सुरुङमार्ग : कम्पनीले सिन्को नभाँचेपछि प्रदेश सरकार तात्यो

16 May, 2018 17:37 | अर्थ | comments | 9750 Views

सम्झौता अनुसार काम भएको भए काठमाडौं हेटौंडा सुरुङमार्गमा अहिले सवारी साधन संचालनमा आइसक्नुपथ्र्यो । सुरुको सम्झौतामा जनवरी २०१७ देखि नै सवारी साधन सञ्चालन गर्ने उल्लेख छ । तर, सिन्को समेत भाँचिएको छैन ।

निजी क्षेत्रबाट निकै महत्व र चासो दिइएको काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण अहिले सेलाएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले सो मार्ग बनाउने अनुमति पाएको छ ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा कम्पनी खडा भएर विदेशमा बस्ने नेपालीहरुलाई लगानीका लागि आव्हान भएर पूँजी संकलन कार्य पनि भयो, तर कालान्तरमा योजना अलपत्र पर्यो ।

निजी लगानीमा पूर्वाधारहरुको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उद्दश्यका साथ उद्योगी, व्यवसायी, प्राविधिज्ञ, निर्माण व्यवसायी, स्थानीय जनता तथा निकायहरुको एकीकृत प्रयासबाटनेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड स्थापना भएको थियो ।

सुरुङमार्गका लागि कम्पनीले सर्वसाधारणसँग उठाएको संस्थापक सेयरवापतको ३१ करोड ७६ लाखको ठूलो हिस्सा प्रशासनिक खर्चमै सक्न लागेको छ ।

जोशीपछि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टलाई सो जिम्मेवारी दिइयो, तर भट्टले पनि काम अघि बढाउन नसकेपछि अब प्रदेश सरकारले यसमा चासो दिएको छ ।

२०६९ सालमा शिलान्यास भएको सुरुङ निर्माण गर्न शुरुमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो । तर, अब यो लागत ५० अर्ब पुग्न सक्ने अनुमान कम्पनीको छ ।

निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्गलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन चाहेको बताउनुभएको छ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड ले अनुमति पाएको छ । यस हिसाबले प्रदेश सरकारले चाहँदैमा सुरुङमार्ग निर्माण अगाडि बढाउन सक्ने अवस्था छैन ।

निर्माण थाल्न पछिल्लो म्याद गुज्रिएको वर्षदिन नाघिसक्यो तर, कम्पनीले भने आर्थिक आधार पेश गर्न थप तीन वर्ष म्याद दिन सरकारसँग प्रस्ताव गरेको छ । तर, अझै निर्माण प्रारम्भसमेत भएको छैन ।

यस्तोमा प्रदेश सरकारले सुरुङमार्ग निर्माणलाई महत्वका साथ अघि बढाउने योजना तयार गरेको प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्रालयका एक उच्च अधिकारी बताएका छन् ।

उहाँका अनुसार जिम्मा पाएको कम्पनीले बनाउने हो भने यसरी अल्झाएर राख्न भएन । नगर्ने हो भने छोड्नुपर्‍यो । उसले छाडे प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ । प्रदेश सरकारले कम्पनीका अधिकारीलाई बोलाएर सुरुङमार्ग निर्माण गर्ने नगर्ने सोध्ने तयारी समेत गरेको छ ।

५८ किलोमिटर लामो सुरुङमार्ग चार लेन सडकसहितको डिजाइन तयार पारिएको छ । उक्त सुरुङमार्गबाट हेटौंडा पुग्न एक घण्टा मात्रै लाग्ने अनुमान थियो ।

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग, प्रगति शुन्य

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!