Monday 24, April 2017
नेपाली समय: 01:13:05
जापानी समय: 04:28:05

साढे चार वर्षपछि साउदीबाट बमबहादुर तामाङको शव नेपाल आइपुग्यो

16 February, 2017

शव

साढे चार वर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५, रामेछापका ४९ वर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको छ । 

उनको सन् २०१२ अगस्ट ९ मा उपचारका क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो ।सबै रेकर्ड धनबहादुर तामाङको नाममा रहेकाले शवलाई स्वदेश पठाउन ढिलाइ भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ‘धनबहादुर र बमबहादुर घर फिर्नका लागि दमामस्थित डिपोर्टेसन सेन्टर (घरफिर्ती जेल) मा गएका थिए । धनबहादुर प्रक्रिया पूरा गरेर जेलबाटै स्वदेश फिरे । बिरामी परेर बमबहादुरलाई अस्पताल लगियो,’ साउदीका लागि कार्यवाहक राजदूत आनन्दराज शर्माले कान्तिपुरसित भने, ‘तर, अस्पतालमा बमबहादुरको नाममा नभई धनबहादुरको नाममा शव थियो ।’

दुवै जनासँग राहदानी थिएन । उनीहरू गैरकानुनी हैसियतमा बाहिर काम गर्दै आएकाले स्वदेश फिर्न जेल गएका थिए । दमाम मेडिकल कम्प्लेक्सका निर्देशक अयमन ममदोउह करकरका अनुसार बमबहादुरलाई हृदयाघात भएको अवस्थामा अस्पताल ल्याइएको थियो । उनलाई डाक्टरको निगरानीमा उपचार गर्ने क्रममा श्वासप्रश्वासमा आएको समस्याले बचाउन नसकिएको अस्पतालको मेडिकल रिपोर्टमा उल्लेख छ ।

बमबहादुरका आफन्तले मृत्युको खबर थाहा पाएपछि शव पठाइदिन परराष्ट्र मन्त्रालयमार्फत दूतावासलाई अनुरोध गरेको थियो । ‘हामीले बमबहादुरको नाम गरेको शव नै पत्ता लगाउन सकेनौं । धनबहादुर शव कसैले दाबी गरेन । त्यसपछि शंका लागेर शवको फोटो खिचेर परिवारलाई पठाइदियांै । शव बमबहादुरको भएको पुष्टि भयो,’ उनले भने, ‘त्यसपछि पठाउने प्रक्रिया थालिएको हो ।’ पठाउने बेला अर्को झन्झट आइपर्‍यो । साउदीको अध्यागमन विभागको रेकर्डमा धनबहादुर तामाङ नाम गरेको व्यक्तिले ‘एक्जिट परमिट’ पाइसकेको थियो । ‘फेरि धनबहादुरलाई एक्जिट परमिट दिलाउन सकेन । यो केश प्रहरीमै लामो समयसम्म अडकियो,’ उनले भने, ‘बल्लतल्ल शव बमबहादुरको भएको कागजात पेस गरेर नाम बदल्यौं ।’

पीडित परिवारले शवको आशा मारी काजकिरिया गरिसकेको थियो । ‘हामीले शव झिक्न सकिँदैन भन्ने ठान्यौं । शव ल्याउन पैसा पनि आफंैले बेहोर्नुपर्छ भन्ने खबर आयो । हामीसँग शव ल्याउने र अस्पतालमा राखेको खर्च तिर्न सक्ने हैसियत थिएन,’ प्रहरीसमेत रहेका २५ वर्षीय छोरा राजकुमार तामाङले भने, ‘अस्पतालमै काम गर्ने दोलखाका एक जना मान्छेले आएर भेटेका थिए । उनले तीन वर्षपछि शव साउदीमै दफन गरिदिन्छ भनेपछि हामी शवलाई पर्खेर बसेनौं । विधिअनुसार काजकिरिया गरिसकेका थियौं ।’ शव ल्याउन लागेको करिब ८ हजार ५ सय रियाल (२ लाख ५५ हजार रुपैयाँ) वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बेहोरेको दूतावासले जनाएको छ । ‘सात महिना अगाडि नै आवश्यक बजेट आइसकेको थियो,’ दूतावासका सहचारी सन्तोष अधिकारीले भने, ‘यहींको प्रक्रिया पूरा गर्न समय लाग्यो ।’

आशा मारिसकेको शव लिन बुधबार साँझ दाजुभाइ र ज्वाइँहरू विमानस्थल पुगेका थिए । ‘दाइको शव हेर्न पाइन्छ भन्ने आशा लागेकै थिएन । शव ल्याउन धेरै पटक धायौं,’ माइला भाइ हर्क मोक्तानले भने, ‘शवलाई बौद्धमा रहेको तामाङहरूको गुम्बामा लगेर राख्छौं । विधि पूरा गरेर जोरपाटीमा अन्तिम संस्कार गर्छाैं ।’ रामेछापबाट बमबहादुरकी पत्नी, सबै दाजुभाइ, तीन छोरी र एक छोरा राजधानी आइपुगेका छन् ।

आजको कान्तिपुरमा समाचार छ ।

दुई महिना बित्दा पनि साउदी अरबबाट मण्डलको शव आएन

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo