शृङ्खलाबद्ध बम बिस्फोट : निर्वाचन अवैध बनाउने बाहिरी षड्यन्त्र

3 December, 2017 14:57 | बिचार | comments | 31950 Views

– यादब देवकोटा –

बम पड्किइरहेका छन् । शीर्ष नेताहरुलाई लक्षित गरी बम बिस्फोट गरिएका घटनाले कुनै पनि बेला जोसुकैलाई निशाना बनाउन सकिन्छ भन्ने संकेत गरेको छ । तापनि सुरक्षा निकायले प्रभावकारी कदम चाल्न सकेको पाइँदैन । ठाउँठाउँमा बम डिस्पोज गरिएको छ । एकै दिन कैयौं ठाउँमा बिस्फोट भैरहेका छन्, तर यस विषयलाई कसैले पनि गम्भीरतापूर्वक लिएका छैनन् । आक्रमणपछि पार्टीहरुले विज्ञप्ति जारी गरेर कारबाही गर्न आव्हान गरिरहेका छन् । तर, गृहमन्त्रालय मौन छ । प्रधानमन्त्री नै बमको शिकार भैसके पनि खै सुरक्षा मजबुतीको सन्देश ?

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको केही दिन अघिदेखि विभिन्न क्षेत्रमा उम्मेदवार लक्षित बम बिस्फोटका घटनाको जिम्मेवारी आधिकारिक रुपमा कसैले लिएको छैन । सरकार र सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको माओवादीले बिस्फोट गराएको भनेर उसका कार्यकर्ता पक्राउ गरे पनि आधिकारिक रुपमा त्यसको पुष्टि भएको छैन । बम पड्काएको आरोप लागेको चन्द माओवादीले पनि मुख खोलेको छैन भने सरकारले पनि प्रमाण प्रस्तुत गर्न सकेको छैन ।

बम बिस्फोट गराउने विप्लव माओवादी नै भएको प्रहरीको दावी छ अनि सो पार्टीका शीर्ष नेताहरु भूमिगत भएको जानकारी गृह मन्त्रालयलाई छ । तापनि उसका गतिविधि रोक्न रणनीतिक अभियान चलाउन निर्देशन दिइएको छैन । यो घटनालाई पार्टीगत रुपमा नभै व्यक्तिगत रुपमा गराइएको भन्ने आशय गृहको छ । संसय यहींबाट उत्पन्न भएको छ । सरकार बम बिस्फोट गराउने समूहको पहिचान गर्न उत्सुक नहुने, बम बिस्फोट भैरहने, उम्मेदवार र पार्टीका कार्यकर्ता घाइते भैरहने अवस्थामा निर्वाचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुने स्थिति अहिले उत्पन्न भएको छ ।

अहिलेको राजनीतिक ध्रुवीकरणले राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरुलाई झस्काइरहेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकतासहितको चुनावली तालमेल र कांग्रेसको लोकतान्त्रिक गठबन्धनबीच चलेको तीब्र प्रतिस्पर्धाकाबीच अन्तर्राष्ट्रिय शक्तिहरुले खेल्न खोजेको विश्लेषण पनि विश्लेषकहरुको छ । मुलुक राजनीतिक स्थिरतातर्फ अग्रसर हुने संकेत गरिरहेकै बेला निर्वाचनको माहोल बिथोल्ने गरी भएको बिस्फोटले मतदाता त्रस्त छन् । स्थानीय निकायको निर्वाचनको तुलनामा झण्डै १० प्रतिशत मत कम खस्यो पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा । मंसिर २१ गते हुने निर्वाचनमाा योभन्दा कम मत खस्न आशंका गर्न थालिएको छ । यदि मतदान अपेक्षाकृत कम भयो भने त्यसले दिने नतिजा सर्वमान्य होला कि नहोला ? यो प्रश्नको उत्तर खोज्छ बम बिस्फोटनका घटनालाई जोडेर गम्भीर हुनु आवश्यक छ ।

५० प्रतिशतभन्दा कम मतदान भयो भने त्यसको वैधानिकतामा प्रश्न उठाउने तयारी अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको छ । नेपाललाई निरन्तर अस्थिरताको जञ्जीरमा जकडिरहने र आफ्नो स्वार्थ पूरा गर्न चाहने शक्तिहरुको गम्भीर षड्यन्त्र भैरहेको छ । शुक्रबार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा दुई भारतीय नागरिकलाई ठूलो मात्रामा बम बनाउने सामग्रीसहित पक्राउ गरिएको घटनाले यसलाई पुष्टि गर्न सकिन्छ । त्यो घटनापछि निर्वाचनका दिन ठूलै धमाका मच्चाउने योजना बनिरहेको बुझ्न कठिन छैन ।

अहिले पड्केको बम देशभित्रबाट हैन बाहिरबाट आएको हो । बमको धमाकाबीच भएको चुनाव कसरी शान्तिपूर्ण हुन्छ भन्ने प्रश्न उठाउँदै कांग्रेस, माओवादी र एमालेलाई आपसमा भिडाएर नेपाललाई असफल राष्ट्र पार्ने खेल चलिरहेको छ

नेपालको शान्ति, स्थिरता र समृद्धि कतिपय मुलुकका लागि सैह्य विषय बनेको छैन । संविधान जारी नगर्न दिइएको उर्दी अस्वीकार गरेर नेताहरुले जसरी संविधान जारी गरे त्यसको परिणाम नाकाबन्दीका रुपमा निस्कियो । मधेशवादीहरुको माग पूरा नगरी निर्वाचन नगराउनु भन्ने उर्दी पनि असफल भयो । नेताहरुले बेलाबेलामा बाहिरी शक्तिको दवाव र निर्देशन विपरीत मुलुकको हितमा काम गर्दैआएका छन् । निर्वाचन पनि त्यसैको एउटा कडी हो । माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न भएन भने संविधान असफल हुन्छ र बाहिरी शक्तिले त्यही चाहेको हो ।

उनीहरुको चाहना विपरीत संविधान जारी हुनु र संविधान कार्यान्वयनका लागि निर्वाचनको अन्तिम चरणमा मुलुक प्रवेश गर्दैगर्दा यसलाई बिथोल्न नसके पनि असफल बनाउने र विश्व मञ्चमा नेपालको निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने गम्भीर षड्यन्त्र यसभित्र लुकेको छ । यति गम्भीर विषय कसैले नबुझेको पक्कै हैन, तर विप्लवलाई दोष थुपारेर अघोषित रुपमा बाहिरी षड्यन्त्रलाई मलजल गर्ने काम त कतै भैरहेको छैन भन्ने प्रश्न उठेको छ ।

बिस्फोटकाबीच भएका निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले मान्यता नदिएका थुप्रै उदाहरण छन् । नेपालको निर्वाचनलाई पनि त्यस्तै बनाउन खोजिएको हो । बमको धमाकाकाबीच भएको चुनाव कसरी शान्तिपूर्ण हुन्छ भन्दै मान्यता नदिने र मुलुकलाई असफल बनाउने खेल यहाँ भैरहेको छैन भन्न सकिने स्पष्ट आधार छैन । यदि भोलि कुनै पनि पक्षले बहुमत ल्याएमा अर्कोलाई उचालेर अशान्तिपूर्ण निर्वाचन मानिंदैन, जित्नेले नै बम पड्काएको भनेर उकास्दै सडकमा उत्रन उक्साउँदैनन् भन्न सकिन्न ।

राजनीतिक विश्लेषक तथा पूर्व महान्यायाधीवक्ता युवराज संग्रौलाले यसै सन्दर्भमा गर्नुभएको विश्लेषण यस्तो छ– “अहिले पड्केको बम देशभित्रबाट हैन बाहिरबाट आएको हो । बमको धमाकाबीच भएको चुनाव कसरी शान्तिपूर्ण हुन्छ भन्ने प्रश्न उठाउँदै कांग्रेस, माओवादी र एमालेलाई आपसमा भिडाएर नेपाललाई असफल राष्ट्र पार्ने खेल चलिरहेको छ । जसरी संविधान ‘नबनाउ नबनाउ’ भन्दाभन्दा उछिट्टिएर बन्यो निर्वाचन पनि ‘नगर नगर’ भन्दाभन्दै हुन गैरहेको छ । यो सब नेपाललाई अस्थिर बनाउने खेल हो ।”

हुन पनि, बम पड्काउनेको पहिचान नहुनु, जसले पड्काएको भनिएको छ उसले अस्वीकार गर्नु, सरकारले गिरफ्तार गर्न नसक्नु जस्ता पक्षहरुले आम जनतालाई गम्भीर बनाएको छ । उम्मेदवार लक्षित बमले मतदातालाई त्रस्त बनाएको छ । पहिलो चरणको निर्वाचनमा यो दृश्य देखिएकै हो । अब मतदानमा कम सहभागिता गराएर अशान्त निर्वाचनको हौवा दिंदै मुलुक असफल पार्ने खेल जुन चलिरहेको छ त्यसलाई चिर्न सबै एकजुट हुनुको विकल्प छैन ।

हुन त स्थानीय तह निर्वाचन र पहिलो चरणको निर्वाचनमा चन्द माओवादीले बिस्फोट गराएको जिम्मेवारी लिएको हो । तर, अहिले परिस्थिति अर्कै बन्दै गएको छ । बम बिस्फोट गराएको जिम्मा कसैले नलिने तर, बिस्फोट भैरहने अवस्था सिर्जना भएको छ । यो अवस्थाले मुलुकमा अस्थिरता अरु लम्बिने मात्रै हैन दुर्घटना नै हुनसक्ने भय मडारिएको छ ।

विस्तृत शान्ति सम्झौताको दश वर्ष : के परिवर्तन भयो ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More