ध्वजे डाँडा : पूर्वी नेपालको पर्यटकीय क्षेत्रको एक नमुना बन्दै

17 February, 2017 19:06 | कर्पोरेट/पर्यटन | comments | 4800 Views

भावना पाठक -नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका मोरङ जिल्ला र धनकुटा जिल्लाको सिमानामा अवस्थित ध्वजे डाँडा पछिल्लो समय स्वदेशी तथा बिदेशी पर्यटकको आकर्षक स्थल बनेको छ | मोरङ जिल्लाको पाटिगाँउ गाविस वडा नं १ र धनकुटा जिल्लाको डाँडाबजार गाविसमा पर्ने यो क्षेत्रले करिब २० हेक्टर क्षेत्रफल ओगटेको छ |

dwoje-dada

मोरङ जिल्लाको सदरमुकाम विराटनगर देखि करिब ५० किलोमिटर उत्तर र धनकुटा जिल्लाको भेडेटार बजारबाट करिब १३ किलोमिटर पूर्वमा रहेको यो स्थान समुन्द्रि सतह देखि करिब २,०४७ मिटर (७००० फिट) को उचाइमा रहेको छ | धनकुटा जिल्ला डाँडाबजारबाट १ किलोमिटर जतिको पैदल यात्रा तय गरी सकेपछि बल्ल पुगिने यस डाँडाबाट पूर्वाञ्चलका १६ वटै जिल्लाहरू देख्न सकिन्छ | नेपालको नक्सा निर्माणमा अक्षांश, देशान्तर टुङ्गो लागाउन विशेषज्ञहरूले बेला बेलामा प्रयोग गर्दै आइएबाट यसको महत्व पनि स्वत झल्कन्छ |

महाभारत पर्वत श्रृङ्खलाको यस भेगमा पर्ने दोस्रो अग्लो डाँडा यही हो | यस स्थानमा पुग्न मोरङको सदरमुकाम विराटनगरदेखि, धनकुटाको भेडेटार तिरबाट र मोरङको केराबारीबाट पनि बाटाहरू छन | यस डाँडाको फेदीसम्म नै अर्थात धनकुटाको डाँडाबजारसम्म सडक यातायातको सुविधा रहेकाले यस स्थानसम्म पुग्न खासै समस्या रहेको देखिंदैन।

धार्मिक र ऐतिहाशिक दृष्टिले यो डाँडा त्यति महत्वपूर्ण नरहे पनि पर्यटकीय दृष्टिले यसको विशेष महत्व रहेको देखिन्छ | यस डाँडाको माथिल्लो भागमा एउटा पोखरी छ, जसलाई दैवीय स्वरूप मानी स्थानीय मानिसहरू पूजाआजा गर्ने गर्दछन् | पर्यटनको विकासका दृष्टिले ध्वजेडाँडा निकै महत्वपूर्ण छ | यस भेगबाट एकातर्फ पूर्वाञ्चलका १६ वटै जिल्लाको दृश्य देखिन्छन् भने अर्कातर्फ यस स्थानबाट मकालु, कुम्भकर्ण र कञ्चनजङ्घा हिमालको दृश्यसमेत देख्न सकिन्छ |

साथै सूर्‍योदयको दृश्यावलोकनका लागि समेत यो स्थान निकै महत्वपूर्ण छ | जैविक विविधताका दृष्टिले पनि ध्वजेडाँडा निकै महत्वपूर्ण छ | यस डाँडामा विभिन्न प्रकारका जैविक विविधता पाइने गर्दछन् | लेकाली वनस्पति र लेकाली जीवजन्तुका लागि यो स्थल निकै प्रख्यात छ |

डाँडामा बसेर समथर भू-भाग हेर्न र धेरै जिल्लाको एकै ठाउबाट अवलोकन गर्न सकिने भएको कारण आजभोलि यो ठाउ प्रख्यात छ | फुर्सदको समयलाई सजिलै सदुपयोग गर्न पनि सकिन्छ भने घुम्नकै लागि पनि जान सकिन्छ | प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउ स्वदेशी तथा बिदेशी पर्यटकको आकर्षक गन्तव्य मानिएको छ |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More