अतिक्रमण भौगोलिकदेखि जानसांख्यिकसम्म : जनता सचेत सरकार मौन

8 November, 2019 15:13 |बिचार | comments | 5550 Views

    जनता जस्तै सरकार र दलहरु सचेत भैदिए……

    यादब देवकोटा
    नेपाल र भारत (तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धिपछि दुई देशको सीमा निर्धारण गदै कतिपय स्थानमा नदीलाई सीमा मानियो । यसरी सीमा मानिएको नदीमध्ये सुदूरपश्चिमको महाकाली नदी पनि हो र अहिले यो क्षेत्रलाई भारतले आफ्नो नक्साभित्र हालेपछि विवाद चुलिएको छ ।

    adsads

    महाकाली नदीलाई सीमा नदी मानिएको भए पनि भारतले वास्तविक नदी छोडेर सानो खोलालाई नदी भन्दै कालापानी क्षेत्रको ३७२ वर्गकिलोमिटर भूभागमाा आफ्नोा दावी गर्दैआएको छ । महाकाली नदीको मुहानसम्म नेपालको सिमाना रहेको ऐतिहासिक दस्तावेज रहँदा रहँदै भारतले त्यसको वेवास्ता गर्दै नेपाली भूमि अतिक्रमण गर्दै सेना राखेको मात्र हैन अहिले त आफ्नो नक्सामै समेटेपछि नेपालले अस्वीकार गर्ने बताइसकेको छ भने सडकमा भारतीय हस्तक्षेपबिरुद्ध प्रदर्शन भैरहेको छ ।

    केही वर्षअघि भारत र चीनले त्रिदेशीय सीमा लिपुलेकलाई दुई देशबीय सीमा भन्दै व्यापारिक नाका बनाउने सम्झौता गरेपछि नेपालको सो भूभाग कुनै पनि बेला गुम्ने चिन्ता उतिबेलै भएको थियो । भारतले आफ्नो भनी दावी गरिरहेको सो क्षेत्र दार्चुला जिल्लामा पर्दछ । ऐतिहासिक दस्तावेज अनुसार दार्चुला जिल्लामा चार गर्खा छन् । गर्खा भनेको गाउँ मौजाहरूको समूह हो । तीमध्ये व्यास गर्खाका टिङ्कर, छाँगरु, नाबी, गुञ्जी र कुट गाउँहरू हुन् । पुराना सनद, सवाल, मालका ढड्डा हेरे पनि थाहा हुन्छ । नाबी, गुञ्जी र कुटीमा अहिले ‘इण्डो टिबेट बोर्डर पुलिस’ भनेर भारतीय फौजको ब्यारेक रहेको छ । ब्यारेक क्षेत्रलाई “कालापानी” भन्दछन् । त्यो ठाउँ तिब्बत आवत जावत गर्न सजिलो नाका हो । यो नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानानेरै पर्दछ । माथि हिमाली भेगतिर नेपाल–भारतको सिमाना कालापानी नदी हो र महाकाली नदीको मुहान पनि त्यही हो ।

    महाकाली नदी– हाल भारतीय ब्यारेक रहेको ठाउँदेखि पश्चिमपट्टिबाट बग्दछ, तर भारतीयहरूले ब्यारेकको पूर्वपट्टिबाट बग्ने सानो कुटीगाढलाई महाकाली हो भनेर ब्यारेक भारतीय भूभागमै बनेको भनिरहेका छन् । त्यो गुटीगाढ तल गएर महाकालीमै मिसिन्छ । उनीहरूले महाकालीको मुहान कालापानी नभएर कुटीगाढलाई बनाउन खोज्दैछन् । स्मरणीय छ, त्यस भेकमा खोलालाई गाढ भन्दछन् ।

    यसलाई भारतले सीमा मानेर नेपाली भूमि कब्जा गरिरहेको अवस्था एकातिर छ भने नदीलाई सीमा मानेका आधारमा नवलपरासीको सुस्ताको ७० प्रतिशत भूभाग भारतले कब्जा गरिसकेको छ । यति मात्र हैन सीमावर्ती प्रायःजसो जिल्लामा भारतको अतिक्रमण कायम छ । तर सरकारसंग नेपालको कति सीमा अतिक्रमण भएको छ र कति ठाउँमा विवाद छ भन्ने यक्किन जानकारी र तथ्यांक छैन । अन्तर्राष्ट्रिय नियम–कानुन मिचेर भारतले नेपाली भूमिमाथि भौतिक संरचना निर्माण गरिरहेको छ । सरकार केही बोल्दैन । अनि सीमाक्षेत्रका बासिन्दा भारतको दादागिरीबिरुद्ध लडिरहेका छन् । आफ्नो सीमानाको रक्षा गर्दा भारतीय सुरक्षाकर्मीको गोलीबाट कैयौं नेपालीले ज्यान गुमाएका छन् ।

    पछिल्लो दुई वर्षयता पूर्वदेखि सुदूरपश्चिमसम्म सीमा अतिक्रमण भएको र सीमा सुरक्षार्थ भारतीयसंग लड्दा नेपाली छोराको ज्यान गएको छ । दुई वर्षअघि कञ्चनपुरको पुनर्बासमा नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु पर्यो । यसअघि पनि कैयौं नेपालीले सीमा रक्षाका क्रममा ज्यानन गुमाएका छन् ।

    सीमा अतिक्रमण त भएकै छ लामै समयदेखि जानसांख्यिक अतिक्रमण पनि जारी छ । नेपाली शासकहरुको गसलामी मानसिकताका कारण भारतको चाहना अनुसार पटकपटक भारतीयलाई नेपाली नागरिक बनाउने पपञ्च भैरहेको छ । नेपाली नागरिकलाई नागरिकता दिनुपर्नेमा कसैको विमती नभए पनि सोझा सिधा जनताको नाममा भारतीयलाई नागरिकता दिएर तराई क्षेत्रमा भूमिपुत्रहरुलाई नै विस्थापित गर्ने षड्यन्त्र दशकौंदेखि चलिआएको छ ।

    नागरिकताको विषय जहिले पनि विवादित हुनु र यसलाई एकतर्फी रुपमा राजनीतिक शक्तिको साधन बनाउने समूहहरुका भारतकै उक्साहटमा लागेको आरोप लाग्ने गरेको छ र घटनाक्रमले त्यस्तै देखाइरहेको छ । केही महिना अघि गृह मन्त्रालयको परिपत्रपछि नेपाली नागरिकता लिनेहरुको भीड जसरी देखियो र त्यो भीडमा जस्ता मान्छेहरु देखिए त्यसले पुष्टि गर्दछ कि नागरिकता नेपालीलाई हैन विदेशीलाई नेपाली बनाउनका लागि हो भन्ने बुझ्न कठिन छैन ।

    यो प्रपञ्चले कारान्तरले नेपालको स्वतन्त्रता, स्वाधीनता, अखण्डता र एकतामाथि नै आघात पुग्ने निश्चित छ । क्षणिक सत्ता स्वार्थका लागि नागरिकता वितरणमा उदारता अपनाउँदै जाने नीति र व्यवहारले निरन्तरता पाइरहँदा नेपालमा भूमिपुत्र नेपालीहरू नै अल्पमतमा पर्ने र मुलुकको भविष्य नै समाप्त हुनसक्नेसम्मका चिन्ताजन्य प्रश्नहरू खडा हुँदै गएका छन् । २००९ मा बनेको नेपालको पहिलो नागरिकता ऐनदेखि नै सुनियोजित रूपमा जनसांख्यिक अतिक्रमणको गति तीब्रतर बन्दैगएको सन्दर्भमा वर्तमान समयमा त्यसले थप गति लिएको छ । त्यसको सवभन्दा ठूलो मार तराईका भूमिपुत्र आदिवासी देशभक्त नागरिकहरूले खेपिरहेका छन् । तराईमा उनीहरूको अवसर क्रमशः खोसिँदैगएको छ भने षडयन्त्रपूर्वक घुसेघुसाइएका आप्रवासीहरूले नागरिकता हत्याउँदै गएपछि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रमा उनीहरूकै बोलबाला चल्ने क्रम बढिरहेको छ ।

    एकातिर सीमा अतिक्रमण अर्कोतिर जनसंख्याको अतिक्रमण यसले नेपालको सावैभौमिकतामाथि ठूलो खतरा मडारिइरहेको छ र यसको संकेत भारतको नयाँ नक्साले दिइसकेको छ । एकातिर सीमा खुम्चने र अर्कोतिर आयातित जनसंख्या बढ्ने गर्दा नेपाल भौगोलिक र जानसांख्यिक रुपमा खुम्चिँदैआएको तथ्य सार्वजनिक हुँदैआएको छ । भारतको अतिक्रमणकारी चरित्र र नेपालका शासकहरूको जवाफदेहिताविहीन प्रवृत्ति एवं भारतसंग खुलेर सीमा रक्षाकाबारेमा कुरा राख्ने क्षमताको अभावले गर्दा नेपालको अखण्डभूमि अतिक्रमणको चपेटामा पर्दैआएको छ । सन् १८१५–१६ को सुगौली सन्धिपछि खुम्चिएको नेपाल अझै पनि खुम्चिने क्रममा रहेको सीमा अतिक्रमणको निरन्तरताका घटनाले पुष्टि गरेका छन् । नेपालको वर्तमान क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको अभिलेख छ भने भारतले बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछि मात्रै पनि नेपालको लगभग १ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफलको भूमि अतिक्रमण गरिसकेको सीमाविद्हरूले सप्रमाण प्रस्तुत गर्दैआएका छन् ।

    इतिहासको कालखण्डमा नेपाल र भारतबीचको सीमा छुट्याउन गाडिएका सीमास्तम्भहरू– जसलाई जंगे पिलरका नामले पनि चिनिन्छ– धेरै ठाउँमा सुनियोजित रुपमै गायव पारिएका छन् भने कतिपय ठाउँमा सीमारक्षा र व्यवस्थापनमा समुचित ध्यान नपुगेका कारण भत्के–बिग्रेर वा बाढीले बगाएर हराएका छन् । नदी–खोलाहरूको बहाव परिवर्तन बहानाबाजीमा भारतले कतिपय स्थानमा नेपालभूमि आफ्नो बनाउने क्रम पनि जारी नै राखेको छ । अहिले बीरगञ्जको छपकैय्यामा सिर्सिया नदीको धार परिवर्तनको आधारमा जुन समस्या खडा गरिएको छ त्यो भन्दा विकराल समस्या २०११ सालदेखि नवलपरासीको सुस्ता क्षेत्रले इंगित गर्दैआएको छ ।

    नेपालको भारतसंग १८८० किलोमिटर सीमा जोडिएको छ भने नेपालका २६ जिल्लाहरू भारतसंग सीमा जोडिएका छन् ।ती मध्ये २३ जिल्लाका ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको सीमाविद्हरूले इंगित गर्दैआएका छन् । नेपालको सीमा व्यवस्थापन गर्ने, अभिलेख राख्ने र निरीक्षण गर्ने कामको जिम्मेवारी लिएको नापी विभागले सन् १९७०, सन् १९९० र सन् २०१० मा भूउपग्रहबाट तस्वीर खिचेको र नेपाल र भारतका सर्भेयरहरूले सुस्ता र लिम्पियाधुरा–लिपुलेकको विवादास्पद क्षेत्र बाहेकको सीमा नक्सा तयार पारेको भनिरहँदा पनि नेपालभूमि अतिक्रमणको गति रोकिएको छैन ।

    राष्ट्रियताको विषय राजनीतिक दलहरुका लागि जहिले पनि शक्ति आर्जनको स्रोत बन्दै गएको छ । अहिलेका प्रमुख दलहरु सबै पटकपटक सत्तामा पुगेका छन् । त्यतिबेला यी विषयहरुमा भारतसंग दह्रो कुरा राख्न कसैले नसकेको यथार्थले हरेक नेपालीको मन कुँडिन्छ । सत्ताबाट बाहिरिएपछि भारतीय विस्तारवाद र अतिक्रमणको चर्को स्वरमा बिरोध गर्न सबै तयार तर सत्तामा बसेका बेला चुपचाप रहनुको कारण आम नेपाली जनताले बुझेकै छन्, जानेकै छन् ।

    कालापानी क्षेत्र भारतले हडपेपछि सरकारले सो क्षेत्र नेपालको हो र भारतको नक्सा मान्य नभएको भन्दै परराष्ट्र मन्त्रालयमार्फत नेपाली भाषामा विज्ञप्ति जारी गर्यो । तर विज्ञप्तिमा दस्तखत गर्ने अधिकारीको नाम समेत राखिएन । यसैबाट थाहा हुन्छ- सरकार जनतालाई रल्याउन चाहन्छ, भारतलाई बढी चिढ्याउन चाहँदैन । यस्तै प्रवृत्तिले देश निरन्तर खुम्चिइरहेको छ । नेपाली भूमिपुत्रहरु अल्पमतमा पर्ने क्रम जारी छ ।

    लिपुलेक भञ्ज्याङ् र लिम्पियाधुराबीचको ३७२ वर्ग किलोमिटर क्षेत्र भारतको अतिक्रमण गरी आफ्नो नक्सामा गाभेपछि अब आम नेपाली जनता जति सचेत र सजग भएका छन् सरकार र राजनीतिक दलहरु पनि उत्तिकै सचेत भएर राष्ट्रिय एकता कायम गरी देशको अस्मिता जोगाउन डटेर मुकाविला गर्नुको विकल्प छैन ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ‘कालापानीबाट भारतीय सेना हटाऊ’

    फेसबुक

    ‘कालापानीबाट भारतीय सेना हटाऊ’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!