अनुसरणीय निर्णय- स्थानीय उत्पादनको खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान

14 January, 2021 14:49 | जन सरोकार | comments | 13350 Views

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ । गत हप्ताबाट कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्याउने उद्देश्यले गाउँपालिकाले यहाँका ३६ सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले एक सय ८० दिनका लागि विद्यालयलाई अनुदान दिन्छन् । गाउँपालिकाले दिवा खाजा कार्यक्रमका लागि अनुदान उपलब्ध गराउँदा विद्यालयले स्थानीय उत्पादन र शरीरलाई आवश्यक पोषक तत्व पुर्याउने खालका खाजा व्यवस्थापन गर्नुपर्नेछ । जसअनुसार एक हजार ७०० विद्यार्थीलाई कोदोको रोटी, मकै, भटमास, फर्सी, आलुजस्ता स्थानीय उत्पादनका परिकार दिवा खाजाको रूपमा दिन थालेका छन् ।

  

दिवा खाजामा स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउन गाउँपालिकाले जोड दिएको हो । बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायतका फास्टफुड विद्यालयले दिवा खाजाको रूपमा विद्यार्थीलाई दिएमा विद्यालयलाई दिने आनुदान कटौती गर्ने पाथीभरा याङवारक गाउँपालिका अध्यक्ष केशरबहादुर मेन्याङबोले बताउनुभयो ।

दिवा खाजाको रूपमा विद्यालयले बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायत फास्टफुडले स्थानीय उत्पादनलाई ओझेलमा पर्ने र स्वास्थ्यका लागि पनि शक्तिवद्र्धक नहुने भएकाले स्थानीय उत्पादनलाई दिवा खाजको रूपमा प्रदान गर्ने भएको उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन र स्थानीयवासीको पनि आयआर्जन हुने भएकाले स्थानीय उत्पादनलाई मात्र खाजाको रूपमा प्रयोग गर्न लागेको अध्यक्ष मेन्याङबोको भनाइ छ ।

शक्तिवद्र्धक खाजा वा फास्टफुड के खुवाएको हो भनेर सुपरीवेक्षण तथा अनुगमन पालिकाले गर्ने गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले बताउनुभयो । विद्यालयले प्राप्त रकम विद्यार्थी वा अभिभावकलाई दिन नपाइ एकीकृत रूपमा व्यवस्थापन गरी खाजा खुवाउनुपर्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा शर्तविपरीतका कार्य भएको पाइएमा दिवा खाजा कार्यक्रमअन्तर्गत थप रकम निकासा रोक्का गर्ने अधिकृत तामाङले बताउनुभयो ।

विद्यार्थीहरूले विद्यालयमै दिवा खाजा निःशुल्क पाउन थालेपछि पूरा समयसम्म पढाइ हुन थालेको युवा आधारभूत विद्यालयका प्रधानाध्यापक हेमराज खतिवडाले बताउनुभयो । सामुदायिक विद्यालयमा पढ्ने भनेको सामान्य परिवारकै छोराछोरी भएकाले कतिपय विद्यार्थीले बिहानको खाना नखाइ आउने र दिउँसो भोक लाग्यो भन्दै घर जाने क्रम रोकेको उहाँले बताउनुभयो । दिवा खाजाले विद्यार्थीलाई पढाइप्रति थप अभिरुचि प्रदान गरेको उहाँको भनाइ छ ।

यस्तै फक्ताङलुङ गाउँपालिकाले ४० सामुदायिक विद्यालयमा विद्यार्थीलाई गत महिनादेखि दिवा खाजा दिँदै आएको शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले बताउनुभयो । ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम लागू गर्ने तयारी भइरहेको सम्बन्धित शिक्षा शाखाले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More