विद्यालयलाई हेल्प नेपालले दियो ८० लाख

11 January, 2017 22:55 | जन सरोकार | comments | 4800 Views

भुकम्पले भत्काएका दुई जिल्लाका दुई विद्यालय निर्माणका लागि हेल्प नेपाल नेटवर्कले ४०/४० लाख प्रदान गरेको छ । दोलखा जिल्लाको राजकुलेश्वर आधारभूत विद्यालय र सिन्धुपाल्चोकको ठोकर्पा उच्च माविलाई उक्त रकम प्रदान गरिएको हो ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त रकमबराबरको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणपछि मह जोडीले सहयोगी संस्था नेटवर्कको प्रशंसा गरेका थिए।
‘आफैं खाउँ, आफैं रमाउँ भन्ने संस्कारको भण्डाफोर हुनुपर्छ,’ नागरिकका तर्फबाट सहयोगको काम भएकोमा खुसी व्यक्त गर्दै हरिवंश आचार्यले भने, ‘सरकार हराएको छ । भुइँचालो गएको दुई वर्ष बितिसक्दा पनि सरकारको अत्तोपत्तो छैन । सरकारलाई खोज्नुपर्ने बेला आएको छ ।’
पुनर्निर्माण प्राधिकरणका सिइओको बर्खास्तको प्रसंगलाई लिएर हरिवंशले सरकारलाई व्यंगसमेत हान्न भ्याए । ‘सरकार आफूले गर्न नसकेको कामको दोष सिईओलाई लगाएर उम्किन खोजेको छ,’ उनको व्यंग्य थियो, ‘सियो त धागोको टुप्पोमा हुने त हो। सियोलाई दोष थोपरेर लामो धागो भाग्न पाउँदैन।’
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले भने हेल्प नेपाल नेटवर्कका अलावा हाल मुसहर बस्ती बनाइरहेका कलाकार जोडी ‘धुर्मुस–सुन्तली’को प्रशंसासमेत गर्न भ्याए।
केही दिनअघि मात्र मुसहर बस्तीको शिलान्यास गर्न पुगेका श्रेष्ठले हेल्प नेपाल नेटवर्क, धुर्मुस–सुन्तलीजस्ता सहयोगी व्यक्ति तथा संघसंस्थासँग प्रतिष्पर्धा गर्न सरकारलाई चुनौति दिए। उनले धुर्मुस–सुन्तलीले लगालगी तीनवटा बस्ती निर्माण गरिसक्दा पनि सरकार अझै निदाइरहेको बताए।
हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष तथा पत्रकार रवीन्द्र मिश्रले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट्याउँदै देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको बताउँदै मह जोडी युवाहरुको प्रेरणाको स्रोत भएको भनाइ राखे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More