अमेरिकामा रहेका नेपाली भन्छन्- औषधि सकिन लाग्यो, घर फर्कने टुंगो छैन, उद्धार गरिदिनुपर्‍यो

10 May, 2020 18:43 | प्रबास | comments | 65550 Views

काठमाडौँको कोटेश्वरका शैलेस गिरी पाँच महिनाअघि अमेरिकाको बाल्टिमोरमा रहेका छोरालाई भेट्न आउनुभएको थियो । उहाँले साथमा ल्याएको औषधि सकिन थाल्यो, लकडाउनको अवस्थामा रहँदा उहाँलाई कसरी नेपाल फर्किने भन्ने चिन्ताले सताएको छ ।

मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय गिरी औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन पनि लिने गर्नुहुन्छ । मेरिल्याण्डको नेपालबाट अमेरिका आउँदा नै उहाँले नेपाल फर्किने टिकट यही मे ९ को लिनुभएको थियो, तर कोभिड–१९ को महामारीसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उहाँ फर्किन पाउनुभएको छैन ।

 उहाँले स्वास्थ्य बीमासमेत नलिएकाले भविष्यमा आउन सक्ने समस्यालाई लिएर आफू निकै चिन्तित भएको उहाँले बताउनुभयो । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दो छ । स्वास्थ्यप्रति संवेदनशील रहँदै गिरी अहिले छोरा बसेको ठाउँबाट आफ्नो साथी भएको ठाउँ नर्थ क्यारोलिनामा बस्नुभएको छ । नर्थ क्यारोलिना तुलनात्मकरुपमा मेरिल्याण्डभन्दा यो कोरोना सङ्क्रमणको दर केही कम देखिएको राज्य भएकाले त्यहाँ गएर एकजना साथीको घरमा बसेको गिरीले बताउनुभयो । लकडाउन खुल्ने र अन्तर्राष्ट्रिय उडानसमेत चाँडै नै हुने सम्भावना नदेखिएकाले नेपाल सरकारबाट उद्धारको पर्खाइमा आफू रहेको गिरीले बताउनुभयो ।

  

कोभिड–१९ को महामारीकाबीच रोजगारी गुमेपछि ४५ वर्षीया बबिना श्रेष्ठ पनि नेपाल जान चाहनुहुन्छ । झण्डै १२ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएकी बबिना बेरोजगार भएको लामो समय भएकाले नेपाल फर्किन चाहेको बताउनुहुन्छ । उहाँ पछिल्लो पटक करिब ६ महिनाअघि नेपाल जानुभएको थियो । नियमित औषधिसमेत सेवन गर्दै आउनुभएकी बबिना चिकित्सकले ६ महिनापछि ‘फलोअप’ स्वास्थ्य जाँचका लागि आउनु भनेअनुरुप नै आफू नेपाल जानेगरी पहिला नै योजना बनाएर पछिल्लो पटक अमेरिका आउनुभएको थियो । तर उहाँको योजना कोभिड–१९ ले असफल बनाइदिएको छ । उहाँ अहिले समस्यामा पर्नुभएको छ ।

नियमित रोजगारी गुम्यो र अरुतिर काम खोज्दासमेत नपाएपछि आफू बस्दै आएको जर्जियाको एट्लान्टाबाट टेक्सस आफ्नो आफन्तकहाँ बस्दै आएको र नेपाल जाने पर्खाइमा रहेको उहाँले बताउनुभयो । ‘‘यहाँ काम पनि छैन, कामबिना अमेरिकामा बस्न कति गाह्रो हुन्छ त्यसैले छिट्टै नेपाल जान पाए हुन्थ्यो’’, उहाँले भन्नुभयो ।

भक्तपुरकी २८ वर्षीया पेशाले चिकित्सक स्वस्तिक प्रधानाङ्ग पनि अहिले भर्जिनियामा हुनुहुन्छ । नियमित उडान भएको भए उहाँ गत अप्रिल ३ मा नेपाल फर्किसक्नुहुन्थ्यो । तर अहिले लकडाउनमा पर्नुभएको छ । आफ्नो पेशागत क्षेत्रसँग सम्बन्धित परीक्षाका लागि उहाँ ६ महिनाअघि अमेरिका आउनुभएको थियो । तर उहाँ फर्कन नपाएपछि भिसा थपेर भर्जिनियामा मामाको घरमा बस्नुभएको छ । उहाँले पनि जतिसक्दो चाँडो नेपाल जान पाए हुन्थ्यो भन्नुहुन्छ । भक्तपुर मुटु तथा मधुमेह केन्द्रमा कार्यरत डा प्रधानाङ्गले भन्नुभयो, ‘‘तत्काल खुल्ने कुनै सम्भावना देखिँदैन, सरकारले केही गरेर भए पनि फर्कन चाहेका हामीलाई लगे हुने थियो ।’’

उता आयोवामा अध्ययनरत २१ वर्षीय आयाम श्रेष्ठ पनि जतिसक्दो चाँडो नेपाल जान चाहनुहुन्छ । कलेजसमेत बन्द हुँदा श्रेष्ठले कुनै काम गर्न पाउनुभएको छैन । ‘‘काम पनि छैन, समस्या पनि बढ्दै गएको छ’’ काठमाडौँका श्रेष्ठले भन्नुभयो, ‘‘नेपाल जान पाए धेरै सजिलो हुने थियो फेरि सामान्य कहिले हुन्छ भन्ने यकिन नभएकाले साह्रै समस्या भयो ।’’

बुटवलका कुलबहादुर केसी पनि अमेरिकाबाट नेपाल फर्कन चाहनुहुन्छ । बयासी वर्षकी आमालाई समेत अमेरिका घुमाउन लिएर आउनुभएका ५२ वर्षीय कुलबहादुरलाई अब यहाँ घुम्न मन छैन । बरु फर्कने समस्याले चिन्तित हुनुहुन्छ । आफ्नो छोरीकोमा आउनुभएका उहाँ अन्य कुनै समस्या नभए पनि आमासमेत आत्तिनुभएकाले जतिसक्दो चाँडो फर्कन पाए हुने थियो भन्नुुहुन्छ ।

“यसरी नेपाल फर्कन चाहनेहरुले समूह नै बनाएर छलफल, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गर्नुभएको छ । हामीले नेपाल फर्किन चाहनेहरुलाई लैजान नेपाल सरकारसँग सामूहिक रुपमा आह्वान गरिरहेका छौँ” नेपाल जान चाहेनहरुको समूहका एक अभियन्ता शान्तराज बतासले भन्नुभयो । नेपाल सरकारलाई कुनै आर्थिक भार नदिनेगरी आफूहरु नेपाल जान तयार रहेको र नेपाल जानेबित्तिकै सेल्फ क्वारेन्टाइनमा पनि बस्ने उनीहरुको भनाइ छ ।

नेपाल जान चाहनेहरुले अमेरिकास्थित, नेपाली राजदूतावास, गैरआवासीय नेपाली सङ्घदेखि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा नेपालका मन्त्रीसँग संवाद गरिरहेका छन् । अमेरिकाबाट नेपाल जान चाहनेहरुका निम्ति नेपालबाट सहयोगी भूमिका खेल्नुभएका इन्जिनीयर शैलेन्द्र गुरागाईंले नेपाल सरकारले चाँडै आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

भ्रमण भिसामा अमेरिका पुगेका र छोटो अवधिका लागि त्यहाँ विभिन्न तालिममा पुगेकाहरु ब्ढी समस्यामा परेका छन् । गुरागाईंले भन्नुभयो, “उहाँहरुलाई नेपाल सरकारले जतिसक्दो छिटो लैजानुपर्छ । स्वास्थ्य संवेदनशीलतालाई हेरेर क्वारेन्टाइनमा पनि बस्न उहाँहरु तयार नै हुनुहुन्छ । नेपाल सरकारलाई आर्थिक भार नपर्ने गरी हवाई भाडा तिर्नेदेखि क्वारेन्टाइनका लागि होटलहरुको व्यवस्था गर्नेसम्मको काम गरिसकिएको गुरागाईंले छ ।”

औषधि उपचारको समस्यादेखि लिएर भिसाको म्याद सकिने समस्या, भिसाको म्याद बढाएर बस्दा आर्थिक भार थपिने जटिलता, रोजगार गुमेको अवस्था, नेपालबाट पनि आर्थिक सहयोग गर्न नसकिने अवस्थालगायतले गर्दा अमेरिकाबाट नेपाल फर्किने चाहना राख्नेहरु दिनदिनै बढ्दै गएको छ ।

नेपाल जान चाहनेहरुको तथ्याङ्क लिएर नेपाल सरकारसमक्ष छलफल गर्ने हेतुले गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल जान चाहनेहरुको लगत सङ्कलन गरिरहेको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले अप्रिल २४ देखि तथ्याङ्क सङ्कलन शुरु गरी मे २ सम्मको तथ्याङ्क नेपालको परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास र एनआरएनए आइसिसीसमक्ष बुझाइएको बताउनुभयो । उहाँका अनुसार यहाँबाट नेपाल जान चाहने ६४१ जनाले नाम दर्ता गर्नुभएको थियो । सङ्घले नेपाल जान चाहनेहरुलाई आवश्यक व्यवस्था मिलाउन पहल गरिरहेको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले बताउनुभयो । साहले आवश्यक सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभयो ।

अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले नेपाल जान चाहनेहरुको विषयमा छलफल भइरहेको बताउनुभयो । डा कार्कीले नेपाल फर्किन चाहनेहरुको स्वास्थ्यदेखि लिएर हरेक पक्षबाट छलफल भइरहेको र यसका लागि दूतावास सकारात्मक रहेको बताउनुभयो । राजदूत डा कार्कीले यो विषय नेपाल सरकारको निर्णयमा भरपर्ने भएकाले सरकारको निर्णयअनुरुप अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले अमेरिकामा रहेका नेपालीलाई कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह पनि गर्नुभएको छ । “अमेरिकामा समस्यामा परेका नेपालीप्रति हामी चिन्तित छौँ, हामीले के सक्छौँ सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More