नारीपुरुष समान, मुखमा होइन मानसिकतामा हुनुपर्छ

8 March, 2018 10:28 | बिचार | comments | 91650 Views

– लक्ष्मण कार्की –

आज अन्तर्राष्ट्रिय नारी दिवस अर्थात महिला दिवस । यो दिनमा महिलाहरुका हक़ हितका कुरादेखि समानताका कुरा हुने छन् । तर हामी र हाम्रो समाज बिस्तारै परिवर्तन हुँदै आए पनि अनुभव हुने गरी नारी र पुरुषमा समानता देख्न सकिएको छैन । सतही रुपमा हेर्दा शहर बजारमा रहने धनाढ्य महिलाहरुमा पुरुष जस्तै केही स्वतन्त्रता र समानता छ कि जस्तो देखिन्छ । तैपनि समग्र नेपालको सन्दर्भमा जन्मदेखि मृत्युको मुखमा नपुगुन्जेलसम्म हेर्दा पनि हामी नारी पुरुषमा कतै न कतै भेदभाव त छ नै । त्यसमा पनि नारीहरु नै पीडित भएको सर्वत्र पाइन्छ । त्यसो त बिरलै रुपमा महिलाले पुरुषलाई अन्याय गरेको पनि पाइएला । जन्म हुनुपूर्व नै महिला पुरुषमा असमानता देख्न सकिन्छ । आजका दिनसम्म पनि जब भ्रुण पेटमा बस्छ अझै पनि हामीले छोराछोरी भन्ने छुट्टिने बित्तिकै छोरी छ भने भ्रुण हत्या जस्तो अपराध समेत गर्न पछि पर्दैनौ । तर एकजना महिला राष्ट्रपति र एकजना महिला सभामुख भएका आधारमा महिला पुरुष समान छौ भन्न भने पछि पर्ने छैनौ ।

मैले यो लेखमा महिला पुरुष समान हुनै सक्दैनन् भनेर भन्न खोजेको होइन तर आजका दिनसम्म पनि बहुसंख्यक हामीमा जन्मनुपूर्वबाट कहीं न कहीं समान ब्यबहार छैन भन्न खोजेको मात्रै हो । हामी सर्सर्ती हेर्ने हो भने आज पनि छोरा र छोरी समान हुन् भनेर मुखले भने पनि छोरा नहुन्जेलसम्म या सम्भव भएसम्म छोराको इच्छा भित्री मनमा पालेकै हुन्छौ । छोरा भैसकेका परिवारमा बच्चाको इच्छा र नभएकामा बच्चा जन्माउने इच्छा हेर्दा पनि त्यो बुझ्न सकिन्छ । अनि पढाउने क्रममा पनि अलि आर्थिक अबस्था सम्पन्न भएका परिवारमा छोरा र छोरीलाई पढाउने बिद्यालय समान भए पनि केही कमज़ोर अबस्था भएका परिवारमा छोरालाई राम्रो बिद्यालय र छोरीलाई अलि सस्तो बिद्यालयमा पठाएको आजका देख्न सकिन्छ । यो हामीले र हाम्रो मानसिकताले नै सिर्जना गरेको असमानताको उपज नै हो ।

जब युवा अबस्थासंगै बिबाह गर्ने उमेर हुन्छ । पारिवारिक रुपमा नै सम्पन्न घरको छोरा र असल सुसिल बुहारी खोजिन्छ । बिबाह दुई मनको मिलन भए पनि असल बुहारी भनेर हाम्रो समाजमा मानसिक रुपमा नै एउटा मान्यता तयार गरिसकिएको छ । घरपरिवारको रेखदेख गर्ने चुलो चौकोदेखि मेलापात गर्ने परिवारलाई मुख नलाउने अझै अगाडि भन्ने हो भने केही अन्याय परे पनि सहने खालकी घरधान्ने भनेर रेखा कोरिएको छ । तर त्यसैमा बुहारी खोज्दा योग्यता भए पनि कुनै अफिसको काम गरेर आर्थिक उपार्जन गर्ने र श्रीमानले घर समाल्ने कुरा अझै पच्न सकेको छैन ।

घरजम गरेर सन्तान हुर्के बढेका घरमा घरायसी काममा महिला र पुरुषको के कति योगदान छ भन्ने पनि चर्चा गर्नुपर्ने आवाश्यकता ठानिन्न । हाम्रा चाडपर्व आउँदा प्रायः पुरुषहरु ह्वीस्कीको चुस्कीसंगै रमाउने र महिलाहरु त्यही बन्दोबस्त गर्नमै ब्यस्त हुने गरेको हामी सबैले अनुभव गरेको कुरा हो । के चाडपर्व महिला पुरुष दुबैका होइनन् ? यसले हाम्रै घरभित्र नै हामी महिला पुरुषमा कति असमानता छ भन्ने कुरा देखाउँछ ।

यसै सन्दर्भमा केही समय पहिला मैले भोगेको सानो कुरा यहाँ उल्लेख गर्नु उपयुक्त ठाने । एकदिन कोठाको सामान मिलाउने क्रममा श्रीमतीको नागरिकता र पासपोर्ट हेर्दा उनको थर पछि मेरो थर जोडिएको देखेर मनमा अचम्मको कुरा आयो । महिला पुरुष बराबर भन्छन्, आफ्नो जन्मदिने बाबु आमा, ईष्टमित्र सबै छोड्नु पर्ने अनि आफ्नै नाम र थरमा पनि श्रीमानको थर जोड्नु पर्ने, आआफ्ना थर राखे पनि हुने हैन भने श्रीमानको नाम र थरमा श्रीमतीको थर जोडे पनि त हुन्छ नि भन्ने मनमा झट्ट आयो । दायाँबाया केही नसोची अहिले प्रायः सबैले प्रयोग गर्ने सामाजिक संजाल फेसबुकमा मेरो नाम र थरको पछि श्रीमतीको थर जोडेर फेसबुकको नाम परिवर्तन गरे । अर्थात लक्ष्मण कार्कीमा श्रीमतीको थर खत्री जोडेर लक्ष्मण कार्की खत्री बनाए । त्यसपछि फेसबुक म्यासेन्जर र कमेण्टमा अनेक कुरा भयो । यतिसम्म कि मैले ठूलै अपराध गरें मेरो खान्दानकै इज्जत फालें । मेरो फेसबुकमा जोडिएका आफन्त र साथीको समेत मेरा कारण नाकै काटीने काम गरें । कतिपयले त तैले बिहे गरेको कि तलाई तेरी बुढीले बिहे गरेको भनेर सम्म भन्नुभो । कसैले कडा रुपमा भन्न नसकेर होला किन थर त्यस्तो राखेको भनेर मात्रै सोध्नु भो । वहाँहरु सबैलाई स्पष्टिकरण दिन पनि सकिन । त्यो नाम राखेर आफन्तको मन दुखाउनभन्दा तुरुन्त नाम सच्याएर लक्ष्मण कार्की नै बनाए । मैले त्यो नाम त्यति ठूलो कुरा सोचेर परिवर्तन गरेको थिइँन अझै भनौ ख्यालठट्टा गरे जस्तै गरेको थिए तर त्यसपछि मैले हामी मानसिक रुपमा महिला पुरुष समान रहेन्छौ भन्ने चेतना पाए र हाम्रो पृतिसतात्मक समाजको मानसिकताको फल ठानें ।

यस्तै असमान ब्यबहारले किचेर कैयौ महिलालाई जिउँदै मरेतुल्य बनाएको छ । महिला प्रायः यौनहिंसाका शिकार बनेको कुरा हाम्रा नजरबाट त्यति टाढाको कुरा होइन । जब कुनै महिला बलात्कारमा पर्छिन । त्यसपछि उनलाई हामीहरुले बिटुलो ठान्छौं, उनलाई समाजमा ठाडो शीर बनाएर हिड्न सक्ने अबस्था हुँदैन । तर त्यही बलात्कारी जस्ले महिलामाथि अत्याचार गर्छ, जसको दोष महिलाकोभन्दा बढी हुन्छ त्यसलाई यो समाजमा जिउन महिलालाई भन्दा सहज छ । ती सबै हाम्रा सामाजिक मान्यता र हाम्रो मानसिकताले सिर्जना गरेको असमानता हो।

यसरी हामी बच्चा जन्माउने, पढाउने, बिबाहपछि घरायसी काम लगायतका कुरामा बिभेद गर्छौ । जब वर्षमा एकदिन महिला दिवस पर्छ त्यो दिन महिला पुरुष समान छौं, हुनुपर्छ भनेर भाषण ठोक्छौ । राष्ट्रपति र सभामुख महिला भएको कुरा उदाहरण दिन्छौ तर दुरदराजका महिलाको अबस्थालाई बिन्छिौं । महिला मात्रै होइन घरमा श्रीमतीलाई यो काम गर्नु र त्यो काम गर्नु भनेर निर्देशन गरेर श्रीमतीलाई नै जुत्तामा पोलिस गर्न लगाउन लगाएर नारी पुरुष समानताका भाषण गरेर मात्रै समानता ँहुदैन । नारी पुरुष समान मुखमा होइन मानसिकतामा हुनु पर्दछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More