अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट

12 December, 2019 13:10 | जन सरोकार | comments | 8850 Views

गाउँघरमा कुटानी पिसानीको परम्परागत प्रविधि पानी घट्ट आधुनिक प्रविधिका कारणा आजभोलि देख्न मुस्किल पर्छ तर दुर्गम क्षेत्रमा अझै यो प्रविधि कायम छ र रोजगारी पनि दिइरहेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर–९ सुर्के स्थित ध्यानबहादुर जोगीले परम्परागत पानी घट्टबाटै जीविकोपार्जन गरिरहनु भएको छ ।

adsads

शारीरिक रुपमा अशक्त उहाँ घट्टसम्म जान दुई घण्टा र आउँदा दुई घण्टाको समय लगाएर उहाँले घट्टबाट सेवा प्रदान गरिरहनु भएको छ । विकास, निर्माणले फड्को मार्ने क्रममा हरेक क्षेत्रमा नयाँनयाँ प्रविधिले ठाउँ ओगटेको अवस्थामा ४५ वर्षीय जोगीले परम्परागत, लोपोन्मुख पानी घट्टबाटै श्रीमती, तीन छोरी र एक छोरा सहित पाँच जनाको परिवार धानेका छन् ।

गोरखापत्र दैनिकका लागि कैलाश लामाले लेखेको समाचार अनुसार २०५७ सालमा रुखबाट लडेर खुट्टाको सहायताले हिड्न नसक्ने भएका उनले अरुले जति काम गर्न नसके पनि हातले सकिने काममा अगरु भन्दा कम छैनन् । चार हातखुट्टा टेकेर हिड्ने गरेका उनलाई खुट्टामा एक जोर जुत्ता, घुँडा र हातमा दुई जोर चप्पल गरि तीन जोर जुत्ता चप्पलको सहायता चाहिन्छ । तर हातले गर्ने काममा उहाँ निक्कै फुर्तिला देखिनु भएको छ ।

डोको, डाला, थुन्से, चित्र, भकारी बुन्ने सम्मका सीप जानेका उनलाई सो कामबाट आफू र परिवार धान्न मुस्किल भएपछि २०५० सालमा बुबाले सुरु गरेका पानी घट्ट २०६२ सालदेखि सञ्चालनमा ल्याएका थिए ।

‘अपाङ्ग भएपछि अन्य काममा गाउँलेले विश्वास गर्न छाडे र बुबाको मृत्युु पश्चात् बन्द भएको घट्ट पुनः सञ्चालनमा ल्याएको हुँ ।’ उहाँले भन्नुभयो,‘घट्टमा मकै, कोदो, गहुँ लगाएतका अन्न पिन्न ल्याउने र त्यसैको ज्याला उठाएर आफ्नो र परिवारको जीवन धानेको छु ।’ उहाँले घट्टमा दैनिक १० देखि १५ जनासम्म पिठो पिन्न आउने गरेको बताउनुभयो ।

शारीरिक रुपमा अशक्त ध्यानबहादुरलाई घरदेखि घट्टखोला स्थित घट्ट आउन दुई घण्टा र जान दुई घण्टा लाग्छ । सुखदुःख घट्टबाट जीवन धानेका ध्यानबहादुरलाई २०७२ सलको भुकम्पले तर्साएका मात्रै थिएनन् घट्ट भत्किएर कमाइ बन्द हुँदा घरपरिवार धान्न नै मुस्किल भएको थियो ।

केहि समयपछि युएनडिपी र हुराडेक नेपालले उत्थानशील पुनर्निर्माण तथा पुनस्र्थापना परियोजना मार्फत तारजाली प्रयोग गरि भुकम्प प्रतिरोधात्मक पानी घट्ट पुनर्निर्माण गरिदिएपछि अहिले घट्ट पुनः सञ्चालनमा छ । दुईवटा पिन्ने ठाउँ रहेको घट्ट भूकम्पीय दृष्टिकोणले अहिले सुरक्षित छ । पिठो पिन्नका लागि आउनेको संख्या पनि उल्लेखनीय छ ।

घट्टमा पिनेको पोठको ढिडो, रोटी, खोले स्वादिलो हुने भएकाले पनि आफू पिठो पिन्न घट्टमै आउने गरेको भीनपा–९ सुर्के फाप्रेलीकी दिलमाया श्रेष्ठ बताउनुहुन्छ । ‘अपाङ्ग मान्छेका घट्टमा पिन्दा उस्को पनि कमाइ हुँने हामीलाई पनि घट्टको पिठो मनपर्ने भएकोले घट्ट आउने गरेको छु’ – उहाँले भन्नुभयो।

छिमेकी,गाउँले र सहयोगी संघसंस्थाको राम्रो साथ पाएका ध्यानबहादुरलाई अब एउटा धान पिन्ने मेसिन चाहिएको छ । ‘छोराछोरी बढ्दै र पढ्दै छन्, खानलाउन दिनै पर्यो, पढाउनै पर्यो ।’ उहाँले भन्नुभयो ।

आफूले पढ्न नसकेपनि उनिहरुको शिक्षामा कुनै कमी हुन नदिनका लागि आम्दानी बढाउन भएपनि धान मेसिन समेत सञ्चालन गर्ने इच्छा रहेको उहाँ बताउनुहुन्छ । उहाँले त्यसको लागि सहयोगीहरुसँग सहयोगको अपेक्षामा राख्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More