सिरहा कचनारिका ४५ वर्षीय रामशोभित यादव गाउँमा सोलार प्यानल जडान भएपछि छिमेकी मुलुक भारतको लदनियाँ र पिपराहीबजार गएर मोबाइल चार्ज गर्नुपर्ने झन्झटबाट छुटकारा पाएका छन् ।
विद्युत्सेवाबाट वञ्चित सिरहाका दर्जनौँ गाउँ विकास समितिका मोबाइल प्रयोगकर्ता विगत लामो समयदेखि छिमेकी मुलुक भारत गई मोबाइल चार्ज गर्दै आएका थिए । जिल्लाको दक्षिणी गाविस झिझौला-९ का दीपेन्द्र यादवले सोलार प्यानल जडान गरी मोबाइल चार्जको सुविधा दिएपछि भारत जाने झन्झटबाट झिझौलाका बासिन्दा मुक्त भएका हुन् ।
सीमावर्तीबजार लदनियाँ र पिपराहीमा मोबाइल चार्ज गर्दा प्रतिमोबाइल १० देखि १५ रूपैयाँ तिर्दै आएका यहाँका सर्वसाधारण आˆनै गाउँमा पाँच रूपैयाँमा मोबाइल चार्ज गर्न पाउँदा ढङ्ग परेका झिझौला-७ का चन्दरराम बताउँछन् । करिब ४० हजार रूपैयाँको लागतमा दीपेन्द्र यादवले सोलार प्यानल जडान गरी मोबाइल चार्जको सुविधा उपलब्ध गराएपछि कचनारी, खोकसी, कजहरालगायत सीमावर्ती भारतीय भेकका बासिन्दासमेत लाभान्वित भएका छन् ।
उद्यमी यादवले पाँच रूपैयाँमा उपलब्ध गराएको सुविधा लिन दैनिक दुईसयसम्म मोबाइल प्रयोगकर्ता आउने गरेका बताइएको छ ।
|