“अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने”

7 December, 2019 23:24 | राजनीति | comments | 15000 Views

२०७४ मा भएको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन तथा हालै सम्पन्न उपनिर्वाचनमा पनि पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गर्नुभएको छ ।

शनिबार नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलालाई भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताउँदै पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

adsads

उहाँले भन्नुभयो “अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता, कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ” ।

त्यस क्रममा उहाँले उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको बताउँदै विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता भएको र कास्की र दाङमा सहानुभुतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको तर्क गर्नुभयो ।

उहाँले सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै प्रशंसा गर्दै काँग्रेस सिद्धार्थनगर समितिको कार्यले अन्य जिल्ला तथा नगरका समितिहरुलाई पनि रचनात्मक कार्य गर्ने प्रेरणा बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताउनुभयो । सरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले व्यक्ति बलियो र पार्टीलाई कमजोर बनाउन नपाइने बताउनुभयो । उहाँले वर्तमान सरकार संविधानलाई कमजोर बनाउने कार्यमा लागेको आरोप लगाउनुभयो । रज्जाकले कम्युनिष्टहरु लोकतन्त्रवादी हुन नसक्ने दावी गर्नुभयो ।

काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी एकढिक्का नहुँदा सरकारको नेतृत्व अन्य दलले गर्नु परेको बताउँदै पार्टीको संगठनलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

काँग्रेस सिद्धार्थनगरका सभापति दिलिप धितालले उपनिर्वाचनमा कांग्रेसले लालकिल्ला भत्काउन सफल भएको बताउनुभयो । पार्टीका सिद्धार्थनगर समिति सदस्य कोशिष ख्डकाले अबको दिनमा सबै मिलेर गए कांँग्रेसलाई कुनै पनि शक्तिले पनि हराउन नसक्ने दावी गर्नुभयो ।

त्यस अवसरमा काँग्रेस सिद्धार्थनगर समिति कोषाध्यक्ष एवं कार्यक्रम संयोजक राजकुमार गुप्ता, सचिव सञ्जिव शर्मा रेग्मीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल तथा पाँचवटा ह्वील चेयर वितरण गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएको भन्दै विभिन्न व्यक्तिहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More