असोज १ गतेदेखि हवाई र लामो दूरीका यातायात संचालन, यातायातमा ५० प्रतिशत बढी भाडा तय

16 September, 2020 09:35 | राजनीति | comments | 20100 Views

गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । सरकारका नवनियुक्त  प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिनुभएको हो ।

उहाँका अनुसार यसरी लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्ने छन् । हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ ।

  

आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् । “स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौँ । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्यो”, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “त्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदण्ड लागु गरेर खुला गरेका छौँ ।”

लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो । सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ । सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।

लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ । लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई संचालक अप्ठयारो परेकोले संचालन गर्न अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

यात्रु चढ्ने र ओर्लने बेलामा ढोकामा सेनिटाइजर प्रयोग गर्नुपर्ने छ । विमान चालक र सहचालक र अन्यले मास्क, पञ्जा जस्ता स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने छ । हवाई उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ ।

अन्तराष्ट्रिय हवाई उडान अनुमति

यस्तै अन्तरराष्ट्रिय हवाई उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको छ । सरकारले स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी सङ्क्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टन उडानका लागि अनुमति दिन सक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयोा । विदेशबाट आउने यात्रुको यात्रा शुरु गर्नुभन्दा पहिले ७२ घण्टाअघिको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

असोज ३० सम्म अन्तरराष्ट्रिय नाका बन्द

सरकारले अन्तरराष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ । यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड –१९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसंँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ । यसअघि १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलङ्गाको नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ । यस्तै चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो । उहाँले सङ्क्रमण बढ्दै गए स्थानीय प्रशासनलाई स्थानीय ऐनअनुसार थप निर्णय गर्ने अधिकार दिइएको जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More