अबैध क्रसर उद्योगमा गुण्डा, प्रहरी र नेताहरूबीच त्रिकोणत्मक सम्बन्ध

16 January, 2020 23:07 | जन सरोकार | comments | 39150 Views

प्राकृतिक सम्पदाको दोहनमा रोक्नुपर्नेहरु नै उद्योगी र गुण्डाहरुसंग मिलेर अकुत कमाउने लालसा राख्दा सर्वसाधारणको उठिबास लाग्ने अवस्था सिर्जना भैरहेको छ । अझ शक्तिको आडमा बसेर त्यस्ता उद्योगको बिरोध गर्नेहरुको हत्या नै हुन थालेको छ ।

हालै मात्र गैरकानुनी रुपमा अबैध, प्राकृतिक भू–बनावट, सम्पदा तथा वातावरणीय दृष्टिकोणले विनाशकारी उक्त कार्य रोक्न आग्रह गर्दा धनुषाका २४ वर्षीय ओमप्रसाद महत्तो ( दिलिप) को क्रुरुर हत्या घटना तितो यथार्थ र ज्वालन्त उदाहरण हो । नदीको ‘धार’ नै परिवर्तन हुने गरि भएको रोडा–ढुङ्गा तथा बालुवा चोरी निकासी रोक्न गत शुक्रवार विहान खोला किनारामा पुगेका दिलिपलाई क्रसर उद्योग व्यवसायी विनोद र विपिन महत्तो दाजुभाइले फलामको रडले घोचेर वेहोस बनाई टिपरबाट किच्न लगाइ हत्या गरिएको दावी प्रहरीको छ ।

रोडा–ढुङ्गा तथा बालुवा चोरी निकासी र अबैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता र गुण्डाहरूको संलग्नता बढ्दै गएपछि यस्ता उद्योग व्यवसायका विरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेको ज्वलन्त उदाहरण हो यो ।

  

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश बस्नेतका अनुसार, रोडा–ढुङ्गा तथा बालुवा र क्रसर उद्योगहरूको नियन्त्रणमा चूनौती देखिएको छ । ब्यक्तिगत आयआर्जनका अतिरिक्त स्थानीय तहका लागि आम्दानीको आकर्षक स्रोत भएकाले जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ्दै गएको छ ।

खानी विभागका अनुसार, ढुङ्गा र बालुवा उत्खन्नका लागि ९५ वटा कम्पनीले मात्र स्वीकृति लिएका छन् । ती मध्ये २५ वटा काठमाडौँ उपत्यकाको तीन जिल्लामा सञ्चालित छन् । नदी जन्य बस्तुको उत्खननका लागि स्थानीय तहबाट स्वीकृति लिनु पर्छ । त्यसका लागि प्राविधि सहमति विभागबाट लिनु पर्ने हुन्छ ।

विभागका उप महानिर्देशक रामप्रसाद घिमिरे कानुनी अस्पष्टताका कारण प्राकृतिक सम्पदामाथि दोहन भइरहेको बताउनुहुन्छ । विभागले स्थानीय तहको सिफारिसपछि आवश्यक प्राविधिक पक्षको अवलोकन गरी १० वर्षससम्म स्वीकृति प्रदान गर्न सक्छ ।

खानी विभागले प्राविधिक सहमति दिएका ९५ मध्ये २५ काठमाडौँमा अन्य नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक र मकवानपुरमा सञ्चालित छन् । ती जिल्लाहरूमा इजाजत प्राप्त भन्दा अबैध बढी रहेको अनुमान गरिएको छ । ती उद्योग व्यवसायहरूमा स्थानीय जनप्रतिनिधिको मात्र नभइ गुण्डाहरूको लगानी बढ्दै गएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापा गुण्डागर्दीमा संलग्नहरूले उपत्यकाको काँठ तथा छिमेकी जिल्लाहरूमा उद्योग खोल्ने र शहर तथा बस्तीको भित्रि भागमा डिपो खोल्ने व्यवसाय फष्टाएको बताउनुहुन्छ ।

उहाँका अनुसार, ढुङ्गा–रोडाढङ्गा तथा बालुवा र क्रसर उद्योग सञ्चालकदेखि डिपो मालिक एउटै ब्यक्ति हुने गरेको छन् । विशेष गरी गुण्डागर्दीमा सक्रिय ब्यक्तिका लागि यो व्यवसाय सुरक्षित र आयआर्जनका लागि आकर्षक हुने गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुमा सञ्चालित अबैध वालुवा खानी र क्रसर उद्योग बन्द गर्न निर्देशन पाएपनि राजनीतिक संरक्षण भएकाले बन्द गर्न नसकिएको भनाई प्रहरीको छ । स्थानीयको चर्को विरोध हुँदापनि ललितपुरको गोदावरी, सुनाकोठी, चापागाँउ, लेले र खोकनाक्षेत्रमा सञ्चालित अबैध खानी बन्द हुन सकेका छैनन् ।

त्यस्तै काठमाडौँको उत्तरीक्षेत्र झोर, टोखा, गोलढुङ्गा, मनमैंजु, साँखु, सुन्दरीजल र बुढानिलकण्ठ क्षेत्रमा खानीहरूमा स्थानीय जनप्रतिनिधिमात्र नभइ विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताको सलग्नता देखिएको छ । जसका कारण प्रहरीलाई बन्द गराउन समस्या परेको छ ।

महाशाखा प्रमुख थापा भन्नुहुन्छ– गुण्डागर्दीमा संलग्न ब्यक्तिको आर्थिक आयआर्जनको महत्वपूर्ण स्रोत यही व्यवसाय भएको छ । स्थानीय जनप्रतिनिधि, विभिन्न पार्टीका नेता तथा कार्यकर्तासंगको सहकार्यमा व्यवसाय सञ्चालन गर्दा सुरक्षित हुने नै भयो त्यससंगै राजनीतिक संरक्षण पाउने भए ।

गुण्डा, प्रहरी र नेताहरूबीच त्रिकोणत्मक सम्बन्ध
छिमेकी जिल्लाहरूमा सञ्चालित अधिकांस रोडाढुङ्गा तथा वालुवा खानी र क्रसर उद्योगको सञ्चालक गुण्डागर्दीमा संलग्न ब्यक्तिहरू कागजी रुपमा देखिएपनि लगानी भने जनप्रतिनिधि, राजनीतिक पार्टीका नेताका आफन्त र प्रहरीको समेत रहेको पाइएको छ ।

काभ्रे र नुवाकोटमा सञ्चालित क्रसर तथा रोडाढुङ्गा उद्योगमा काँग्रेस नजिकका नेताका आफन्त र कार्यकर्ताको संलग्नता बढी देखिएको छ । धादिङ र सिन्धुपाल्चोकमा भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा०) निकट नेता तथा तिनका आफन्तको लगानी देखिएको भनाई प्रहरीको छ ।

उपत्यकाको गुण्डागर्दी नियन्त्रण कार्यलाई प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरेपछि नाम चलेका अधिकांस गुण्डाहरू गाँउ पसेको विश्लेषण प्रहरीको छ । एकप्रहरी अधिकारीका अनुसार, गाँउ पसेका केही जनप्रतिनिधि समेत बने कोही ठेक्का–पट्टा तथा खानी सञ्चालन गरिरहेका छन् ।

नदी जन्य बस्तुको उत्खान्न गर्ने अधिकार स्थानीय सरकारलाई स्थानतरण गरिएपछि अबैध खानी तथा उद्योग व्यवसाय सञ्चालनमा ‘ठूलो जालो’ संलग्न रहेको अवस्था देखिन्छ । नेताका नातेदारदेखि, जनप्रतिनिसम्म र गुण्डादेखि प्रहरीसम्मको संलग्नताले नियन्त्रणमा चूनौती थपेको छ ।

काभ्रे र सिन्धुपाल्चोक जिल्लामा पूर्व सांसद तीर्थ लामा र अर्का गणेश लामाको लगानी बढी देखिएको छ । धादिङमा सत्तापक्षीय सासंदहरुका नजिकका ब्यक्तिको लगानी देखिन्छ ।

काठमाडौँबाट पलायन भएका राधे भन्ने राधेश्याम भण्डारी, हाल जेलमा रहेका समिरमान बस्नेत र चरी भन्ने दिनेश अधिकारी नजिकका ब्यक्तिको पनि धादिङ जिल्लाको विभिन्नस्थानमा सञ्चालित क्रसर तथा बालुवा खानीमा लगानी रहेको दावी प्रहरीको छ ।

नुवाकोट जिल्लाका अधिकांस जनप्रतिनिधिको क्रसर उद्योगमात्र नभइ टिपरमा समेत लगानी रहेको पाइएको छ । धादिङ गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र काभ्रेका पूर्वसांसद तीर्थ लामा आफैमा चर्चित क्रसर उद्योग व्यवसायी हुन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More