अधिकांश कोरोना संक्रमित भारतबाट : सीमाबाट नेपाल प्रवेश गर्ने क्रम जारी

10 May, 2020 23:35 | प्रदेश , लुम्बिनी | comments | 106500 Views

नेपालमा हालसम्म भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश भारतबाट आएका छन् । पछिल्लो समय लकडाउनमा पनि लुकिछिपी भारतबाट नेपाल आएकाहरुमा संक्रमण पाइए पनि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन ।

भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ तापनि आउने क्रम जारी छ । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन् तर सीमापारि आएर बसेका नेपाली नै मुख्य चुनौती भएको छ ।’ मर्यादपुर नाकामा २९०, भिल्मीमा २८६, कृष्णनगरमा २५९, हरदौना २०३, कोटरियामा १७०, चाकरचौडामा ११६, हथिहवामा ४७ र विजयनगरको सीमाबाट ३० नेपाली स्वदेश फर्किने पर्खाइमा रहेको स्थानीय पालिकाले जनाएका छन् ।

  

जिल्लामा दश पालिकाले तयार गरेको एक हजार ३६२ क्वारेन्टिनमा ८८१ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो । अहिलेसम्म १ हजार ११० को र्यापिड डायग्नोष्टिक टेष्ट भएको छ । उच्च जोखिममा भएकाले तीन क्वारेन्टाइन सञ्चालन गरेको मायादेवी गाउँपालिकाले त्यसको सङ्ख्या वढाएर १७ पुर्‍याउने निर्णय गरेको उपाध्यक्ष गीता तिवारीले बताउनुभयो । पालिकाको दक्षिण क्षेत्र भारत उत्तर प्रदेशको अलिगढवा पर्छ । साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा मिलेर बनेको मायादेवीमा यतिबेला सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

भारतसँग २८ किलोमिटर सीमा जोडिएको विजयनगर गाउँपालिकामा यतिबेला जंगलको बाटो भएर नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मेहम्मे परेको छ । गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले भन्नुभयो, ‘जंगलबाट फर्किएका ७७ लाई त्रिनेत्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका छौंँ ।’ गाउँपालिकाले दूधधारी मावि, हरिबोध प्रावि, रामशरण प्रावि, लौटनराम दौपदी मावि र त्रिनेत्र आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिलेसम्म १५७ छन् ।

जिल्लाका कृष्णनगर नाकाबाट पनि स्वदेश फर्कने क्रम नरोकिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । नगरप्रमुख शाहले भन्नुभयो, ‘हामी अत्यन्तै तनावमा छौंँ, जसोतसो गरिरहेका छौंँ र उताबाट आउनेलाई विद्यालयमा पाल टाँगेर राखेका छौंँ ।’ कृष्णनगर नाकाको बढ्नीमा चौबीसै घन्टा रेल चलिरहेकाले भारतका विभिन्न ठाउँबाट नेपाली आइरहेको शाहले बताउनुभयो ।

जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिकामा तीन क्वारेन्टिनमा १०२ छन् । ती सबै भारतबाट लुकिछिपी आएका हुन । नगरपालिकाका प्रमुख किरन सिंहका अनुसार तौलिहवास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएका सबै भारतबाट आएका हुन् । शिवराज नगरपालिकामा बाहिरबाट आएकालाई तीन क्वारेन्टिनमा राखिएको नगर उपप्रमुख शिवकुमारी चौधरीले बताउनुभयो । उहाँका अनुसार सुन्दरीडाँडा वडा नम्बर ९ को प्रकाश माविमा १०, वडा नम्बर ५ को दुर्गा मन्दिरको धर्मशालामा सात र वडा नम्बर ३ को पुरानो छाला फ्याक्ट्रीमा निर्माणाधीन सुपा देउराली रिसोर्टमा २६ छन् ।

वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुका अनुसार सिद्धार्थ क्याम्पसमा पाँचलाई राखिएको छ । उहाँले भन्नुभयो, ‘पहिले वडावडामा राखेका थियौंँ । अहिले सिद्धार्थ क्याम्पसमा मात्रै राख्न थालेका छौंँ’, महाराजगञ्ज नगरपालिकामा ७८ जनालाई क्वारेन्टिनमा राखिएको छ । उक्त नगरपालिकामा ११ क्वारेन्टिन बनाएर मानिस राखिएको नगर प्रमुख अब्दुल कलामले बताउनुभयो । बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध मावि गोरुसिँगेको क्वारेन्टिनमा १७५ जना रहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले सीमाबाट भीड बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमदका अनुसार भारतमा रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रमा समस्या बढेको छ । हिजोदेखि धेरै चाप बढेको छ । पहिले ९० थिए । भारतमा रेल चल्न थालेपछि मान्छे बढ्न थालेको उहाँले बताउनुभयो । उक्त पालिकाका पुड्केश मावि वगदी, अनुराग प्रावि ठूलो नन्दनगर, मदारगढ मावि, असुरैनाको प्रावि, रामउजागिर प्रावि, दोहनीमा रहेको सञ्जय ईश्वरचन्द्र निमावि र कर्मा प्राविमा क्वारेन्टिन बनाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More