असफलताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (अन्तर्वार्ता)

1 March, 2016 14:07 | अन्तरवार्ता | comments | 468450 Views

विश्व क्रिकेटमा पहिचान र स्तर कायम गर्दैअघि बढेको नेपाली क्रिकेटको नेतृत्वदायी संस्था नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने भनेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) पत्र पठाएको छ । यतिबेला क्यानको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको काँधमा छ । यस्तो स्थितिमा नेपाली क्रिकेटले भावी चुनौतिको सामना कसरी गर्नेछ ? यस विषयमा घिमिरेसंग नेपाल जापानका सन्दिप भट्टराई र अञ्जना भण्डारीले गरेको कुराकानी प्रस्तुत छ–

Bhawana Gjhimire

० नेपाली क्रिकेटको पछिल्लो स्थिति चिन्ताजनक छ । यसको कारण र कारक के हो ?
यसका लागि कुनै एउटा मात्रै कारण छैन । अहिले देखिएको सबभन्दा ठूलो समस्या भनेको प्रशासनको हो । प्रशासनिक समस्या समाधान नभएसम्म केही पनि गर्न सकिंदैन । एउटाले गर्दा मात्रै यस्तो भएको भन्न मिल्दैन ।

  

० तपाईको कारणले पनि आइसीसीले निलम्बन पत्र काटेको भनिन्छ । तपाइले त्यस्तो के गर्नुभयो ?
मलार्ई लाग्दैन कि मेरो कारणले गर्दा आइसीसी ले क्यान निलम्बन गर्ने भनेर पत्र पठायो । यो एउटा संयोग मात्र हुन सक्छ । मेरो कारणले त्यस्तो भयो भन्ने सुन्दा चाहिं मलाई अचम्म लागिरहेको छ । एउटा मान्छे कति शक्तिशाली हुन्छ र आइसीसी ले मेरै कारणले गर्दा निलम्बन पत्र पठायो भनेर मलाई लागिरहेको छ । मेरो कारणले भन्दा पनि आइसीसी ले पहिलादेखि नै क्यानलाई पत्राचार गरिरहेको नै हो, प्रशासनमा सुधार ल्याउनु भनिरहेकै हो । अव एकदिनको कारणले कसैलाई पनि मुल्याङ्कन गर्न मिल्दैन । मानौ तिमीले कुनै काम गलत गर्यौ भन्दैमा तिमीले काम गरेको संस्थाबाट निलम्बन हुन्छौ भन्ने हुदैन । एउटा प्रमुख कार्यकारी अधिकृतले गर्दा मात्र समस्या हुने पनि होइन आइसीसी ले डेढ वर्ष अघिदेखि नै प्रशासनमा सुधार ल्याउनु भनिरहेको हो ।

० तर, तपाइलाई जुन कामको लागि ल्याइएको थियो त्यसमा सफल हुनुभयो त ?
मलाई दिएको जिम्मेवारी अनुसार म सफल भएकै छु । मलार्ई स्पोन्सर ल्याउनु भनिएको थियो । मैले स्पोन्सर पनि ल्याएकै हो । एनटीसीबाट स्पोन्सर आएकै हो । अरु अरुबाट पनि स्पोन्सर आएकै हो । मैले आइसीसी – एसीसीसंग कम्युनिकेसन गरेकै हो । मैले प्लान प्रोग्रामहरु बनाएर बोर्डलाई बुझाएकै हो । मलाई दिएको जिम्मेवारी सबै पूरा गरेकै छु ।

० नेपाली क्रिकेटको क्रेज बढ्दै गएको बेला क्रिकेट क्रिकेट संघभित्र उत्पन्न विवादको कारण क्रिकेटको विकासको लागि हो कि व्यक्तिगत स्वार्थको टकराव मात्र हो ?
क्रिकेटको विकासको लागि नै विवाद भएको हो भने क्रिकेटको विकास नै हुनुपर्ने हो नि । कुनै प्रतियोगिता हुन सकिरहेको छैन । प्रशासन चल्न पाएकै छैन । नियमितजसो आयोजना गर्नुपर्ने प्रतियोगिताहरु पनि गर्न नसकिने स्थिति भएकाले यो विवाद क्रिकेटको विकासको लागि भनेर गरिएको म मान्दिन । यस विवादले नेपाली क्रिकेटको विकास रोकेको छ, हामी पछि परेका छौ । नेपालको जुन विश्वसनियता थियो त्यो पनि गुमाउँदै गएका छौ ।

० त्यसो भए यो भएको विवाद व्यक्तिगत स्वार्थको मात्र हो ?
मलाई थाहा छैन व्यक्तिगत स्वार्थको लागि हो कि कुनै समूहको लागि ? हाम्रो लक्ष्य भनेको क्रिकेटको विकास गर्ने हो । म बसेको भनेको क्रिकेटको विकासका लागि हो । म कोही व्यक्ति वा समूहका लागि काम गर्न बसेको होइन । यो जुन विवाद भइरहेको छ । अवश्य नै यसले नेपाली क्रिकेटलाई पछाडि धकेलेको छ ।

० तपाई क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत भएको नाताले नेपाली क्रिकेटको उचाइ घट्दै गएको जिम्मेवारी लिनुहुन्छ कि हुन्न ?
यसको जिम्मेवारी म लिन्न । किनकी मैले नेपाली क्रिकेटलाई उचाइमा नै राख्न खोजेको हो, राम्रो गर्न खोजेको हो । व्यक्तिगत जिम्मेवारी लिन सम्भव हुँदैन । मैले गर्दा आइसीसी ले निलम्बन गर्ने, मैले गर्दा कुनै टुर्नामेन्ट नहुने भन्ने हुँदैन । अहिले जुन समस्या हामीले भोगिरहेका छौं त्यो प्रशासनको कारणले गर्दा भैरहेको हो । यदि तपाई बोर्डमा हुनुहुन्छ भने तपाईलाई सिइओको काम कर्तव्य मन परेन भने नयाँ सिइओ नियुक्त गर्न सक्नुहुन्छ । तर अहिले कसैले पनि भन्न सक्नुहुन्न कि सिइओको कारणले गर्दा नै समस्या भइरहेको छ । यो व्यक्ति विशेषको भन्दा पनि सामूहिक काम हो । हामी सिस्टममा हिड्नुपर्छ । अव कुनै खेलमा पारस खड्काको टिम हार्यो भने यो त भन्न सकिदैन कि पारस खड्काले गर्दा टिम हार्यो ।

० आइसीसी र एसीसीले दिने रकम पनि रोकिएको छ । न त आन्तरिक प्रतियोगिता हुने न त कुनै लिग हुने ? खेलाडीहरु अलमलमा परिरहेका छन् । यसो हेर्दा अहिलेसम्म क्रिकेटको सफलता संघको गुरुयोजनाले नभै खेलाडीहरुको मिहेनतले मात्रै बढी राम्रो नतिजा आइरहेको छ भन्न सकिन्छ ?
खेलाडीको मात्र मिहेनेतले मात्र क्रिकेटको विकास भएको चाहि होइन क्यानले पनि केही आफ्नो श्रोतहरु लगाको छ । अवश्य नै खेलाडीहरु एक्स्ट्रा डेडीकेट हुनुहुन्छ, मिहिनेती हुनुहुन्छ र उत्साहित हुनुहुन्छ । यो सबैको संयोजनले गर्दा नै यो सम्भव भएको हो । तर यदि क्यान छैन, खेलाडी छ भने तपाइले टुर्नामेन्ट गर्न सक्नुहुन्न । हुनसक्छ खेलाडीले बढी मिहेनत गर्नु भयो तर यो सबैको मिहेनतले मात्र भएको हो ।

० खेलभित्र घुुुुसेको राजनीति र त्यो राजनीतिले उत्पन्न गरेको विकारको संक्रमण नेपाली क्रिकेटमा पर्न थालेको हो ?
राजनीतिले राम्रो पनि गर्छ र हुनु पनि पर्छ । तर त्यसले गर्दा चाँहि जे कामको लागि जुन उद्देश्यको लागि संस्था बनेको छ त्यसलाई असर गर्ने गरी कुनै पनि राजनीति हुनुहँदैन । मुख्य कुरा के हो भने राजनीति राम्रो नतिजाका लागि हुनुपर्छ ।

० क्यानका भावी योजना र लक्ष्यहरु के के छन् ?
क्यानको भावी योजना मैले फ्लोरमै राखेको छु । तपाईहरुले डाउनलोड गरेर हेर्न सक्नुहुन्छ । हामीसंग धेरै भावी योजनाहरु छ । मुख्य कुरा अहिले जुन प्रशासनिक समस्या छ त्यो समाधान नभएसम्म केही काम हुन सक्दैन । मैले पाँचवर्षे रणनीतिक योजना बनाएर बुझाइसकेको छु ।

० नेपाली क्रिकेट विश्वमै परिचित भइसक्यो तर अहिलेसम्म एउटा सुविधा सम्पन्न रंगशाला छैन । यस विषयमा के भन्नुहुन्छ ?
बन्न सकेको छैन तर किर्तीपुर खेलमैदान निर्माणको क्रममा छ । त्यो बनिसकेपछि चाहिं हामीसँग अन्तर्राष्ट्रिय स्तरको खेलमैदान हुन्छ । अरु विकास गर्दै लैजानुपर्छ । यो एउटा व्यक्तिले मात्र गरेर हुने काम होइन सबैले गरेर हुने कुरा हो । यसमा सरकारले पनि सहभागिता देखाउनुपर्ने हुन्छ । संस्था पनि आफैमा बलियो हुनुपर्छ ।

० आइसीसीले क्यानमा यस्तै विवाद भइरहने हो भने अव बैसाखमा वल्र्ड क्रिकेट लिग डिभिजनमा नेपालले नामिविया खेल्न नपाउने भनिएको छ यसलाई कसरी हेर्नुहुन्छ ?
यो समस्या भनेको क्यानको संरचनात्मक समस्या हो । अहिले क्यानको संरचना हेर्नुभयो भने प्यारालाइज्ड भएको अवस्था छ । बोर्डमा समस्या आउन थाल्यो बैंक खाता रोक्का भएको छ । चार महिना भैसक्यो न त खेलाडीले तलब पाएका छन् न त कर्मचारीले नै । सबै प्रशासनिक कामहरु ठप्प छन् ।

खेलाडी छनोटदेखि लिएर खेलाडीलाई क्याम्पमा राख्ने जस्ता विभिन्न कामहरु गर्नुपर्ने हुन्छ तर पैसा छैन । यस्तो अवस्था केही गर्न सकिदैन । क्यानको बोर्डमा सेन्टरलाइज पावर छ त्यसले गर्दा प्रशासन चल्न सक्दैन । यस्तै कारणहरुले गर्दा आइसीसीले चासो देखाएको हुनसक्छ । म पनि चाहन्छु नेपालमा टुर्नामेन्ट होस् तर अहिलेको सन्दर्भमा निकै नै गार्हो छ ।

० एक सन्दर्भमा कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासको लागी आइसीसी र एसीसीको भर पर्नु पर्दैन भनेका थिए । यस विषयमा तपाइको धारणा के छ ?
सबैको आफ्नो आफ्नो धारणा हुन्छ । अरुको धारणालाई म सही गलत भन्न चाहान्न तर म क्यानको प्रमुख कार्यकारी अधिकृत भएको नाताले के भन्न चाहान्छु भने अन्तर्राष्ट्रिय खेलहरुमा जानका लागि हामीले आइसीसी र एसीसीलाई समर्थन गर्नुपर्छ । जति पनि नेपालमा क्रिकेटको क्रेज बढिरहेको छ, त्यसमा विदेशमै भएको प्रतिस्पर्धामा जित हासिल गरेको नतिजा हो ।

० आइसीसीको निलम्बन पत्रबारे के भन्न चाहनुहुन्छ ?
म केही पनि भन्दिन । भन्नु पर्यो भने म आफै सिधै भन्छु । उनीहरुले पनि आफ्नो काम गरिरहेका छन् हामीले सदस्य भएर आफ्नो काम राम्रोसँग गरिरहेको छैनौं । हामीलाई चेक गर्ने उनीहरुको अधिकारको कुरा हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More