बाङ्डुङ सम्मेलनमा अल्पविकसित देशले भोग्नुपरेका साझा समस्या उठाउने

19 April, 2015 00:33 | मुख्य समाचार , राजनीति | comments | 12000 Views
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे

एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौं वार्षिकोत्सवको मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार इन्डोनेसियाको जाकर्तातर्फ प्रस्थान गर्नुभयो ।

“विश्व शान्ति तथा समृद्धि प्रबद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण” भन्ने नाराका साथ सो सम्मेलन भोलि वैशाख ६ गतेदेखि ११ गतेसम्म इन्डोनेसियाको बाङ्डुङ तथा जाकर्ता सहरमा आयोजना हुँदैछ । यसअघि सोही सम्मेलनको वरिष्ठ सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी शुक्रबार त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।

नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री सुशील कोइराला अगामी वैशाख ७ गते सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । नास्पको दशौं वार्षिकोत्सवको अवसरमा आयोजना हुने बैठक जाकर्ता सहर तथा ६०औँ वार्षिकोत्सव बाङडुङ सहरमा आयोजना हुने कार्यक्रम रहेको छ । वरिष्ठ सरकारी अधिकृत, मन्त्रिस्तरीय र राष्ट्राध्यक्ष तथा सरकार प्रमुख गरी तीन तहमा सम्मेलनका क्रममा बैठक आयोजना हुने कार्यक्रम रहेको पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलन अन्तर्गत सरकारी वरिष्ठ अधिकारीहरूको बैठक भोलि वैशाख ६ गते जाकर्ता सहरमा हुनेछ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव बैरागीले भाग लिनुहुनेछ । वरिष्ठ सरकारी अधिकृतले उठान गरेका दस्तावेजलाई (एजेन्डा) वैशाख ७ गते बस्ने मन्त्रीस्तरीय बैठकमा प्रस्तुत गरिने, मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेका दस्तावेजलाई राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको ९ र १० गते आयोजना हुने बैठकमा प्रस्तुत गरिने कार्यक्रम रहेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

मन्त्री पाण्डेलाई शिष्टाचार महापाल अर्जुनकान्त मैनालीलगायत मन्त्रालयका वरिष्ठ अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा बिदाई गर्नुभएको थियो ।

एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहने छ । एसियाली तथा अफ्रिकी मुलुकबीचका साझेदारीलाई अझ दिगो एवम् बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् ।

सम्मेलनका बारेमा परराष्ट्र मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ती दुवै सम्मेलनले दक्षिण–दक्षिण सहयोग सबलीकरण, शान्ति समृद्धि तथा यस क्षेत्रको दिगो आर्थिक विकासमा जोड दिने जानकारी दिनुभयो ।

उहाँले एसियाली–अफ्रिकी मुलुकका बीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको प्रतिबद्धता रहेकाले यसका लागि आवश्यक पर्ने सहयोगका लागि सम्मेलनमा आग्रह गरिने जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले सोही प्रतिबद्धताअनुरूप अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूका बारेमा नेपालले धारणा राख्ने, अतिविकसित देश एवम् भूपरिवेष्ठित देशले भोग्नुपरेका समस्याका बारेमा पनि सम्मेलनमा नेपालले भनाइ प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले सन् १९५५ मा सम्पन्न भएको वाङडुङ सम्मेलनले पारित गरेका घोषणालाई नेपालले अवलम्बन गरेको भन्दै एतिहासिक बाङ्डुङ सम्मेलन नेपालका लागि पनि ऐतिहासिक रहेको बताउनुभयो । सो सम्मेलनमा तत्कालीन राज महेन्द्र, परराष्ट्र अड्डाका प्रमुख शोभाजङ्ग थापा, प्रा यदुनाथ खनाल, नरेशमान सिंह र पद्मबहादुर खत्रीले भाग लिनुभएको थियो । ।

एसियाली–अफ्रिकी सम्मेलनले खासगरी तीन प्रमुख दस्तावेज–बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको छ ।

मन्त्री पाण्डेले शान्ति र समृद्धिबिना दिगो आर्थिक विकासको असम्भव हुन्छ यही कुरालाई हामी सम्मेलनमा विभिन्न कोणबाट राख्छौँ भन्नुभयो । “अहिलेको बदलिँदो विश्वमा शान्ति र समृद्धिका लागि नै दक्षिण–दक्षिणबीचको सहयोग र सहकार्य जरुरी रहेको हो” उहाँले भन्नुभयो ।

एसियाली अफ्रिकी देशहरूको भौगोलिक ऐक्यबद्धता, आफ्नो अखण्डता र स्वाधीनता सुदृढ तथा परस्पर सहयोगबाट शान्ति र समृद्धिको पथमा अग्रसर हुन चाहने एसियाली अफ्रिकी देशहरू बर्मा (म्यानमार), सिलोन (श्रीलङ्का), भारत, इन्डोनेसिया र पाकिस्तान गरी पाँच देशले संयुक्त रूपमा सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म इन्डोनेसियाको बाङ्डुङमा सम्मेलन आह्वान गरेका थिए । सो सम्मेलनले नै दसबुँदे घोषणापत्र जारी गरेको थियो । यसबाट नै असंलग्न आन्दोलनको सुरुवात भएको थियो ।

बाङ्डुङ सम्मेलन आयोजना भएको ५० वर्षपछि इन्डोनेसियाले नै एसियाली–अफ्रिकी सम्मेलनको स्वर्णमहोत्सव स्मृतिसभा आयोजना गरेको थियो । सन् २००५ को अप्रिल २२–२४ मा आयोजना भएको उक्त स्मृतिसभाले ‘नयाँ एसियाली अफ्रिकी रणनीतिक साझेदारी’ (नास्प) सिर्जना गरेको थियो ।

मन्त्री पाण्डेले भन्नुभयो, “संसारको इतिहासलाई बुझ्नुपर्छ । एउटा जमाना कस्तो थियो भने उत्तर चाहिँ विकसित हुने दक्षिण गरिबहरू रहने । अनि उत्तरले दक्षिणलाई सहयोग गरेमा उसका चाहना पूरा गरिदिने ।”

दक्षिणतिरकाले हात थापेर आर्थिक तथा सामाजिक विकास गर्नुपर्छ भन्ने एउटा कालखण्ड रह्यो तर संसार गतिशील छ, सधैँभरि त्यो अवस्था रहँदैन मन्त्री पाण्डेले उल्लेख गर्नुभयो । दक्षिण–दक्षिणबीचको सहयोग एउटा केन्द्रबिन्दुजस्तो भएको छ मन्त्री पाण्डेले भन्नुभयो । मन्त्री पाण्डेले संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता, पञ्चशीलताको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधार नेपालको परराष्ट्र नीति हो भन्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More