–सुन्तलीको यो कामले राजनीतिक रुपमा लगाइने नारा, बनाइने योजना र विदेशीले लादिदिएको निर्देशन कति घातक छ र कति अनर्थपूर्ण छ भन्ने प्रष्ट भएको छ । काम गर्नेले नारा घन्काउँदैनन्, जातीय, विजातीय कुरा गर्दैनन् जसलाई आवश्यक छ उसका लागि काम गर्छन् भन्ने प्रष्ट भएको छ । के सिंहदरबार अनि सात प्रदेशका मुकाममा रहने ठालूहरुले अब यो विषयलाई मनन् गर्लान् ? लक्षण देख्दा त्यो सम्भव छैन । किनभने अहिले पनि भाषा, भेष–भुषामा विवाद निकालेर रडाको मच्चाइरहेका छन् । अझै राजधानी आफूले भनेकै ठाउँमा हुनुपर्ने माग गर्दै जनतालाई सडकमा उतारेर सत्तासंग मोलमलाई गरिरहेका छन् ।

धुर्मुस–सुन्तलीका कारण काभ्रेका पहारी, सिन्धुपाल्चोकका भूकम्प पीडित तामाङ समुदाय, बर्दिबासका मुसरह र रौतहट सन्तपुरका बाढी पीडितको बसाई अब अन्य सम्भ्रान्त जातिको हाराहारीमा उक्लदैछ । यो काम सरकारले गर्नुपर्ने थियो, तर सरकारहरु निकम्मा थिए र छ ।

यो सन्दर्भपछि राजनीतिक दलका दशकौंका नारा, कार्यक्रम र घोषणापत्र सपना बाँड्ने हरकत सबै पाखण्ड थिए भन्ने प्रमाणित भएको छ । उनीहरूले गरेको तथाकथित क्रान्ति झूठा थियो । धुर्मुस–सुन्तलीले मौन क्रान्तिद्वारा युग नै बदल्ने गरी प्रस्तुत गरेको यो उदाहरणले मानवीय सद्भावना, सम्वेदनशीलता र समाज परिवर्तनको क्षेत्रमा कीर्तिमान कायम गरेको छ ।

धुर्मुस–सुन्तलीको प्रेरणाले हिजोसम्म सुतेका मुसहर जाग्दैछन्

धुर्मुस–सुन्तलीद्वारा ५ अर्बको ‘नमूना नेपाल’ परियोजना घोषणा (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More