अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो

8 December, 2019 12:17 | जन सरोकार | comments | 26400 Views

मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि एउटा चिकित्सक पटकपटक अनशनमा बस्छ, उसका माग सुनुवाई हुन्छ तर यसमा सुधार भने पटक्कै हुँदैन । दर्जन बढी मेडिकल कलेज भएको मुलुकमा चिकित्सकको अभाव भएरै होला विदेशबाट आउने झोले डाक्टरहरुले अवैध रुपमा संचालन भएका मेडिकलहरुमा डाक्टरको नाममा उपचार गर्दा जनताको ज्यान गैरहेको छ ।

पछिल्लो एक अनुसन्धाननात्मक समाचार अनुसार भारतबाट आएका कथित डाक्टरहरु झोलामा औषधि हालेर गाउँगाउँ पुग्छन र उनीहरु शल्यक्रिया गर्न समेत पछि पर्दैनन् । अन्नपूर्ण पोष्टले प्रकाशन गरेको समाचार अनुसार पश्चिम तराईका सीमावर्ती जिल्लामा सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन। यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन्। यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ। अप्रेसन गर्नसमेत पछि नपर्ने यी डाक्टर झोलामा औषधि राखेर गाउँ–गाउँ डुल्ने गर्छन्।

बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचार क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ।

  

सोमबार नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मानिकराम धोबीको उपचार क्रममा मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सातायता ५ जनाको ज्यान गएको बताएका हुन्।

मटेहिया चोकमा एकाबिहानै भेला भएका मृतक गयाराजका माइलो बुबाको छोरा शिवराज धोबी, देवराज यादवलगायत ठूलो संख्यामा रहेका स्थानीयले असोज दोस्रो साता करिब ५० वर्षका बेचनलाल मौर्य र उनका ३५ वर्षका भतिज शिवकुमार मौर्यको ठाकुरले उपचार गर्ने क्रममा मृत्यु भएको बताए। कात्तिकमा नरैनापुर–५ मोतीपुरका ६० वर्षका चित्रबहादुर रोकायले ठाकुरको उपचारकै क्रममा ज्यान गुमाए। तीन वर्षअघि एक सुत्केरीको उपचार गर्ने क्रममा ज्यान गएको थियो। उपचार गर्न आएका धेरै बच्चाको मृत्युको कुनै लेखाजोखा नभएको उनीहरूको जिकिर छ।

ठाकुरले सुरुमा आफूले उपचार गर्ने र सिकिस्त भएपछि बहराइच वा लखनउमा रिफर गर्थे। बिरामी रिफर गरेबापत पनि उनले अस्पताल र डाक्टरको क्लिनिकबाट कमिसन लिने गरेको स्थानीयले बताएका छन्। भारतको बहराइचमा चिकित्सकको सहयोगी भएर काम गरेका ठाकुर १५ वर्षदेखि मटेहियामा अवैध औषधि पसल चलाएर बसेका थिए। उनी हाईस्कुल पनि पास नभएको बुझिएको छ। औषधि लेखेर दिने पर्चामा भने उनले आफूलाई डाक्टर लेख्थे। सोमबार दुई जनाको मृत्यु भएपछि उनी मेडिकलमा ताला लगाएर फरार छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिकास्थित नैना अस्पताल सामान्य मेडिकलजस्तो समेत छैन। तर, यहाँ अप्रेसन गरिरहेकै अवस्थामा ६ जना बिरामी भेटिए। तीन वर्षअघि अदक्षले अप्रेसन गरेपछि बिरामी थला परे। जनस्वास्थ्य कार्यालयले छापा मार्‍यो। ६ जना बिरामी बेडमा सुतिरहेका थिए। अप्रेसन थिएटर भनिएको स्थानमा न उपकरण थिए न त सरसफाइ नै !

अस्पतालमा आफूलाई डाक्टर बताउँदै अप्रेसन गर्ने डा. विद्या शुक्ला र डा. सुरज गिरी फरार भए। नैन अस्पताल त बन्द भयो। तर, रुपन्देहीका मर्चवार, लुम्बिनी क्षेत्रमा यस्तै अस्पताल/मेडिकलको बिगबिगी छ। सरकारी स्वास्थ्य चौकीमा औषधि नपाइने, चिकित्सक नबस्ने भएपछि रुपन्देहीको दक्षिणी क्षेत्रका नागरिक असुरक्षित सेवा लिइरहेका छन्।

दक्षिणी क्षेत्र मर्चवारका बासिन्दा कन्हैया बनियाँ प्रत्येक साता ३/४ जना बिरामीलाई आफ्नो गाडीमा राखेर सदरमुकामको अस्पतालमा पुर्‍याउँछन्। झोले डाक्टरको उपचारबाट सिकिस्तलाई उनले वर्षौंदेखि अस्पताल पुर्‍याउँदै आएका छन्।

‘झोले डाक्टरबाट जोगाउनै मुस्किल छ, अनेक बहानामा अप्रेसन गर्नसमेत मेडिकलवाला तयार छन्,’ उनले भने।

बंगाली डाक्टरको परिचय

तराईका जिल्लामा सक्रिय झोले डाक्टरलाई स्थानीय बंगाली डाक्टर भनेर चिन्छन्। भारतको वेस्टबंगाललगायत स्थानबाट आएकाहरू मेडिकल खोलेरै आफूलाई डाक्टर बताउँदै उपचार थाल्छन्। उनीहरूसँग स्वास्थ्यकर्मीको नक्कली कागजात हुन्छ। प्रशासनको कहिल्यै अनुगमन नहुने भएकाले यी बंगाली नागरिक असली डाक्टर कहलिने मौका पाएका छन्।

कपिलवस्तुको सदरमुकाममै यस्ता डाक्टरका क्लिनिक छन्। कपिलवस्तु नगरको तौलिहवा बजार, मोहरिया चौराहा, यशोधरा गाउँपालिकाको विचलीभंडेहर, तितिर्खा, अम्लोनहा चौराहा, मर्यादपुरमा बंगालीले निर्वाध क्लिनिक सञ्चालन गर्दै आएका छन्। मायादेवी गाउँपालिका र महाराजगन्ज, कृष्णनगर नगरपालिकामा पनि यिनीहरूकै भरमा उपचार भइरहेको छ।

उनीहरूले नियमविपरीत पायल्स, दाँतलगायत माइनर अप्रेसन गर्दै आएका छन्। उनीहरूको मेडिकलमा म्याद गु्रजिएका औषधि पनि किनबेच हुने गरेको पाइएको छ।

बंगाली डाक्टरले सञ्चालन गरेको अवैध क्लिनिकका कारण आफूहरूको पेसा प्रभावित हुने गरेको कपिलवस्तु नगरपालिका–२ मोहरिया चौकमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र सञ्चालन गर्दै आएका सुरेन्द्र गुप्ताले बताए। ‘हामीले सरकारी नियमानुसार प्राथमिक स्वास्थ्य केन्द्र दर्ता गराएका छौं। कर तिर्छौं,’ स्वास्थ्यकर्मी गुप्ताले भने, ‘नाम, ठेगानासमेत सही नभएका नक्कली डाक्टरका कारण हामी समस्यामा छौं।’

बंगाली डाक्टर आफ्ना सेवाग्राहीलाई थप जटिलता भए मात्रै रिफर गर्छन्। कतिपय मेडिकल नै बन्द गरेर फरार भएको स्थानीय बताउँछन्। कपिलवस्तु नगरपालिका क्षेत्रका क्लिनिकको लगत संकलन भइरहेको नगरपालिकाका स्वास्थ्य संयोजक मधुकर घिमिरेले बताए। लगत संकलनपश्चात् अनुगमन गरेर गैरकानुनीलाई बन्द गरिने उनले जानकारी दिए।

मान्छे मार्‍यो भाग्यो

बाँकेमा ५ जनाको ज्यान लिने व्यक्ति फरार छन्। मंगलबार प्रहरीले बाँके क्षेत्र नं. १ की प्रदेशसभा सदस्य कृष्णा केसीको रोहवरमा प्रहरीले मेडिकलको ताला तोड्यो। उनको पसलमा भारतीय कम्पनीका औषधि मात्र भेटिए। पसलभित्रै मेडिकल सञ्चालनका कुनै इजाजत पत्र थिएन।

हुलाकी सडकको छेवैमा उत्तरतिर पक्की घरमा कुनै बोर्ड नराखेर उनले मेडिकल र क्लिनिक सञ्चालन गरेका थिए। उनको पसलदेखि मृतकको घर ५० मिटर र इलाका प्रहरी कार्यालय भगवानपुर २ सय मिटर दूरीमा पर्छ।

ठाकुर त्यही पसलमा बस्ने गरेको कोठाभित्र झुन्ड्याइएका सिरक–डसनाबाट प्रस्ट हुन्थ्यो। साँघुरो कोठामा खाट राखेर सुत्ने र त्यहीँ टेबल–कुर्सी राखेर बिरामी जाँच्ने गरेको देखिन्छ। मेडिकलभित्र गाउँगाउँ पुगेर उपचार गर्न जाने झोलामा औषधि राखिएको पाइएको थियो। अधिकांश औषधि पसलमा म्याद नाघेका र एकै प्रकारका धेरै औषधि भेटिनुले पनि मेडिकलको कारोबार धेरै हुने गरेको सहजै अनुमान गर्न सकिन्थ्यो।

स्थानीयका अनुसार उनले दैनिक कम्तीमा १० हजार भारतीय रुपैयाँे कारोबार गर्थे। ठाकुरले एक बोतल स्लाइन दिएबापत ५ सय भारु लिने गरेको शिवलाल धोबी बताउँछन्। स्थानीय देवराज यादव भन्छन्, ‘उपचार गर्न आउने अधिकांश पेट दुखेर पुगेका थिए। उनीहरूलाई अरू कुनै रोग थिएन। सबैलाई चार/चार बोतल स्लाइन पानी दिएपछि मृत्यु भएको थियो।’

सांसद ‘नमुना’ले अरू पनि झोले डाक्टरबारे जिज्ञासा राखेपछि स्थानीयले ठाकुरको औषधि पसलभन्दा मुस्किलले २ सय मिटर दूरीमा भारतीय शिवम् गुप्ताको अर्को मेडिकल देखाएका थिए। प्रहरीसहितको टोली पुग्दा उनको औषधि पसलमा ताला लगाइएको थियो।

ठाकुर र गुप्ता मात्र होइन, नरैनापुर गाउँपालिकामा तीन दर्जनभन्दा बढी भारतीयका मेडिकल रहेको स्थानीयले बताएका छन्। एउटा झोले डाक्टरबाट प्रहरीले मासिक २५ हजार भारु असुल गर्ने गरेको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर विसीले अन्नपूर्णको जिज्ञासामा आफू आएको तीन महिना मात्र भएको र कसैले पैसा नलिएको दाबी गरे।

भारतीयका अवैध मेडिकल सञ्चालनबारे स्थानीय तह जानकार छन्। नरैनापुर ५ का वडाध्यक्ष युवराज मौर्यले पनि दर्जनभन्दा बढी झोले डाक्टरले उपचार गरिरहेको स्विकारे। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले त नरैनापुरमा मात्र १५ वटा ‘झोले डाक्टर’ रहेको तोकेरै बताए।

स्वास्थ्य सेवा विभागले ५/६ वर्षयता नरैनापुर गाउँपालिका क्षेत्रमा अनुगमन नै नगरेको स्विकारेको छ। विभागको नेपालगन्ज शाखा कार्यालय प्रमुख वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले भनिन्, ‘विकट गाउँ छ। बाटोमा हिलो हुन्छ। जान पनि सहज छैन भनेर हामी ५/६ वर्षयता गएका छैनौं।’

औषधि व्यवस्था ऐन २०३५ अनुसार अनुमति नलिई मेडिकल सञ्चालन गर्दा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ। त्यस्ता व्यक्तिले उपचार गर्दा ज्यान गएमा भने ज्यानमुद्दा पनि लाग्छ।

जटिल भएपछि अस्पताल

नवलपरासीमा झोले डाक्टरको उपचारपछि सिकिस्त हुनेहरू बल्ल सदरमुकामका अस्पताल आउने गरेका छन्। एक महिनाअघि मात्र रामग्राम नगरकी २० वर्षीया अविवाहित युवतीलाई गर्भपतनको औषधि दिएपछि उनको ज्यान जोखिममा परेको थियो। स्थानीय एक निजी क्लिनिकका स्वास्थ्यकर्मीले चिकित्सकको प्रेसक्रिप्सनबिना ६ महिना बढीको गर्भपतन गराउन औषधि दिएका थिए। उक्त औषधि गर्भधारण गराउने युवकले खरिद गरेर युवतीलाई दिएका थिए।

औषधिका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि जिल्ला अस्पताल पुर्‍याइएकी युवतीले लिंग खुलेको मृत शिशुलाई जन्म दिएकी थिइन्। प्रहरीले गर्भधारण गराउने युवकसहित स्वास्थ्यकर्मी र युवतीलाई गर्भ संरक्षणविरुद्ध मुद्दा चलाएको थियो। मुद्दाको सुनुवाइका क्रममा अदालतले स्वास्थ्यकर्मीलाई साधारण सुनुवाइ र युवक/युवतीलाई ६०/६० हजार धरौटीमा छाड्ने आदेश दिएको छ।

कसैले भनेको भरमा औषधि खरिद गरेर खाने र स्वास्थ्यकर्मीको नाउँमा औषधि दिनेको संख्या ग्रामीण क्षेत्रमा बढिरहेको पृथ्वीचन्द जिल्ला अस्पताल परासीका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए। ‘औषधिले सामान्य असर पुर्‍याएका बिरामी व्यथा सहेर बस्ने गरेको संख्या ग्रामीण क्षेत्रमा बढी छ। गम्भीर समस्या आएपछि मात्र बिरामी अस्पताल आउने गर्छन्,’ डा. होदाले भने।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More