धरानबजारमा आश्रति हुनुपर्ने बाध्यता भएका सुनसरीको पाँचकन्या देवी गाउँका दलित, उत्पीडित र गरिबहरू आफ्नै घरमा आयमूलक काम गरेर आत्मनिर्भर हुन थालेका छन् ।
कुनै बेला वन फँडानी गर्नेहरूको बासस्थानका रूपमा परिचित देवीगाउँ अहिले उद्यमी र परिश्रमीहरूको केन्द्र बनेको छ । देवीगाउँका प्रत्येक घरमा ढाकाको टोपी बुन्ने तान छन् । विश्वकर्माहरूका घरमा खुकुरी बनाउने आरन छन् भने ती घरमा पनि महिलाका लागि टोपी, बर्को, साडी तथा ढाकाका अन्य कपडा बनाउने तान छन् ।
जिल्लाकै नमूना गाउँका रूपमा विकसित बन्दै गएको देवीगाउँको परिवर्तनमा युनाइटेड मिसन टू नेपालको योगदान महत्वपूर्ण रहेको सुन्दर समाज निर्माण समूहका सचिव विनोद विश्वकर्मा बताउनुहुन्छ । सानो तानबाट उल्लेख्य मात्रामा आम्दानी नभएपछि साडी, वर्को, चोलो, तन्नालगायत कपडा बुन्न सकिने ठूलो तान मिसनले उपलब्ध गराएको छ ।
देवीगाउँले गरेको प्रगतिसम्बन्धी अध्ययन गर्न सुनसरीका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराई, विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित टोलीलेे देवीगाउँको आत्मनिर्भरता देशका अन्य भागमा पुर्याउन सके आर्थिक विकास सम्भव हुने विश्वास व्यक्त गर्यो ।
|