पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण गर्छु भन्नेलाई किन नदिएको ?

22 June, 2018 10:44 | कर्पोरेट/पर्यटन | comments | 18000 Views

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन्– “भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ ।”

यो मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको मनमा जाग्छ ।

adsads
पशुपति र गुह्येश्वरीबीचको मृगस्थली जंगलमा रहेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको थियो । भूकम्पले धुजा धुजा भएको मन्दिर त्यसै वर्ष भदौ ४ गतेको वर्षाले ढल्यो ।

भत्किएका इँटा मन्दिर परिसरमा असरल्ल छोडिएको छ । भत्किएको मन्दिर वरपर उन्यु र तीतेपातीको घारी उम्रिएको छ । ढलेको मन्दिरका संरचना घारीले घेरिएको छ । मूलद्वारबाट छिरेपछि देखिने ठूलो घण्ट ढलेको छ । मन्दिरमा रहेका पुरातात्विक महत्वका मूर्ति यत्रतत्र पल्टिएका छन् ।

मन्दिरको सुरक्षाका लागि तीनपुस्तादेखि पहरा दिँदै आउनुभएका सुनिल थापा मन्दिर ढलेदेखि पूजा समेत बाहिरै हुँदै आएको बताउनुहुन्छ । मन्दिर घेरेर बनाइएको पूर्व र दक्षिणको सत्तल जीर्ण भएर छिर्न नसकिने अवस्थामा छ । पश्चिम र उत्तरतिरको सत्तलमा सुरक्षाकर्मी एवम् केही साधु बसेका छन् ।

मन्दिर परिसरमै जन्मेर जीवनको आधा समय यसैको सुरक्षामा बिताउनुभएका थापाले पुनःनिर्माण छिटो होस् भन्ने कामना गरे पनि भगवान्ले नै नसुनेको गुनासो गर्नुहुन्छ । परम्परादेखि तीन जना सुरक्षाकर्मी बस्दै आएको मन्दिरमा पछि प्रहरी पहरा गणका पाँच जना पनि थपिएका छन् । दुई रोपनी क्षेत्रफलमा फैलिएको मूल मन्दिरको बाहिरी परिसरबाट पहिरो जान थालेको छ । बाहिरी परिसरको उत्तर, पूर्व र दक्षिणबाट वर्षौँअघिदेखि पहिरो जान थाले पनि रोक्न कुनै पहल गरिएको छैन ।

मन्दिरको दक्षिण पूर्वी कुनामा रहेको इनारले धेरै जनाको जीवनलीला समाप्त गरेको थापा बताउनुहुन्छ । “मन्दिर परिसरमा बस्ने सबैले खाने पानी यही हो, मानिस छिरेर मरेपछि सबै पानी निकालेर सफा गर्नुपर्छ, पटक पटक मानिस डुबेर मर्न थालेपछि ब्राह्मण बोलाएर रुद्राभिषेक नै गर्नुप¥यो”– उहाँले भन्नुभयो ।

पानी शुद्ध बनाउन गोसाइँकुण्ड क्षेत्रका १०८ कुण्ड, दामोदरकुण्ड, मुक्तिनाथ, हरिद्वार, यमुनोत्री, गंगोत्री, बनारसगंगा लगायत तीर्थस्थलका जल ल्याएर हालिएको छ । पहिले इनारबाट पानी तानेर राख्ने ट्यांकी बनाइएकामा हाल जीर्ण भएर पानी राख्न नसकिने भएको छ ।

मन्दिरको सुरक्षामा खटिनुभएकी प्रहरी पहरा गणकी प्रहरी सहायक निरीक्षक पासाडिकी शेर्पा मन्दिरको गजुरलगायत पुरातात्विक चीजबीज सानो कोठामा बन्द गरेर ताला लगाउँदा जोगाउन गाह्रो भएको बताउनुहुन्छ । कोठाको साँचो भने पशुपति क्षेत्र विकास कोषले नै राखेको छ ।

“पुरातात्विक महत्वका चीजबीज कोषको कार्यालयमै राखे राम्रो हुन्छ, यहाँ वरिपरिका भवन जीर्ण रहेकाले सुरक्षा खतरा छ” – उहाँले भन्नुभयो । पशुपति क्षेत्रमा रहेका धेरै मठ मन्दिर एवम् शिवालय देवालयमध्ये आय स्रोत र गुठी नभएकालाई कोषले वास्ता नगर्ने यहाँ बस्दैआएकाहरूको गुनासो छ ।

यसो त यो मन्दिर बनाउन दाता नआएका पनि होइनन् । भूकम्प जानु अघिदेखि नै नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिण पश्चिमको सत्तल भाडामा लिएर विश्व शान्तिको संकल्पले वैदिक रुद्राभिषेक शुरु गरेको थियो । फाउन्डेसनले भूकम्प जानु अघिदेखि नै पुनःनिर्माण गरी वैदिक केन्द्र स्थापनाको प्रस्ताव राखेको बताउनुहुन्छ कोषका तत्कालीन सदस्य सचिव डा गोविन्द टण्डन ।

“भूकम्पपछि पनि फाउन्डेसनले पुनःनिर्माणको प्रस्ताव राख्यो, तर कोषको कार्यसम्पादन समितिले निर्णय नगरेकाले सम्झौता हुन सकेन” – उहाँले भन्नुभयो ।

पुरातात्विक स्थल ढलेर उन्यु घारीमा परिणत हुँदा पुनःनिर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको संस्था न आफू काम गर्छ न गर्न चाहनेलाई दिन्छ । यस्तो दुर्दशा छ पशुपति क्षेत्रको ।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल चालू आर्थिक वर्षमै विश्वरुप पुनःनिर्माणको प्रक्रिया शुरु गरिने बताउनुहुन्छ ।

– पूर्णप्रसाद मिश्र

पशुपति क्षेत्र मनमोहक बनाउन कार्ययोजन निर्माण गर्दे छौं : मन्त्री अधिकारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More