आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षाआशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

  • आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
  • आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
  • आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
  • आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
  • आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
  • आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

27 April, 2019 12:25 |पत्रपत्रिका | comments | 34650 Views

    आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

    आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

    adsads

    ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् ।

    निर्माणका क्रममा रहेका र यसै वर्ष सम्पन्न हुने सूचीमा रहेका परियोजनाको प्रगतिले पनि वर्ष ०७६/७७ आशालाग्दो देखिन्छ । कृष्ण रिजाल र अच्युत पुरीको रिपोर्ट:

    दुई महिनाभित्रै आउँदै छ पाइपलाइनबाट पेट्रोल

    इन्डियन आयल कर्पोरेसन (आइओसी)को सहयोगमा निर्माणाधीन मोतीहारी–अमलेखगन्ज पाइपलाइन दुई महिनाभित्रै सम्पन्न हुँदै छ । आइओसीको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रबन्धक एनके पन्डाका अनुसार १५ असारभित्रै पाइपलाइनबाट तेल ढुवानी हुनेछ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय यो पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । पाइपलाइनबाट डिजेल ल्याउन सुरु गरिएपछि वार्षिक दुई अर्ब ढुवानी खर्च जोगिने निगमका पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख तथा अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए । त्यसपछि पेट्रोल ढुवानीको प्रक्रिया पनि सुरु हुनेछ । ढुवानी खर्च र तापक्रमका कारण हुने क्षति घट्दा उपभोक्ताले प्रतिलिटर तीनदेखि चार रुपैयाँ कममा डिजेल पाउने सम्भावना हुने यादवले बताए । परियोजनाको लागत पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

    बिजुली उत्पादन ११४९ मेगावाट

    देशमा अहिले करिब ११ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । आर्थिक वर्ष ०७६÷७७ मा मात्रै १,१४९ मेगावाट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । स्वदेशी लगानीमा बनेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसीले आगामी पुसदेखि ४५६ मेगावाट बिजुली उत्पादन गर्नेछ । सुरुमा ७८ मेगावाटको युनिट चल्नेछ । त्यसपछि क्रमैसँग बाँकी पाँच युनिटबाट विद्युत् उत्पादन हुनेछ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले पनि पुसदेखि नै उत्पादन थाल्नेछ । ८२ मेगावाटको सोलु तल्लो, ४२/४२ मेगावाटका मिस्त्री खोला र साञ्जेन, ४० मेगावाटको खानीखोला–१ ले पनि उत्पादन सुरु गर्नेछन् । ०.०४ मेगावाटको लेगुवा खोलादेखि ३६ मेगावाटको माथिल्लो बलेफी एसम्मका थप ३७ जलविद्युत् आयोजना पनि यही वर्ष पूरा हुँदै छन् । यही वर्ष ११६ मेगावाटको माथिल्लो त्रिशूली–१ र १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण सुरु हुँदै छ ।

    हेटौँडा–काठमाडौं छोटो दूरीको कान्ति लोकपथ असोजभित्रै

    ६ दशकअघि निर्माण थालिएको ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको ७९ किलोमिटरमध्ये ३४ किलोमिटर कालोपत्रे सकिएको छ । बाँकी कालोपत्रे धमाधम भइरहेको र असोज अन्तिमदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजना प्रमुख विनोद सापकोटाले बताए । काठमाडौं उपत्यका र हेटौँडालाई जोड्ने यो राजमार्ग सबैभन्दा छोटो अर्थात् ७९ किलोमिटरको मात्रै हुनेछ ।

    भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान

    ०७६ मा राजधानीबाहिरबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदै छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग यसै वर्ष उडानयोग्य बनाउने आयोजनाको लक्ष्य छ । रनवे तयार भएपछि आगामी सेप्टेम्बर (भदौ/असोज)सम्म विमानस्थल सञ्चालनमा आउनेछ । त्रिभुवन विमानस्थलमा प्राविधिक कारणले जहाज अवतरण गर्न नसके डाइभर्ट भएर भैरहवामा अवतरण गरिनेछ । अहिलेको धावनमार्गलाई ट्याक्सीवेमा रूपान्तरण गरिनेछ । यसै वर्षभित्र गौतमबुद्ध विमानस्थलबाटै सीधै अन्तर्राष्ट्रिय उडान भर्ने योजना छ । अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ ।

    यो आयोजना सन् २०१५ मा सुरु भएको हो । २०१७ मा सम्पन्न गर्ने लक्ष्य पूरा नभएपछि जुन २०१९ सम्मका लागि अवधि थपिएको थियो । यो आयोजना बनेपछि काठमाडौंको हवाई चाप घटेर जोखिम न्यूनीकरण हुने तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सीधा उडानमार्फत आउने पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा
    नेपाल र चीनबीच सन् २०१७ मा ऋण सम्झौता भएपछि नेपालको पर्यटकीय राजधानी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गति लिएको थियो । यो आयोजना जुलाई २०२१ मा सम्पन्न गर्ने लक्ष्य तोकिएकामा ६ महिनाअघि नै काम सकेर अन्तर्राष्ट्रिय उठान सुरु हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अर्थात् २०७६ भित्र आयोजनाको अधिकांश काम सम्पन्न हुनेछ । यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटक आगमनमा गुणात्मक वृद्धि हुने अपेक्षा छ । नेपालको निजी लगानीको बुद्ध एयरले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पर्यटकीय सम्भावना बोकेका सहरमा क्षेत्रीय उडानको तयारी अहिल्यैदेखि थालिसकेको छ ।

    त्रिभुवन विमानस्थलको रनवेमा नयाँ पिच, चौबीसै घन्टा सञ्चालन
    चार दशकपछि देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्काएर नयाँ बनाउने काम भइरहेको छ । १५ असारसम्म यो काम सकिनेछ । यससँगै पटकपटक पिच उप्किएर हुने दुर्घटनाको जोखिम घट्नेछ भने विमानस्थल चौबीसै घन्टा उडानयोग्य हुनेछ । हवाई ट्राफिक जाम घट्ने विमानस्थल व्यवस्थापनको दाबी छ । अहिले दैनिक १० घन्टामा ५० मिटर पिच उप्काएर नयाँ पिच राखिएको छ । १० घन्टाको अवधिभित्रै पिच सुकाएर बिहान ८ बजे जहाज उड्न तथा अवतरण गर्न सक्ने गरी तयार गरिँदै छ । यो विमानस्थलको रनवे तीन हजार मिटर लामो छ ।

    तातोपानी नाका पुनः सञ्चालन हुँदै
    गोरखा भूकम्पपछि बन्द नेपाल–चीनको व्यस्त र काठमाडौंबाट नजिकको व्यापारिक नाका तातोपानी ०७६ मै पुनः सञ्चालन हुँदै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले आगामी दुई महिनाभित्रै सञ्चालनमा आउने बताए । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानी सुक्खा बन्दरगाहको निर्माण लभगभ सम्पन्न भएको छ । गत वर्ष नेपाल इन्टरमोडल यातायात विकास समिति र चिनियाँ वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक साझेदार एजेन्सीबीच ३० अप्रिल २०१९ अगावै बन्दरगाह निर्माण सम्पन्न गर्ने र २० मे २०१९ अघि नै नेपाललाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तातोपानी सुक्खा बन्दरगाहको कुल क्षेत्रफल ४.२ हेक्टर छ । बन्दरगाहमा ठूला एक सय ५८ र साना २३ गरी कुल एक सय ८१ सवारीसाधन पार्किङ गर्न सकिनेछ ।

    उत्तरतर्फको अर्को नाका रसुवामा सुक्खा बन्दरगाह पनि निर्माण सुरु हुँदै छ । दुई महिनाभित्रै रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने विकास समितिले जनाएको छ ।

    सिमरामा गार्मेन्ट जोन तयार, उद्योग खुल्ने
    सरकारले तयारी पोसाक उद्योगका लागि लक्षित गर्दै सिमरामा निर्माण गरेको गार्मेन्ट प्रोसेसिङ जोन (जिपिजेड) यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले दुई वर्ष लगाएर गार्मेन्ट जोन तयार गरेको हो । गार्मेन्ट जोनमा उद्योग स्थापनाका लागि आसयपत्र माग गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । उक्त जोनमा ७० प्लट तयार गरिएका छन् । करिब ४० गार्मेन्ट उद्योग स्थापना हुने अनुमान गरिएको छ । पानी, विद्युत्लगायत पूर्वाधारको विकास भइसकेकाले यस वर्षभित्रै गार्मेन्ट उद्योग नै सञ्चालन गर्न सकिने उनले बताए । गार्मेन्ट जोन सञ्चालनमा आएपछि नेपालको गार्मेन्ट निर्यात उच्चदरमा बढ्ने अपेक्षा गरिएको छ ।

    विराटनगरको एकीकृत भन्सार जाँचचौकी चल्ने
    भारतको सहयोगमा विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसिपी) आगामी दसैँभित्र सञ्चालनमा ल्याउने तयारी छ । नेपाल–भारत एकीकृत जाँचचौकी निर्माण परियोजना स्टेरिङ कमिटीको आठौँ बैठकले आइसिपी एक वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको थियो । ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । आइसिपीले दुईदेशीय व्यापार विस्तार, वस्तु ओसारपसार र दुई मुलुकका नागरिकको आवतजावतलाई सहज बनाउँदै आर्थिक वृद्धि र विकासमा साझेदारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । वीरगन्जमा भने आइसिपी सञ्चालनमा आइसकेको छ । भैरहवा र नेपालगन्जको आइसिपी निर्माणसमेत अघि बढ्ने ढकालले बताए ।

    दशकपछि जापान उड्दै नेपाल वायुसेवा निगमको जहाज
    असार तेस्रो साताबाट नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट जापानको ओसाका विमानस्थलमा सीधा उडान थाल्दै छ । सन् २००८ मा नेपालले जापान उडान रद्द गरेको थियो । त्यसवेला नेवानिको जहाज चीनमा ट्रान्जिट पारेर जापान जाने गरेको थियो । नेपाल वायुसेवा निगमको आन्तरिक अर्थतन्त्रमा मात्रै नभई मुलुककै पर्यटन र अर्थतन्त्रमा जापान उडानले ठूलो महŒव राख्नेछ । जापान नेपाली विद्यार्थी तथा कामदारको आकर्षक गन्तव्य हो । जापानबाट झन्डै ३० हजारहाराहारी पर्यटक वार्षिक नेपाल भ्रमणमा आउने गरेको तथ्यांक छ । ओसाकापछि नेवानिले नारिता विमानस्थलबाट पनि उडान हाल्ने तयारी गरेको छ । नेवानि जापानपछि चीनमा समेत यसै वर्ष उडान विस्तारको तयारीमा छ ।

    निर्माणाधीन अधिकांश पाँचतारे होटेल सञ्चालनमा आउँदै
    निर्माणको क्रममा रहेका अधिकांश पाँचतारे होटेल ०७६ भित्र सञ्चालनमा आउनेछन् । मिनी ठमेल उपनाम दिइएको छाया सेन्टर सञ्चालनमा आएको छ । यसको सबैभन्दा माथिल्लो भागमा अवस्थित छ, अलफ्ट होटेल । यो होटेलको आधिकारिक वेभसाइटअनुसार मे २०१९ (वैशाख—जेठ)मा सञ्चालनको तयारी छ । नक्सालस्थित मारियोट काठमाडौं होटेलको सफ्ट ओपनिङ भइसकेको छ । यसै वर्ष यो होटेल पनि पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी छ ।

    नक्सालमै बन्दै गरेको अर्को पाँचतारे डलब ट्री हिल्टन पनि यस वर्ष निर्माणको अन्तिम चरणमा पुग्ने कम्पनीले जनायो । चन्द्रागिरिमा पाँचतारे रिसोर्टले हालै सेवा सुरु गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा काठमाडौंमा निर्माण भइरहेको पाँचतारे होटेल सेराटन पनि यसै वर्ष सञ्चालनमा ल्याउने तयारीसहित काम भइरहेको छ ।

    निजी आवास र सम्पदा पुनर्निर्माणमा प्रगति
    पुनर्निर्माणमा यस वर्ष सफलता मिल्ने अपेक्षा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छ । चालू आवभित्रै निजी आवासतर्फ ८० प्रतिशत घर बनिसक्ने प्राधिकरणको भनाइ छ । यसबाहेक निर्माणका क्रममा रहेका अधिंकाश सम्पदा निर्माण भइसक्नेछन् । विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माणको प्रगति उत्कृष्ट छ । प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्र अधिकांश दरबार स्क्वायरभित्रका सम्पदा अवलोकनयोग्य हुने गरी धमाधम पुनर्निर्माण जारी छ ।

    जलमार्गको पहुँचतर्फ देश
    भारतले २०२० सम्ममा सम्पन्न गर्ने गरी नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ । भारतको केन्द्रीय सरकारले गंगादेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो । बिहारको हजिपुर (गंगा र गण्डकको संगम)देखि बगहा (नेपालको सिमानानजिक)सम्म करिब ३ सय किलोमिटर लामो जलमार्ग निर्माणले गति लिएको छ । गंगा–गण्डक जलमार्गले आगामी पाँच वर्षमा १ करोड १६ लाख टन कार्गो बोक्ने भारत सरकारको अनुमान छ । गंगा नदी र गण्डकमा समेत पूर्वाधार निर्माण सुरु भएसँगै नेपाल–भारत अन्तरदेशीय जलमार्ग निर्माणले गति लिने देखिएको छ ।

    सबै स्थानीय तहमा वाणिज्य बैंक
    ‘क’ वर्गका बैंकले स्थानीय तहमा आफ्नो उपस्थिति तीव्र रूपमा बढाएका छन् । चालू आर्थिक वर्षको आठ महिनामै थप सय स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । हालसम्म ७ सय २४ तहमा बैंकका शाखा पुगिसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । राष्ट्र बैंकले आगामी असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्‍याइसक्ने जनाएको छ । सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेपछि वित्तीय पँहुच तथा समावेशिता वृद्धि, बैंकको बजार विस्तार, स्थानीय विकास, औपचारिक अर्थतन्त्रको विकास र सरकारको राजस्वसमेत वृद्धि गर्न सहयोग पुग्नेछ । सरकारले चलाएको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई समेत यसले सघाउनेछ ।

    देशैभर फोरजी
    दूरसञ्चार सेवाप्रदायकहरूले एक वर्षभित्र देशैभर चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) विस्तार गरिसक्ने कार्ययोजना बनाएर अघि बढेको जनाएका छन् । अहिले नेपाल टेलिकम, एसनेल र स्मार्टले द्रुत गतिको फोरजी सेवा विस्तारलाई जोड दिइरहेका छन् । नेपाल टेलिकमले एक वर्षभित्रै देशका सबै स्थानीय तहमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) पुर्‍याउने भएको छ । टेलिकमले कम्तीमा हरेक स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी फोरजी सेवा विस्तार कार्य अघि बढाएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अहिले टेलिकमले पोखरा र काठमाडौंमा फोरजी सञ्चालन गरिरहेको छ । त्यस्तै, तीन दर्जन सहरमा फोरजी सञ्चालन गरिरहेको एनसेलले पनि सेवालाई देशभर विस्तार गरिरहेको जनाएको छ ।

    विकासका कामले गति लिने अपेक्षा
    सरकारले चालू आर्थिक वर्षमा कानुनी तथा संरचनागत सुधार गरेको भन्दै आगामी आर्थिक वर्षमा विकासका कामले अझ गति लिने जनाएको छ । वित्तीय संघीयता लागू भएको पहिलो वर्ष व्यवस्थापन र सुधारमै बितेको छ । अबको वर्ष भने विकासलाई गतिशील बनाउने सरकारको लक्ष्य छ । सरकारले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक महत्वका परियोजना निर्माणलाई गति दिनुपर्ने सरोकारवाला बताउँछन् । ०७६ मा राष्ट्रिय गौरवका आयोजनाले गति लिए मात्रै पनि विकासको आधारवर्ष हुने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् । काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्र्याक), मध्यपहाडी लोकमार्ग, अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिनेछन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई अघि बढाउन सकिए समृद्धिको आधार तय हुने उनको भनाइ छ ।

    आजको नयाँ पत्रिकामा खबर छ ।

    ‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’: प्रधानमन्त्री

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!