नेपाली क्रिकेटका दाजुभाइ जोडी

21 March, 2017 13:49 | खेल , पत्रपत्रिका | comments | 1950 Views

नयाँ उचाईतर्फ शेख दाजुभाइ

नेपाली क्रिकेटका दाजुभाइ जोडी

मोहम्मद सलाम शेखले जीवनमा त्यत्ति खुसी सायदै अनुभव गरेका थिए, जुन दिन छोरा आरिफ यू– १९ राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका थिए ।

सन् २०१४ को सुरुआतमा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू– १९ एसिया कपका लागि आरिफ पहिलो पटक राष्ट्रिय टोलीमा छनोट हुँदा पिता मोहम्मद सलामको खुसीले सीमा नाघेको थियो । त्यही खुसीले मोहम्मद सलामले छोरा आरिफलाई पहिलो पटक ब्याट किनिदिए, त्यो पनि उनैले रोजेको ।

पेसाले मेकानिकल इन्जिनियर मोहम्मद सलमालाई आफूले सञ्चालन गरिरहेको मोटरसाइकल ग्यारेजले ६ जनाको परिवार चलाउन पुगेकै थियो । तर, छोराका लागि क्रिकेट किट्स किनिदिन उनलाई आफ्नो आम्दानीले पुग्थेन । त्यसैले आरिफ सानै हँुदा प्लास्टिकको ब्याट किनिदिएका मोहम्मद सलामले त्यसपछि खर्च गर्न आँट गरेका थिएनन् ।

यस पटक मोहम्मद सलामले १५ हजारभन्दा महँगो रकम खर्चेर ब्याट ल्याइदिए । ‘मैले पकेट खर्च जोगाएर एउटा ब्याट किनेको थिएँ । एसिया कपका लागि जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिता खेल्दा त्यो ब्याट भाँच्चियो’, आरिफले भने, ‘राष्ट्रिय क्याम्पमा साथीको ब्याट प्रयोग गरेर खेलेँ । आर्थिक अवस्थाले नभ्याउने भएकाले मैले त्यसअघि घरमा ब्याट किन्न कहिल्यै भनिनँ ।

तर, यू– १९ राष्ट्रिय टोलीका लागि छनोट भएर पासपोर्ट बनाउन घर फर्कंदा बुवाले मलाई मनपर्ने ब्याट नै किनिदिनुभएको रहेछ ।’ त्यसपछि आरिफले यूएईमा पनि त्यही ब्याटले खेले । नेपाल समूहगत चरणबाटै बाहिरिएको सो प्रतियोगिताका खेलमा मिडल अर्डरमा ब्याटिङ गर्दै आरिफले पाकिस्तानविरुद्ध २५, भारतविरुद्ध ४० र यूएईविरुद्ध ४८ रन प्रहार गरे । तीनमध्ये नेपालले यूएईविरुद्ध चार विकेटको जित हात पार्‍यो । सो खेलमा आरिफ नै म्यान अफ दी म्याच घोषित भएका थिए ।

त्यसयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका आरिफ पछिल्लो समय करिब तीन वर्षयता सिनियर राष्ट्रिय टोलीबाट पनि खेल्दै आइरहेका छन् । यतिबेला पिता मोहम्मद सलामको खुसी पनि दोब्बर बनेको छ । यस पटक आरिफसँगै सलामका अर्का छोरा आसिफ पनि सिनियर राष्ट्रिय टोलीमा परेका छन् । आरिफ र आसिफ दुवैजना यसै महिनाको अन्त्यबाट बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय टोलीमा परेका हुन् । ‘भाइ पनि राष्ट्रिय टोलीमा परेको समाचार बाबालाई मैले नै सुनाएको थिएँ’, आरिफ भन्छन्, ‘बुवा निकै खुसी हुनुभयो । उहाँले हामी दुवै जनालाई राम्रो खेलेर आउनु भन्नुभएको छ ।’

आरिफका लागि इमर्जिङ नेसन्स कप नेपाली सिनियर राष्ट्रिय टोलीबाट पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । आसिफका लागि भने पहिलो । तर, पाँच वर्षले दाजुभाइ आरिफ र आसिफले नेपाली क्रिकेट इतिहासमा एक फरक कोसेढुंगा भने तय गरेका छन् । आरिफ र आसिफ नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन दोस्रो दाजुभाइ जोडी बनेका छन् । विराटनगरका मञ्जित र युनिल श्रेष्ठ त्यो सफलता हात पार्ने पहिलो दाजुभाइ जोडी हो । मञ्जित र मनिलले सन् २००२ मा हङकङमा भएको तीनदिवसीय प्रतियोगिता खेलेका थिए ।

दाजुभाइ नै राष्ट्रिय टोलीमा पर्दा आरिफ र आसिफ दुवैलाई खुसी लागेको छ । तर उनीहरूले यसलाई चुनौतीका रूपमा पनि लिएका छन् । ‘दाइसँगै राष्ट्रिय टोलीमा पर्नु मेरा लागि भाग्यको कुरो हो’, आसिफ भन्छन्, ‘तर, मेरा लागि यो चुनौती पनि हो । यो अवसरमा राम्रो प्रदर्शन गर्न सकेको अवस्थामा मात्रै फेरि पनि राष्ट्रिय टोलीमा पर्न सकिन्छ । प्रदर्शन राम्रो भएन भने यो नै अन्तिम प्रतियोगिता पनि हुन सक्छ ।’

आरिफलाई पनि सिनियर राष्ट्रिय टोलीबाट आफ्नो प्रदर्शनमा सन्तोषजनक लागेको छैन । ‘अहिलेसम्मको प्रदर्शनमा म आफैं पनि सन्तुष्ट छैन’, उनी भन्छन्, ‘क्षमताअनुसारको प्रदर्शन दिन सकेको छैन । आगामी अवसरलाई सदुपयोग गर्नु सक्नुपर्छ ।’ आरिफले अहिलेसम्म आठ खेल खेलेका छन् । जसमध्ये चार पालीमा ब्याटिङको अवसर पाएका उनले १४ रनमात्रै बनाएका छन् । यस्तै दुई पालीमा १७ ओभर बलिङ गरेका उनले ७७ रन खर्चेर चार विकेट लिएका छन् । आरिफ यो प्रदर्शनमा सुधार ल्याउन चाहन्छन् ।

शेख दाजुभाइ क्रिकेटले घरमा दिएको खुसीलाई जोगाइराख्न पनि क्रिकेटमा राम्रो प्रदर्शन गर्न चाहन्छन् । ‘बाबालाई क्रिकेट मनपर्छ । हामी सानै हँुदा प्लास्टिकको ब्याट ल्याएर खेल्न सिकाउनुहुन्थ्यो । पछि हामी जितेर आउँदा खुसी हुनुहुन्थ्यो’, आरिफ सुनाउँछन्, ‘कमजोर आर्थिक अवस्थाको कारण आवश्यक किट्स किन्न नसक्दा अघि बढ्न सक्दैन भनेर होला उहाँले हामीलाई पढाइमै जोड दिन भन्नुहुन्थ्यो । अहिले खेलमै केन्द्रित हुन भन्नुहुन्छ । घरमा पनि क्रिकेटको कुरा हुन्छ । क्रिकेटले खुसी दिएको छ । यो खुसी जोगाइराख्न पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्नुपर्छ ।’

२०७०/७१ सालको राष्ट्रिय एकदिवसीय प्रतियोगिताले जन्माएको प्रतिभा हुन्, आरिफ शेख । क्षेत्र नम्बर २ वीरगन्जका आरिफले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन दिए । प्रतियोगिताको ६ खेलमा कुल दुई सय ६२ रन प्रहार गरेका आरिफले ११ विकेट पनि लिए । सोही अलराउन्ड प्रदर्शनबाट आरिफले राष्ट्रिय टोलीको ढोका पनि ढकढक्याएका थिए ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले लगत्तै मलेसियामा भएको एसीसी प्रिमियर लिगका लागि आरिफलाई नेपाली टोलीको अन्तिम १४ भित्र छनोट गरे । उनले सोही प्रतियोगितामा हङकङविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्युको अवसर पनि पाए । नेपालले हङकङद्वारा प्रस्तुत एक सय ८२ रनको लक्ष्य ३४.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा पार गर्दै सात विकेटको जित हात पार्‍यो । डेब्यु खेलमा उनको ब्याटिङको पालो त आएन, तर नौ ओभर बलिङ गरेका उनले एक मेडन निकाल्दै ३० रन खर्चेर दुई विकेट भने लिए ।

त्यसयता आरिफले थप तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । प्रिमियर लिगपछि सोही वर्ष मलेसियामै भएको विश्व क्रिकेट लिग डिभिजन तीन तथा नामिबियामा भएको डिभिजन दुईमा प्रतिस्पर्धा गरेका छन् । डिभिजन दुईका खेल आईसीसीबाट लिस्ट ए मान्यता प्राप्त खेल हुन् । आरिफ अघिल्लो साता आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध कीर्तिपुर मैदानमा प्रतिस्पर्धा गरेको नेपाली टोलीमा पनि थिए ।

उमेरसमूहमा यू– १६ र यू– १९ बाट समेत अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका आसिफको सिनियर राष्ट्रिय टोलीको आगमन पनि गज्जबको छ । गत असोजमा भएको एभरेस्ट प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा कलर्स एक्स फ्याक्टर्सविरुद्ध ६७ बलमै एक सय ११ रनको शतकीय प्रदर्शन गरे । पञ्चकन्या तेजबाट खेलेका उनले आफ्नो पालीमा आठ छक्का तथा सात चौका प्रहार गरेका थिए । त्यसपछि गत माघमा भएको रुस्लान कप टीट्वेन्टी क्रिकेट प्रतियोगितामा पनि उनको शसक्त प्रदर्शनमा विभागीय टोली नेपाल पुलिसले उपाधि रक्षा गरेको थियो ।

यू–१९ राष्ट्रिय टोलीकासाथै यी दुई घरेलु प्रतियोगिताको प्रदर्शनले उनलाई यस पटक सिनियर राष्ट्रिय टोलीका लागि बलियो दाबेदारी प्रस्तुत गरेका थिए । उनी केन्याविरुद्ध कीर्तिपुरमा भएको अघिल्लो साताको दुई खेलका लागि अन्तिम १९ सम्म पुगेका थिए । अन्तिम १४ मा पर्न असफल भए । यद्यपि इमर्जिङ नेसन्स कपका लागि भने राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

आरिफ र आसिफ पर्साको मुर्ली—१५ स्थित विद्यासदन माध्यमिक विद्यालयका उत्पादन हुन् । दुवैले आफ्नो विद्यालय शिक्षा विद्यासदनबाटै पूरा गरे । विद्यासदनले वीरगन्ज र आसपासमा आयोजना हुने क्रिकेट प्रतियोगितामा नियमित सहभागिता जनाइरहन्छ । ती प्रतियोगितामा उत्कृष्ट ठहरिने खेलाडीलाई विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले छात्रवृत्तिको व्यवस्था पनि गरेका छन् ।

प्रधानाध्यापक गुरुङको त्यो छात्रवृत्ति योजना आरिफ र आसिफलाई आफ्नो क्रिकेटर बन्ने इच्छा पूरा गर्ने बाटोमात्रै बनेन, घरको कमजोर आर्थिक अवस्थालाई सघाउने माध्यम पनि बन्यो । ‘हामी मेहनत गरेर खेल्थ्यौं । त्यसबाट प्राप्त हुने छात्रवृत्तिले हाम्रो पढाइमा समेत सहयोग पुग्थ्यो’, आरिफले भने, ‘त्यसले घरको आर्थिक अवस्थालाई समेत टेवा पुर्‍याउथ्यो ।’

आरिफ विद्यालयका कप्तान थिए । विद्यालयको प्रतियोगिताबाटै आरिफले अलराउन्ड प्रदर्शनमा जोड दिए । उनी जति राम्रो ब्याटिङ गर्छन्, उनको मिडियम पेस बलिङ पनि उत्तिकै सशक्त छ । फिल्डिङमा पनि उनको प्रदर्शन उत्तिकै सशक्त हुने गर्छ । आसिफ भने विकेट किपर ब्याट्सम्यान हुन् । उनी सुरुवातमै ब्याटिङ गर्न रुचाउछन् । सुरुवातमै ब्याटिङ गर्दा पनि टोलीलाई सशक्त सुरुवात दिलाउनु उनको खुबी हो । आरिफलाई आफ्नो भाइको त्यही क्षमता मनपर्छ । तर, उनलाई भाइको मन नपर्नै केही बानी पनि छन् ।

‘आसिफमा टोलीलाई राम्रो सुरुआत दिलाउन सक्ने क्षमता छ । राम्रो सर्ट खेल्न सक्छ’, आरिफ भन्छन्, ‘यद्यपि ऊ निकै कमजोर बलहरूमा आउट भइरहेको हुन्छ ।’ आरिफ आफ्ना भाइलाई खेलका बारेमा सुझाइरहन्छन् । खेलअघि हौसला बढाउन पुग्छन् । खेलपछि उनका गल्तीहरू केलाएर सिकाउँछन् । त्यसको विपरीत, आसिफ भने दाइको खेलमा कुनै प्रतिक्रिया दिँदैनन् । उनलाई लाग्छ दाइ मभन्दा अनुभवी हुन् । ‘मलाई क्रिकेट दाइले नै सिकाउनुभएको हो’, आसिफ भन्छन्, ‘त्यसैले दाइको खेलमा प्रतिक्रिया दिन सक्दिनँ ।’ आसिफलाई दाइ आरिफको संवेदनशील तरिकाले खेल्ने बानी मन पर्छ । ‘दाइ खेल बुझेर खेल्नुहुन्छ, खेल कुन अवस्थामा छ र आफूले कसरी खेल्नुपर्छ भन्ने बुझ्नुहुन्छ’, लजालु स्वभावका आसिफ भन्छन्, ‘दाइको संवेदनशील भएर खेल्ने बानी मन पर्छ ।’

आरिफ र आसिफ दुवै स्वभावमा लजालु छ । तर उनीहरूका रोजाइका विषय फरक छन् । आरिफलाई न्युजिल्यान्डको टोली मन पर्छ । न्युजिल्यान्डकै ब्याट्सम्यान मार्टिन गुप्टिल उनको मनपर्ने खेलाडी हुन् । आसिफलाई दक्षिण अफ्रिकी टोली मन पर्छ । तर, खेलाडीमा भारतीय लोकेश राहुल मन पर्छ । घरेलु क्रिकेटमा भने दुवैको मनपर्ने खेलाडी शरद भेषावकर हुन् । त्यसमा दुबैको एउटै तर्क छ । ‘शरद दाइ आक्रामक खेल्न सक्नुहुन्छ । आवश्यकताअनुसार क्रिजमा टिकेर पनि खेल्न सक्नुहुन्छ । त्यसैले राष्ट्रिय टोलीमा शरद दाइ नै मन पर्छ’, दुवै भन्छन् ।

आजको अन्नपूर्णमा खबर छ ।

सुनील र आरिफलाई सिप्रदीको साथ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More