वर्षमान पुन वर्षमान पुन

  • वर्षमान पुन
  • वर्षमान पुन
  • वर्षमान पुन
  • वर्षमान पुन
  • वर्षमान पुन
  • वर्षमान पुन

फायरिङ गर्दै प्रहरी घेराबाट महरालाई जोगाएँ : ‘अनन्त’

14 December, 2017 13:26 | पत्रपत्रिका | comments | 106350 Views

वर्षमान पुन

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वर्षमान पुन ‘अनन्त’को राजनीतिक यात्रा लामो छ ।

२६ वर्षको उमेरमै पार्टीको केन्द्रीय समितिमा जिम्मेवारी पाएका पुन १० वर्षे युद्धमा जनसेनाको कमान्डर बनेर धेरै आक्रमणमा सहभागी भए । शान्तिप्रक्रियासँगै सैन्य फाँटबाट पार्टी संगठनतिर मोडिएका उनी अर्थमन्त्रीसमेत भइसकेका छन् । नयाँ पत्रिकाका नवीन लोचनमगरले पुनको राजनीतिक आरोह–अवरोह खोतलेका छन् :

शिक्षा र राजनीति दुवैका गुरु महरा
स्कुले जीवनदेखि नै राजनीतिमा लागेँ । शिक्षण गराउने गुरु नै मेरा राजनीतिक गुरु हुनुहुन्छ । मेरै पार्टीका नेता कृष्णबहादुर महरा ०४० पछि स्कुले गुरु हुनुहुन्थ्यो । गणित र विज्ञानमा उहाँ रोल्पा जिल्लाभरिकै राम्रो शिक्षकमा गनिनुहुन्थ्यो । उहाँले नै मलागयत मेरो जेनेरेसनका धेरै साथीलाई राजनीतिमा प्रेरित गर्नुभयो ।

लिवाङको बालकल्याण माविमा पढेका धेरै विद्यार्थी महरा गुरुकै कारण राजनीतिमा लाग्यौँ । नेत्रविक्रम चन्द ‘विप्लव’जी, हाल रोल्पा ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुलप्रसाद केसी ‘सोनाम’जी र म सँगै होस्टेल बसेर पढेका हौँ । निवर्तमान सभामुख ओनसरी घर्तीजीहरू हामीभन्दा पछिल्लो ब्याचमा पढ्नुभएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनजी हामीभन्दा दुई–तीन ब्याच अगाडि, झक्कु सुवेदीजी अझै केही अगाडि बालकल्याणमै पढ्नुभएको हो । महरा गुरुको प्रेरणाका कारण पनि सदरमुकामकै यो स्कुल शैक्षिकसँगै राजनीतिक केन्द्र पनि थियो ।

गाउँमा भोगेको शोषण र महरा गुरुले प्रवेश गराइदिएको राजनीतिक चेतनाले राजनीतिप्रति लगाव बढ्यो । ०४५ मा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा कानुन संकायमा भर्ना भएँ । गाउँमा कमजोरमाथि बलियाबाट हुने शोषण र उत्पीडन अन्त्य गर्न भन्दै कानुन विषय रोजेको थिएँ । त्यहाँ पढ्दै गर्दा राजनीतिक गतिविधिमा पनि संलग्न भइरहेकै थिएँ । किनभने ०४२ मै अखिल छैटौँमा आबद्ध भएर राजनीतिमा सक्रिय भइसकेको थिएँ । दाङमा पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय भएँ । पासाङजी, सोनामजी, रेखा शार्माजी, शक्ति बस्नेतजीलगायत महेन्द्र बहुमुखी क्याम्पसमै पढ्नुभएको हो । त्यतिखेर सँगै पढेका अहिले हामी राजनीतिक आन्दोलनमा पनि सँगै छौँ ।

०४७ मा पार्टी सदस्यता
०४८ मा आइएल पास गर्दासम्म राजनीतिमा पूर्ण रूपमै लागिसकेको थिएँ । ०४७ मा मैले नेकपा (एकता केन्द्र)को पार्टी सदस्यता लिइसकेको थिएँ । ०४८ मा तत्कालीन ९ नं. क्षेत्रको संस्थापक एरिया सेक्रेटरी भएँ । त्यतिवेला जनमोर्चाले कांग्रेस सरकारविरुद्ध आन्दोलन गर्‍यो । नेकपा एकताकेन्द्रकै चुनावी मोर्चा थियो, जनमोर्चा । चुनावका लागि रोल्पामा महरा सर संयोजक र म सहसंयोजक भएर आन्दोलन गर्‍यौँ ।

तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले रोल्पामा ठूलो दमन गर्‍यो । हामीले प्रतिवाद गर्न युवा संगठन बनायौँ, वाइसिएलको रूपमा । गाउँका जाली फटाहाको तमसुक च्यात्नेदेखि कारबाही गर्नेसम्मका काम गर्‍यौँ ।

निर्वाचनमा हामीले २३ गाविसमा अध्यक्ष जितेका थियौँ, अर्कोतिर आन्दोलनमा पनि थियौँ । जिविस सभापति पनि जितेका थियौँ । त्यहाँबाट जनताका काम गर्‍यौँ ।

०४९ मा नेपाल ल क्याम्पसमा बिएलमा भर्ना भए । तर, कक्षामा उपस्थित हुने वातावरण बनेन । ०४९ को जिल्ला सम्मेलनबाट रोल्पाको पहिलो निर्वाचित कमिटीमा जिम्मेवारी आयो । त्यसै वर्ष कांग्रेस कार्यकर्ताले दुई सार्वजनिक मुद्दा लगाएपछि २४ दिन हिरासतमा समेत बस्नुपर्‍यो । मलगायत केही साथीलाई कांग्रेसका स्थानीय कार्यकर्ताले ‘डकैती’ गरेको आरोपमा मुद्दा लगाएका थिए । राज्यको दमनविरुद्ध रोल्पा हुँदै सिन्धुली, गोरखा, रुकुमलगायत जिल्लामा पनि प्रतिवादका कार्यक्रम सुरु भए । यही आन्दोलनको जगमा जनयुद्ध सुरु भयो ।

जब जनयुद्धमा होमिएँ
०५२ मा जनयुद्ध सुरु भएसँगै नेकपा माओवादी पार्टीको जिल्ला सेक्रेटरीको जिम्मेवारी पाएँ । पूर्णकालीन भएर युद्धमा होमिएँ । औपचारिक कक्षा नलिए पनि बिएलको पढाइ भने सकाएको थिएँ । तर, भूमिगतकाल सुरु भएपछि थेसिस पूरा गर्न पाइनँ ।

०५५ मा चौथो विस्तारित बैठकबाट केन्द्रीय समितिको जिम्मेवारीमा आउँदा जम्मा २६ वर्षको थिएँ । समितिमा म र शक्ति बस्नेतजी सबैभन्दा कम उमेरका थियौँ । विप्लव, हितमान शाक्य, मणि थापा र चक्रपाणि खनाल ‘बलदेव’सहित हामी सातजना एकैसाथ केन्द्रीय समितिमा आएका थियौँ । सातजना लक्का जवान युवा एकसाथ केन्द्रीय समितिमा आउनु माओवादी आन्दोलनमा निर्णयक मोडजस्तो बन्यो । ०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट वैकल्पिक पोलिटब्युरो सदस्य भएँ । ०५९ मा भारतको गोवामा बसेको बैठकले पूर्ण पोलिटब्युरो सदस्य बनायो ।

लामो समय रोल्पा–प्युठान इन्चार्ज भएँ । रुकुम, सल्यान र जाजरकोटको पनि इन्चार्ज भएँ । ०५५ देखि ०५९ जेठसम्म पश्चिम कमान्डको सैन्य हेडक्वार्टरको जिम्मा लिएँ । पहिलो जनयुद्धको होलेरी कमान्डर भएँ । घर्तीगाउँ कारबाही, दाङको घोराही ब्यारेक आक्रमण, डोल्पाको दुनै, अछामको मंगलसेन, जजरकोटको लह, रुकुमको महतलगायत ठूला कारबाहीमा कि कमिसारेट, कि कमान्डर थिएँ ।

हामी ओडारमा थियौँ । तत्काल सल्लाह गरेर निचोड निकाल्यौँ, पहिले म निस्किने र फायर गर्ने अनि महरा सर निस्किने । तल झरेर कासन गरेँ, सबै प्रहरी मतिर केन्द्रित भए । अनि फायर गरेँ ।

कैयौँ आक्रमणमा कमान्डर
त्यतिवेला म पार्टीको जिल्ला कार्यालय सदस्य थिएँ । जोखबहादुर महरा जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । सन्तोष बुढा कार्यालय सदस्य हुनुहुन्थ्यो । नौजनाको जिल्ला कमिटी थियो । युवा भएकाले पनि मैले वाइसियल हेर्थें । जिल्लाको लडाकूको नेतृत्व पनि मैले नै गरेको थिएँ । पार्टीले जिल्ला लडाकू दल, स्वयंसेवक दल र सुरक्षा दल गरी तीन संगठन बनाएको थियो । युद्धका लागि आवश्यक तालिम जनयुद्ध अगाडि नै लिएका थियौँ । लाठी, खुकुरी चलाउने, शारीरिक तालिम, भरुवा बन्दुक पड्काउने, राइफल चलाउने, टाइम र सुतली बम बनाउनेजस्ता तालिम लिने-दिने काम भएको थियो । अध्यक्ष प्रचण्डले दिनुभएको केन्द्रीय तालिममा पनि जिल्लाबाट म नै सहभागी थिएँ । जिल्लाभर मैले नै तालिम दिएँ ।

०५९ मा पूर्वी कमान्ड गएँ । मोहन वैद्य ‘किरण’जी इन्चार्ज हुनुहुन्थ्यो । म उहाँको ‘सेकेन्डम्यान’ भएर गएँ । काठमाडौंदेखि पूरै पूर्वको सैन्य कमान्डर र सैन्य हेडक्वार्टरको इन्चार्ज भएँ । त्यसक्रममा ठूलाठूला कारबाहीहरू भए । भोजपुर सदरमुकाम आक्रमण, सिराहाको बन्दिपुर हाइवेको लडाइँमा आफैँले कमान्ड गरेँ । काठमाडौंको थानकोट, दधिकोटदेखि साँखुसम्मको कारबाहीको योजना बनाउने मौका पनि मैले नै पाएँ । सिन्धुपाल्चोकको चौतारा आक्रमण, काभ्रेको पनौती आक्रमणमा आफैँ सहभागी भएँ । होलेरी आक्रमण मेरै कमान्डमा भएको थियो ।

चुनबाङ बैठकपछि ०६२ मा भ्याली र भ्यालीवरिपरि मिलाएर बनाइएको विशेष कमान्डमा मेरो जिम्मेवारी पर्‍यो । फौजीतर्फ डेपुटी कमान्डरको जिम्मेवारी हुँदै गर्दा राजनीतिक जिम्मा पनि लिएँ । तत्कालीन सात दलका नेतासँग समन्वय गर्ने र आन्दोलन अगाडि बढाउने मोर्चामा सहभागी भएँ।

मुस्किलले बाँचेको युद्धका क्षण
जनयुद्धमा धेरै ठूला घटनामा मुस्किलले बाँचे । डोल्पा सदरमुकाम कब्जा गर्दा बिहान भइसकेको थियो । आक्रमण सकाएर सदरमुकामबाट केही माथि आउँदा हेलिकोप्टर आयो, प्रहरी झार्‍यो । माथि हेलिकोप्टर उँड्दै थियो, हामी तल हिँड्दै थियौँ । धेरै घेरा छलेर उम्कियौँ ।

अछाम कारबाहीमा पनि यस्तै भयो । फर्किंदा उज्यालो भएको थियो । मंगलसेनबाट एक किलोमिटर तल नआउँदै हेलिकोप्टर उँड्न थाले । हामीमाथि बम आक्रमण भयो । बाँच्ने आशा नै थिएन, तर बाँचियो ।

पूर्वको कमान्डर हुँदा बन्दिपुर आक्रमणपछि सिन्धुली र उदयपुरको जंगलमा १५ दिनसम्म हामी सेनासँग लड्यौँ । दिनदिनैजसो लडाइँ हुन्थ्यो । १५ दिन लडेर पनि फोर्स बचायौँ ।

भोजपुर आक्रमण गरेर फर्किंदा पनि सेनाको घेरामा पर्‍यौँ । अछामबाट दैलेख जाँदा राकम पुलमा सेना बसेको थाहा पाएपछि सेनालाई नै छकायौँ । सेनालाई पुल छाड्न बाध्य गराएर रातारात हामी दैलेखतिर गयौँ ।

एकपटक महरा सर र म सल्यानको बाँफुखोलामा थियौँ । मेरी छोरी जन्मिएको पाँच दिन मात्रै भएको थियो । बिहानीपख त प्रहरीले तीनतिरबाट घेरा हालिसकेछ । केही तल रहेकी सुत्केरी ओनसरी साथीहरूसँगै जंगलतिर भाग्नुभयो । महरा सर र म घेरामा पर्‍यौँ । हामी ओढारमा थियौँ । तत्काल सल्लाह गरेर निचोड निकाल्यौँ, पहिले म निस्किने र फायर गर्ने अनि महरा सर निस्किने । तल झरेर कासन गरेँ, सबै मतिर केन्द्रित भए । फायर गरेँ । त्यहीवेला महरा सर ओडारबाट निस्केर ओरालो झर्नुभयो । म पनि पछिपछि लागेँ । तर, केही तल पुगेपछि उहाँ त वनतरुल खनेको खाल्डोतिर देखाउँदै ‘मत यहीँ बस्छु’ भन्न थाल्नुभयो । तर, मैले फायर गर्दै उहाँलाई अगाडि बढाएर बचाएँ । मेसिनगनबाट फायर गरेको थिएँ ।

शान्ति प्रक्रियापछि राजनीतिक यात्रा
घटनाक्रमले सैन्य कमान्डरको जिम्मेवारीसम्म पुर्‍याए पनि म आफूलाई संगठकको रूपमा मूल्यांकन गर्छु । विशेषतः जनयुद्धपछि मैले यो जिम्मेवारी पूर्ण रूपमा पाएँ । शान्ति प्रक्रियापछि वार्ताटोली आउनुभन्दा पहिल्यै काठमाडौं आएर मैले सबैसँग वार्ता र भेटघाट गरेँ । अध्यक्ष प्रचण्ड र बाबुरामजी बालुवाटार बैठकमा आइपुग्दा म तेस्रो व्यक्ति थिएँ, वार्तामा ।

त्यसपछि राजनीतिमा मेरो उपस्थिति सधैँ सक्रिय रहँदै आएको छ । शान्ति प्रक्रियापछि पार्टीको सचिवालय, स्थायी समिति वा हेडक्वार्टरमा म लगातार रहेकै छु । हटौँडा महाधिवेशनपछिको विराटनगर राष्ट्रिय सम्मेलनपछि निर्वाचित सचिवका रूपमा काम गरेँ ।

शान्ति प्रक्रियापछिकाका तीन निर्वाचनमध्ये ०६४ मा ललितपुर–१ बाट जितेँ, तर ०७० मा मोरङबाट हारेँ । अहिले रोल्पाबाटै जितेको छु ।

०६७ मा शान्तिमन्त्री, ०६८मा अर्थमन्त्री बनेँ । १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा धेरै अप्ठ्यारा पैदा भए । पूर्ण बजेट ल्याउन पाइनँ । दुईपटक पूरक बजेट ल्याएँ । संक्रमणकालको जटिल अवस्थामा पनि कामलाई रणनीतिक रूपमा अगाडि बढाउन पहल गरेँ ।

वैदेशिक लगानी तथा अनुदानलाई एकद्वार प्रणालीअन्तर्गत सरकारी च्यालनबाट लिएर आउने कोसिस गरेँ । वैदेशिक ऋण विश्व बैंक र एसियाली विकास बैंकबाट मात्रै लिइरहेको अवस्था थियो । तर, म अर्थमन्त्री हुँदा चीन, युरोपियन युनियन, जापानलगायतसँग पनि ऋण जुटाउने पहल भयो । २१ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापन र बजेट व्यवस्था गरेँ । पुरानै बजेटको सीमामा रहेर काठमाडौंका सडक विस्तारका लागि रकम निकालेँ ।

शान्ति प्रक्रियाका लागि आवश्यक करिब ५ अर्ब पुरानै बजेटबाट व्यवस्था गरेँ । विदेशीहरूले अनुदान दिन्छौँ भन्दा पनि अस्वीकार गरिदिएको हो । त्यतिखेर अनुदान वा सहयोग लिएको भए उनीहरूले सधैँ भन्ने बाटो पाउँथे । स्वेच्छिक अवकाशमा गएका पिएलएलाई आफ्नै बजेटबाट रकम उपलब्ध गरायौँ ।

काम गर्ने कर्मचारीलाई इन्सेन्टिभको व्यवस्था पनि आफ्नै अर्थमन्त्रीकालमा गरिदिएँ । ट्राफिक प्रहरी, भन्सार र किताबखानामा काम गर्ने कर्मचारीलाई इन्सेन्टिभको व्यवस्था गरिदिँदा अनियमितता कम भयो । सबै कर्मचारी काममा उत्साहित भए । सेवाग्राहीसँग बार्गेनिङ हुँदै आएको परिपाटी निरुत्साहित भयो । बजेट ल्याउन नपाउँदा पनि त्यो वर्ष २२ प्रतिशतभन्दा बढी राजस्व वृद्धि भयो ।

इन्डियन एक्जिम बैंकबाट आएको रकमबाट दाङको घोराहीदेखि रोल्पाको घर्तीगाउँसम्म ९१ किलोमिटर पिच गर्ने योजना बनाएँ । यो मेरो गौरवको योजना थियो । तर, मैले अर्थ मन्त्रालय छाडेपछि योजना घोराहीदेखि होलेरीसम्म बनाइयो । तर, घर्तीगाउँ र थवाङसम्म चौडा गर्ने काम भइरहेको छ । आगामी ५ वर्षे कार्यकालमा पिच गर्ने प्रतिबद्धता राख्छु । रोल्पा, रुपन्देही, प्युठान, दाङलगायत जिल्लामा यीबाहेक धेरै सडकलगायत विकासका कार्यक्रम बहुवर्षीय योजनामा राखेँ, काम भइरहेका छन् ।

राजनीति जालको डोरीजस्तै
राजनीति सेवा गर्ने माध्यम हो । डाक्टर, इन्जिनियर, किसान, मजदुर व्यवस्थापक, उद्यमी, व्यवसायी भएर समाज सेवा गर्न सकिन्छ । तर, सबैको नेतृत्व गर्ने राज्यको नीति, राजनीतिले तय गर्छ । नीति सुधार हुँदा सबै चिज सुधार हुन्छ । राजनीतिमा विकृति पनि छन्, बेठीक पनि छन् । जनताको राजनीतिलाई सुधार गर्न जनताकै छोराछोरी, इमानदार र निश्चित मर्यादामा बस्ने मान्छे राजनीतिमा आउन जरुरी छ । नयाँ युवाहरू सबै राजनीतिमा आउनुपर्छ भन्ने होइन, तर राजनीति बुझ्नुपर्छ । राजनीतिले व्यापार व्यवसायमा के असर गर्छ, देशको राजनीति शिक्षामा कसरी चल्छ, राजनीतिले परराष्ट्रमा के गर्छ भन्नेजस्ता विषय युवाले बुझ्नैपर्छ । राजनीति जालको डोरीजस्तै हो । डोरी ठीक व्यक्तिको हातमा परे, जाल हातमा हुन्छ, माछा पर्छ, होइन भने डोरी चुँडिने, जाल अन्त जाने खतरा हुन्छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

२४ घण्टामा वर्षमान पुनमाथि दोस्रो आक्रमण : प्रहरीले गर्‍यो जवाफी फायरिङ, तीन युवक पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वर्षमान पुन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!