सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउने काम रोक्न सर्वोच्चको आदेश

25 April, 2018 21:34 | जन सरोकार | comments | 57600 Views

सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्र प्रवेश स्थलमा निर्माणाधीन रहेको क्रिस्टल भवन निर्माण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विश्व सम्पदा सूचीमा परेको क्षेत्रमा पुरातात्विक महत्वको डिजाइनबिनै भवन निर्माण कार्य भएको भन्दै भवन निर्माण हाल यथास्थितिमा रोक्न भनेको हो ।

adsads

विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा व्यापारिक भवन निर्माण गर्दा प्राचीन स्मारक ऐन पालना हुनुपर्ने र सोही नमूना अनुसार हुनुपर्नेमा उक्त भवन नदेखिएको जिकिर गरिएको छ । अदालतको यो आदेशपछि पुरातात्विक मापदण्ड पालना नभएका भवनहरु उक्त क्षेत्रमा निर्माण गर्न पाइने छैन ।

जनहित संरक्षण मञ्चका तर्फबाट प्रकाशमणि शर्माले भवन आधुनिक सिमेन्ट र ढुंगाको प्रयोग गर्दै पुरातात्विक क्षेत्रको मापदण्ड विपरीत निर्माण भएकाले रोक्न माग गर्दै बैसाख १० गते रिट दायर गरेका थिए ।

सरकारले २०४१ साउन १५ गते राजपत्रमा काठमाडौं महानगरपालिका वडा नं २४ को कित्ता नं ९४२ को क्षेत्रफल ६२७.९८ वर्गमिटरको जग्गा हनुमानढोका क्षेत्रभित्रको संरक्षित स्मारक घोषणा गरेको थियो ।

उक्त क्षेत्रको चार किल्लाभित्र पर्ने जग्गामा महर्जन बिजनेस एसोसिएट्स प्रालिले २०७३ असोज १७ गते प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधन सहित) र १४ वटा सर्त भएको कबुलियतनामा विपरीत जग राख्दै नक्सा पास गरेर भवन निर्माण गरेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्माणलाई अर्को छलफल नभएसम्म रोक्न आदेश गरेको हो ।

यसअघि गत वर्ष भदौ १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट गठन भएको प्राविधिक टोलीले नापजाँचसहित स्थलगत अध्ययन गर्दा पनि पुरातत्व विभागबाट सिफारिस भएको नक्सा बमोजिम जग नभएको देखिएको थियो । नक्सा विपरीति निर्माण गरिएको उक्त समितिको प्रतिवेदनमा भनिएपछि महानगरलाई प्रभावमा पारी भवन निर्माण अघि बढेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।

रिटमा हाल भवन रहेको स्थानमा आदिमकालदेखि स्थानीयहरुले पूजा गर्र्दै आएको कुमारी मन्दिर समेत रहेको र त्यसको संरक्षणबिनै व्यापारिक भवन निर्माण भइरहेको जिकिर गरिएको थियो ।

सर्वोच्चले काठमाडौं महानगरपालिका र पर्यटन तथा संस्कृति मन्त्रालयलाई भवन निर्माणबारे लिखित जवाफ पेश गर्न समेत आदेश गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More