माथेमा आयोगको भावना र मर्म अनुसार विधेयक ल्याउन काँग्रेसको आग्रह

18 July, 2018 20:51 | राजनीति | comments | 7500 Views

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माथेमा आयोगको भावना र मर्म अनुसार जारी गरिएको चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै विधेयक नै ल्याउन सरकारलाई आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले सो आग्रह गरेको हो ।

adsads

बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोही अनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो । काँग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ ।

बैठकमा सभापति देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा देखिएको विवाद तत्काल मिलाउन निर्देशन दिनुभएको थियो । साथै पार्टीको विधान मस्यौदा समिति बनाउने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको बताउँदै उहाँले भन्नुभयो, “सम्भवतः भोलि नै ९ देखि ११ सदस्यीय विधान मस्यौदा समिति गठन हुनेछ ।”

काँग्रेसको गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचना मुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो ।

पार्टीका विभिन्न तहबाट राय-सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना काँग्रेसको महासमिति बैठक बस्ने तयारी छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता शर्मा, मुख्य सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाललगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More