रिङरोड बन्नासाथ भत्काइने : ११ महिनामा २२९ दुर्घटना, १२ को मृत्यु

24 June, 2018 12:18 | पत्रपत्रिका | comments | 17700 Views

– १० वर्ष पुरानो डिजाइनले सडक अस्तव्यस्त

-११ महिनामा २२९ दुर्घटना, १२ को मृत्यु

चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ । दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् ।

adsads
दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १०९ घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनायो ।

सडकमा ट्राफिक लाइट, लेन लाइन, जेब्रा क्रसिङ, आकाशे पुल तथा वैज्ञानिक फुटपाथ नहुँदा दुर्घटना बढेको सातदोबाटो ट्राफिक वृत्तका प्रमुख सीताराम हाछेथू बताउँछन् । ‘सडकको दुवैतर्फ आंशिक रूपमा गाडी चलेको ११ महिनाजति भयो । यस अवधिमा २ सय २९ दुर्घटना भए । १२ जनाले त ज्यानै गुमाए,’ हाछेथूले भने, ‘सडकमा लेन रेखा छैन । सडक बत्ती छैन । जेब्राक्रसिङ छैन । न ट्राफिक लाइट राखिएका छन् । सडक पूर्ण रूपमा सञ्चालन नहुँदै यति धेरै दुर्घटना हुनुको कारण यही हो ।’

प्रहरी वृत्त सातदोबाटोका अनुसार जेब्राक्रसिङ, लेन सिग्नल र ट्राफिक सिग्नल नहुँदा दोषीलाई कारबाही गर्नसमेत गाह्रो भएको छ । वृत्त प्रमुख हाछेथूले भने, ‘सडक त बन्यो । ट्राफिक जाम पनि हट्यो । तर, दुर्घटना बढ्यो । दोषी पहिचान गर्न लेन सिग्नल चाहियो । सिग्नल नै नभएपछि कसरी कारबाही गर्ने ? दोषी कसरी प्रमाणित गर्ने ? सडक बनाएपछि आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्छ ।’

‘ड्रइङ एन्ड डिजाइन’मै त्रुटि

पाँच अर्ब रुपैयाँ चिनियाँ सहयोगमा निर्माणाधीन कोटेश्वर–कलंकी सडकमा ९५ प्रतिशत काम सकिएको छ । ४ अर्ब ३२ करोड ५५ लाख ९० हजार खर्च भइसकेको छ । ८.९ किमि सडक कालोपत्रे भइसक्दा सडक चोकमा ट्राफिक लाइट कतै पनि राखिएको छैन । १०.३९ किमि लम्बाइको सडकमा जम्मा तीनवटा मात्रै ‘अभोरहेड ब्रिज’ बनाइएका छन् । जब कि यो सडकमा ५ सय मिटरको फरकमा एक ओभरहेड ब्रिज आवश्यक पर्छ । सडकमा वैज्ञानिक डिभाइडर बनाइएको छैन । फुटपाथको अवस्था पनि त्यस्तै छ । सडकबत्तीको कल्पना नगरिनु अर्को आश्चर्यको पाटो हो । सडकमा साइड ट्र्याकको व्यवस्था छैन । न ट्राफिक आइल्यान्डकै कल्पना गरिएको छ ।

सडक विभाग वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले कोटेश्वर–कलंकी सडकको ‘ड्रइङ एन्ड डिजाइन’मै केही त्रुटि रहेको बताए । उनले भने, ‘सडकमा ट्राफिक लाइट, ट्राफिक आइल्यान्ड, सडकबत्तीलगायतका आधारभूत पक्ष नक्सामै छैन । नक्सा केही नमिलेकै हो । निर्माणका लागि सम्झौता गर्दा नै सोच्नुपथ्र्यो । त्यस वेलाका विभाग प्रमुख, महाशाखा प्रमुख मात्र होइन, मन्त्रालयका जिम्मेवार व्यक्तिले समेत त्यतातिर ध्यान नदिएको देखिन्छ ।’

काठमाडौं चक्रपथ सडक सुधार आयोजनाका इन्जिनियर निरञ्जन अर्यालले सडकको डिजाइन सन् २००८ तिरै गरिएकाले यस्तो त्रुटि भएको बताए । ‘सडकको ड्रइङ एन्ड डिजाइन चिनियाँ प्राविधिकबाटै भयो । उनीहरूले त्यस वेला ‘एक्सप्रेस हाइवे’को कन्सेप्टबाट सडकको प्लानिङ गरे । त्यो पनि सन् २००८ तिरै । सडक त्यहीअनुसार बन्यो,’ अर्याल भन्छन्, ‘तर, यहाँको आवश्यकता एक्सप्रेस हाइवेभन्दा पनि सिटी हाइवे रहेछ । जुन अहिले आएर थाहा भयो । त्यही भएर सडकमा केही नपुगेजस्तो देखिएको छ ।’

बनेको सडक फेरि भत्काइने

सडकको नक्सामै सडकबत्ती, ट्राफिक लाइट, पर्याप्त ओभर हेड ब्रिज नभएपछि चक्रपथ सडक सुधार आयोजना आफैँले सडकमा आवश्यकताअनुसारका संरचना थप्ने योजना बनाएको छ । आयोजनाका अनुसार सडकको काटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, एकान्तकुना र बल्खु चोकमा ट्राफिक लाइट निर्माण गरिनेछ ।

त्यस्तै, प्रत्येक पाँच सय मिटरको फरकमा निर्माण गरिने ‘ओभर हेड ब्रिज’ पनि आयोजनाले नै गर्नेछ । त्यसबाहेक सडकबत्तीका लागि आवश्यक पोल गाड्ने काम पनि आयोजनाले नै गर्नेछ । यसका लागि उक्त क्षेत्रहरूमा कालोपत्रे गरिएको सडक भत्काउनुपर्छ ।

आयोजनाका इन्जिनियर अर्यालले भने, ‘उनीहरूका नक्सामा तीनवटा मात्रै आकाशे पुल निर्माण हुने भनिएको छ । त्यो बनाएर पनि सके । तर, अहिले त्यति पुलले नपुग्ने देखियो । यसका लागि प्रत्येक ५ सय मिटरको फरकमा हामी नै आकाशे पुल बनाउँछौँ । यसका लागि करिब २२ करोड विनियोजन पनि गरिएको छ । उनीहरूको जिम्माको काम सकेपछि मात्रै हामी आफ्नो काम सुरु गर्छौं । ट्राफिक लाइट निर्माणका लागि भने अहिलेसम्म बजेट छैन ।’

सडक हस्तान्तरणपछि मात्रै आकाशे पुल र ट्राफिक लाइट निर्माण

चिनियाँ ठेकेदार कम्पनीले आउने १५ डिसेम्बरभित्रै सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ । यो अवधिमा ठेकेदार कम्पनीले सडकमा पुनः एक पत्र कालोपत्रे थप्नेछ । त्यसपछि जेब्रा क्रसिङ र लेन व्यवस्थापनका लागि रेखा निर्माण गरिनेछ । यो काम भने चिनियाँ ठेकेदार कम्पनी आफैँले गर्नेछ । त्यसपछि, चक्रपथ सुधार आयोजनाले काम सुरु गर्छ । इन्जिनियर अर्यालले भने, ‘हाम्रो जिम्मेवारीको कामका लागि हामीले नै कन्सल्टेन्ट हायर गर्छौँ । उसले सडक रिअडिट गर्छ । उसैको प्रतिवेदनका आधारमा रोड सेफ्टीका काम हुन्छन् । त्यो भनेको ट्राफिक लाइट, आकाशे पुल निर्माणलगायतको काम हो ।’

ट्राफिक लाइट र ओभरहेड ब्रिज बन्न दुई वर्ष लाग्ने

चिनियाँ सरकारले नेपाललाई सडक हस्तान्तरण गरेपछि थप निर्माण प्रक्रिया सुरु हुन्छ । आकाशे पुलका लागि २२ करोड विनियोजनबाहेक अरू बजेट कति दिने भन्ने पनि स्पष्ट छैन । कन्सल्टेन्ट टोली गठन गरेर सडक अध्ययन गरेपछि प्रतिवेदनका आधारमा सडक विभागले सरकारसँग आवश्यक बजेट माग्छ ।

बजेट विनियोजनपछि टेन्डर आह्वान हुन्छ । सार्वजनिक खरिद ऐनअनुसार जाँदा टेन्डरमै कम्तीमा ९० दिन बित्छ । निर्माण कम्पनी छनोट गर्न थप केही दिन लाग्छ । समग्र हिसाब गर्दा काम सुरु हुन नै कम्तीमा १० महिना लाग्छ । काम सकिन कम्तीमा अरू १८ महिना लाग्ने अनुमान छ । त्यसैले, चीनले नेपाललाई हस्तान्तरण गरेपछि ट्राफिक लाइट, सडकबत्ती, ओभर हेड ब्रिज, ट्राफिक आइल्यान्डलगायत संरचना तयार गर्न कम्तीमा २ वर्ष ४ महिना लाग्नेछ ।

चाहिएको सिटी वे, बन्यो एक्सप्रेस वे

चक्रपथ ‘सिटी वे’ हो । जहाँ सवारीसाधन प्रतिघन्टा २५ देखि ३० किमिका दरले गुड्छन् । तर, कोटेश्वर–कलंकी सडक निर्माण ‘एक्सप्रेस हाइवे’का रूपमा बनाइयो । जहाँ प्रतिघन्टा ५० किमिका दरले सवारीसाधन गुड्न सक्छन् । त्रुटी यहीँ छ । आवश्कताअनुसार ओभर हेड ब्रिज, जेब्रा क्रस, ट्राफिक लाइट, सडक लाइट, हरित पेटी, डिभाइडर र फुटपाथ नबनाइनु यही कारण हो । आयोजनाका इन्जिनियर अर्याल यो त्रुटी स्विकार्छन् ।

जसको यसरी ज्यान गयो

–सुष्मा लामा ग्वार्कोस्थित एक डान्स वारमा काम गर्थिन् । रातको करिब ११ बजे बार बन्द भयो । उनी घर फर्किन सडकमा उत्रिइन् ।सडक पार गर्नु पथ्र्यो । सडकमा गाडी पनि पातलै थिए । तर, गति तिब्र थियो । दायाँ–बायाँ हेर्दै उनी सडक पार गर्न अघि बढिन् । कोटेश्वर तर्फबाट हुँकिएर आएको टिपरले नियन्त्रण गुमायो, सुष्मालाई ठक्कर थियो । उनको घटनास्थलमै ज्यान गयो ।

–सरला मिश्र आफन्तको बा ६७ प ४०८३ नं. को मोटरसाइलको पछाडि बसेर एकान्तकुनास्थित सडक पार गर्दै थिइन् । त्यहिबेला बिपरित दिशाबाट बा ६ ख २७८० को ट्रक हुत्तिदै आयो । अत्तिएका मोटर साइकल चालकले नियन्त्रण गुमाए । मोटरसाइकल पछाडि बसेकी मिश्र उछिट्टिएर ट्रकको चक्कामुनी पुगिन् । ट्रक्ले किच्दा उनको घटनास्थलमै ज्यान गयो ।

१२ को ज्यान गयो :

विष्णु कार्की, विशाल शाही, लोकप्रसाद राई, गणेश तिवारी, सन्तोष चौधरी, सुष्मा लामा, चैत्यमान सिंह, डर्नामगल शेर्पा, सरला मिश्र, दानवीर दोङ, विक्रम फौजदार र अर्जुन खड्का

विनाअध्ययन प्रस्ताव स्वीकृत गर्नु नै गल्ती
सञ्जय श्रेष्ठ
वैदेशिक सहायता महाशाखा प्रमुख,
सडक विभाग

कोटेश्वर–कलंकी सडक चीन सरकारले बनाइदिने विषय उठ्यो । आवश्यक फिजिबिलिटी अध्ययन उनीहरूले गरे । सडकको डिपिआर पनि उनीहरूले नै बनाए । यो सन् २००८ तिरकै विषय हो । अनि सडक निर्माणका लागि दुई देशबीच १८ डिसेम्बर २०१२ मा सम्झौता नै भयो । तर, सडकको नक्सा कस्तो बनेको छ, नेपाली परिवेश सुहाउँदो छ कि छैन भन्नेबारे अध्ययन नै भएन । सित्तैमा बन्ने भनेपछि त्यसवेलाका जिम्मेवार अधिकारीले चिनियाँ पक्षको प्रस्ताव सजिलै स्वीकृत गरिदिए । त्यही गल्तीले अहिले समस्या आयो ।

तयार हुनासाथ सडक भत्काउनुपर्ने मुख्य कारण

पुसमा चीनले हस्तान्तरण गर्ने, लगत्तै ठाउँठाउँमा भत्काउने योजना

१. ट्राफिक लाइटको परिकल्पना थिएन

८.९ किलोमिटर सडकमा ट्राफिक लाइट राखिएको छैन । निर्माणाधीन भएकाले अहिले नराखिएको होइन, वास्तवमा डिजाइनमा नै ट्राफिक लाइटको परिकल्पना छैन । खासमा यो एक्सप्रेस हाइवेका रूपमा डिजाइन गरिएकाले ट्राफिक लाइटको परिकल्पना गरिएन । जब कि यो सहरभित्रको रिङरोड हो ।

अब ठाउँठाउँमा ट्राफिक लाइट राख्न बनिसकेको सडक भत्काउने सडक विभागको तयारी छ । तर, यो काम पनि तत्काल सुरु हुनेवाला छैन । आगामी डिसेम्बरमा मात्रै चिनियाँ पक्षले सडक सरकारलाई जिम्मा दिनेछ । त्यसपछि भत्काउने काम सुरु गर्ने सडक विभागको योजना छ ।

२. डिजाइनमा सडक बत्तीको व्यवस्था थिएन

कोटेश्वरदेखि कलंकीसम्मको यो सडकमा चिनियाँ अनुदानको पाँच अर्ब रुपैयाँ लगभग खर्च भइसकेको छ । तर, सडकको दायाँ–बायाँ पैदलयात्रीलाई कतै पनि सडक बत्तीको परिकल्पनासमेत गरिएको छैन । अब सडक बत्ती राख्न पूरै ८.९ किलोमिटर सडकको दायाँबायाँ भत्काउनुपर्नेछ ।

३. करिब १५ ठाउँमा आकाशे पुल थपिने भए

आठ लेनको यो सडकमा उच्च गतिमा गाडी चल्ने र डिभाइडर पनि भएकाले पैदलयात्रीले बाटो काट्न सक्दैनन् । जेब्राक्रस कतै पनि छैन । अहिले बनेको सडकमा एक लेयर पिच थप्न बाँकी रहेकाले जेब्राक्रस पेन्ट नगरिएको सडक विभागको भनाइ छ । तर, थप पिच हुनुअगाडि महिनौँसम्म प्रयोग हुने बाटोमा दुई–चार बाल्टी पेन्टमा बजेट खर्च गरेर मानव जीवन बचाउनतर्फ सरकार किन लागेको छैन भन्ने प्रश्नको जवाफ छैन । यति लामो सडकमा जम्मा तीनवटा आकाशे पुल छन् । त्यसैले नियम मान्ने हो भने बल्खुको यात्री बाटो काट्न एकान्तकुना पुग्नुपर्छ । सातदोबाटोको यात्री ग्वार्को पुग्नुपर्छ, बालकुमारीको यात्री कोटेश्वर पुग्नुपर्छ । बीचमा कतै आकाशे पुल छैन ।

अब हरेक पाँच सय मिटरमा आकाशे पुल राख्ने सडक विभागको योजना छ । यसो गर्दा कोटेश्वरदेखि कलंकीसम्म थप करिब १५ पुल बनाउनुपर्नेछ । यसो गर्दा १५ ठाउँमा नै सडक भत्काउनुपर्छ ।

४. डिभाइडरमा फूल-बिरुवा रोपिने

मुख्य सडक र सर्भिस लेनको बीचमा अहिले पर्खालजस्तो डिभाइडर बनाइएको छ । त्यो डिभाइडरमा न मान्छे हिँड्न मिल्छ, न फूल अथवा बिरुवा रोपिएको छ । अब सडकलाई हरियाली बनाउन डिभाइडरमा राखिएका ब्लकहरू निकाल्ने तयारी छ । अहिले ब्लक राख्ने काम भइरहेको छ तर त्यसलाई रोक्ने योजना छैन । किनकि, चिनियाँ पक्षले हस्तान्तरण नगरेसम्म हस्तक्षेप गर्न नसक्ने सरकारको स्थिति छ ।

-आजको नयाँ पत्रिकाबाट जस्ताको त्यस्तै ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More