आधा वर्षपछि व्यस्त बन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

21 September, 2020 13:54 | कर्पोरेट/पर्यटन | comments | 34200 Views

बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए । बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

अहिले अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो सङ्ख्या भनेको दैनिक १० एयरलाइन्स आवतजावत हो । कोभिड–१९ महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तरराष्ट्रिय उडान भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा १०० अन्तरराष्ट्रिय उडान हुन्छन् । एयरलाइन्सले पालैपालो दैनिक १० वटासम्म उडान हुने गरेको छ ।

  

शुरुमा नेपालका तीनसहित १२ अन्तरराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति लिएकामा पछिल्लो पटक सरकारले अन्तरराष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय गरेसँगै थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अमुमति पाएका छन् । असोज १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिले नियमित, चार्टर्ड र उद्धार उडानसहित दैनिक १० वटाका दरले आगमन र प्रस्थान दुबै गरी २० उडान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या भनेको विगत बन्दाबन्दीको अवधिमा गरिएको उडानकै हाराहारी हो । अहिले जनशक्तिलगायत सबैखाले व्यवस्थापनका हिसाबले दैनिक २० भन्दा बढी उडान सञ्चालन गर्न नसकिने महाप्रवन्धक केसीले बताउनुभयो ।

असोज ५ गतेदेखि आन्तरिक उडान पनि सञ्चालनमा आएको छ । स्वास्थ्य सावधानी अपनाएर सुरक्षित उडानका लागि जनशक्ति व्यवस्थापनदेखि स्रोतसाधनको उपलब्धतालगायत काममा विमानस्थल निकै व्यस्त भएको छ । महाप्रबन्धक केसीका अनुसार अहिले भइरहेको अन्तरराष्ट्रिय उडानअन्तर्गत नियमित र चार्टर्ड उडानमा आउने यात्रुको पिसीआर रिपोर्ट नेटेटिभ भएमा सिधै घर वा गन्तव्य जान दिइन्छ । उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा जानुपर्ने हुन्छ । यो सबै व्यवस्थापनका लागि विमानस्थललाई निकै हम्मे पर्दै आएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विमानस्थलका अनुसार अहिले सबै प्रकारका उडानमार्फत दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म यात्रु नेपाल आएका छन् । यसरी आउने यात्रुको स्वास्थ्य प्रक्रियालगायत व्यवस्थापन गर्नुपर्ने भएकाले विमानस्थलमा चाप बढेको छ । अन्तरराष्ट्रिय विमानस्थल अहिले दैनिक २१ घण्टा सञ्चालनमा छ । अन्तरराष्ट्रिय विमानस्थलमा हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनलीले सेवा सञ्चालन गर्दै आएका छन् । बन्दाबन्दीको छ महिनापछि असोज ५ देखि सञ्चालन हुने आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ । वायुसेवा प्रदायकले पनि स्वास्थ्य प्रोटोकल पालना गरेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । शुरुको एक साता सामान्य अवस्थाको २५ प्रतिशत मात्र आन्तरिक उडान हुनेछन् । क्रमशः उडान सङ्ख्या बढाइने नियामक प्राधिकरणले जनाएको छ । सामान्य अवस्थामा आन्तरिकतर्फ ३०० हाराहारी उडान हुने गरेको थियो ।

आन्तरिक उडान सुरु

कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।

सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।

बुकिङ उत्साहजनक

लामो समयपछि खुला भए पनि आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक नै रहेको छ । यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सोमबारको उडानका लागि ७० प्रतिशतसम्म टिकट बुकिङ भएको छ । अन्तिम समयसम्म पनि बुकिङ खुला रहने भएकाले यो सङ्ख्या अझ बढ्नसक्ने उहाँले बताउनुभयो । सोमबार यतीले ११ वटा उडान गर्नेछ ।

त्यस्तै बुद्ध एयरका दीपेन्द्र कर्णका अनुसार आइतबार दिउँसोसम्म ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ । बुद्धले काठमाडौँबाट सोमबार १८ वटा उडान गर्ने अनुमति पाएको छ । श्री एयरलाइन्सले भने आन्तरिक कारण देखाउँदै भोलि उडान नगर्ने भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More