विदेशी फिल्म निर्माता विनापरमिट सगरमाथा चढेपछि…

19 May, 2017 14:20 | पत्रपत्रिका | comments | 9150 Views

विदेशी फिल्म निर्माता

अमेरिका बस्ने दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभी सगरमाथाको दोस्रो शिविर पुगेपछि समातिए

तीन हिमालको आरोहण दस्तुर

-सगरमाथा : ११ हजार डलर

-पुमरी : ५ सय डलर

-लोबुजे : २ सय ५० डलर

(मन्त्रालयबाट जरिवाना सदर भए उनले यो दस्तुरको दोब्बर रकम जरिवाना तिर्नुपर्छ)

आरोहण परमिटविना नै हिमाल चढेका दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभीलाई जरिमानासहित कारबाही गर्न पर्यटन विभागले सिफारिस गरेको छ ।

पेसाले डकुमेन्ट्री फिल्म निर्माता डेभी गत साता सगरमाथाको दोस्रो शिविरबाट पक्राउ परेका थिए । त्यसपछि उनको पासपोर्ट जफत गरी काठमाडौं पठाइएको थियो । उनले बुधबार पर्यटन विभागमा लिखित स्पष्टीकरण दिएका छन् । विभागले आरोहण दस्तुरको दोब्बर जरिमानासहित कारबाही गर्नुपर्ने सिफारिस गरी निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए ।

उनले विभागमा बुझाएको स्पष्टीकरणमा सगरमाथा आरोहणको प्रयास गर्नुअघि पुमरी (७१३८मि.) र लोबुजे (६११९मि.) हिमाल आरोहण गरिसकेको बताएका छन् । यसलाई उनले आफ्नो फेसबुक एकाउन्टमार्फत पनि पुष्टि गरेका छन् । यी तीन हिमालमध्ये सगरमाथा र पुमरीको पर्यटन विभागबाट परमिट जारी हुने गरेको छ भने लोबुजे हिमालको परमिट नेपाल पर्वतारोहण संघ (एनएमए)बाट जारी हुन्छ ।

कारबाहीको प्रावधान के छ ?
नेपालमा विनापरमिट हिमाल आरोहण गर्नु गैरकानुनी मानिन्छ । यसवेला कुनै विदेशीले विनापरमिट आरोहण गरेको पाइएमा हिमाल आरोहणमा लाग्ने दस्तुरको दोब्बर जरिवाना, ५ वर्षसम्म नेपाल आउन रोक या १० वर्षसम्म नेपालका हिमाल आरोहणमा रोक लगाउन सकिने प्रावधान छ । यसबारे अन्तिम निर्णय भने पर्यटन मन्त्रालयबाट हुने महानिर्देशक भट्टराईले जानकारी दिए ।

रहस्यमय आरोही
सगरमाथाको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृतले आधार शिविरबाटै पछ्याए पनि दोस्रो आधार शिविरमा पुगेपछि मात्र उनलाई फेला पारेका थिए । सम्पर्क अधिकृतका रूपमा खटिएका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार आधार शिविरमा कुनै पनि सहयोगीविना आवत–जावत गरिरहेका डेभीलाई देख्नासाथ शंका लागेपछि पिछा गरिएको थियो । उनले पक्राउ परेपछि र विभागमा स्पष्टीकरणका क्रममा पनि एकल रूपमा आरोहणमा आएको बताएका छन् ।

यसअघि हिमाल आरोहणको अनुभव नभएका मानिसका लागि सहयोगीविना नै हिमाल आरोहण गर्नु र सगरमाथाको दोस्रो शिविरसम्म पुग्नु असम्भवप्रायः मानिन्छ । विभागका एक अधिकारी उनको बयान शंकास्पद रहेको बताउ“छन् । नेपाली सहयोगीविना एकल रूपमा हिमाल आरोहण गर्नु प्राविधिक रूपमा असम्भव रहे पनि कसको सहयोग थियो भन्ने नखुलेको उनको भनाइ छ ।

डकुमेन्ट्री फिल्म निर्माता हुन् डेभी
४३ वर्षीय डेभी अमेरिका निवासी दक्षिण अफ्रिकी नागरिक हुन् । उनले कन्ट्रोभर्सियल इन्टरटेन्मेन्ट नामक कम्पनीबाट फिल्महरू बनाउने गरेको आफ्नो व्यक्तिगत वेबसाइटबाट उल्लेख गरेका छन् । नेपालमा विनापरमिट पक्राउ परेपछि सामाजिक सञ्जालबाट लामो स्पष्टीकरण राखेका उनले आफूलाई नेपालमा रुट परमिटको सम्बन्धमा केही थाहा नभएको बताएका छन् । तर, त्यसअघि उनले करिब ८ दिन पदयात्रा गरी सगरमाथा आधार शिविर पुगेको र पुमरी हिमाल आरोहण गरेका तस्बिरहरूसमेत सामाजिक सञ्जालमा राखी प्रचार–प्रसार गरेका थिए ।

५० भन्दा बढी आरोहीको सफल आरोहण
खराब मौसमका कारण बुधबार र बिहीबार सगरमाथा आरोहणको कुनै पनि रिपोर्ट नआएको पर्यटन विभागले जानकारी दिएको छ । यस सिजनको पहिलो आरोहण गत सोमबार भएको थियो । त्यस दिन १४ जना आरोहीले सगरमाथा चुचुरो चुमेका थिए । मंगलबार झन्डै ४० जना आरोही चुचुरोमा पुगेको विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । बुधबार र बिहीबार भने आरोहणको कुनै रिपोर्ट नआएको उनको भनाइ छ । अहिले धेरैजसो आरोही ‘क्याम्प थ्री’मा रहेका छन् ।

१ सय ७ टोलीका ८ सय ३४ सदस्य हिमालमा
जारी सिजनमा १ सय ७ टोलीका ८ सय ३४ जना आरोही विभिन्न हिमाल आरोहणका क्रममा अहिले हिमालमा छन् । पर्यटन विभागका कर्मचारी खेमप्रसाद अर्यालका अनुसार सबैभन्दा बढी ४२ टोलीका ३ सय ७५ आरोही सगरमाथामा छन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।

सगरमाथा आरोहणको विश्वमा सन्देश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More