उत्तराधिकार खोज्दै ईश्वर पोखरेल उत्तराधिकार खोज्दै ईश्वर पोखरेल

  • उत्तराधिकार खोज्दै ईश्वर पोखरेल
  • उत्तराधिकार खोज्दै ईश्वर पोखरेल
  • उत्तराधिकार खोज्दै ईश्वर पोखरेल
  • उत्तराधिकार खोज्दै ईश्वर पोखरेल
  • उत्तराधिकार खोज्दै ईश्वर पोखरेल
  • उत्तराधिकार खोज्दै ईश्वर पोखरेल

उत्तराधिकार खोज्दै ईश्वर पोखरेल

15 May, 2019 12:10 | पत्रपत्रिका | comments | 14400 Views

नेकपामा असन्तुष्ट पूर्वएमालेलाई संगठित गर्दै

उत्तराधिकार खोज्दै ईश्वर पोखरेल

साबिक एमाले र माओवादी एकीकरणपछि धेरै नेताका जिम्मेवारीहरू खुम्चिए । कतिका पूर्वपदहरू खारेजीमा परे ।

adsads

त्यस्तै, मारमा पर्नेमध्येका शीर्ष नेता हुन्– ईश्वर पोखरेल । तत्कालीन एमालेका निर्वाचित महासचिव रहेका पोखरेल एकतापछि सचिवालय सदस्य मात्रै रहे । पूर्वसंगठनमा उनीभन्दा तल्लो वरियतामा रहेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव बने । त्यसयता पोखरेलले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा ‘विवादास्पद अभिव्यक्ति’ दिँदै आएका छन् । यसलाई ‘पोखरेलले महसुस गरेको असुरक्षा’का रूपमा विश्लेषण गरिएको छ ।

पोखरेलले निरन्तर दिँदै आएका अभिव्यक्तिलाई राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले एकीकरणपछि असुरक्षित महसुस गरिरहेका पूर्वएमाले समूहका नेता–कार्यकर्ताको ‘सेन्टिमेन्ट क्यास’ गर्ने प्रयासका रूपमा अथ्र्याउँछन् । ‘एकीकरणपछि पूर्वएमालेमा माथिदेखि तलसम्मका धेरै नेता–कार्यकर्ताले पूर्वमाओवादी नेताहरू भाग खोस्न पो आएका हुन् कि भन्ने मनोदशामा हुन सक्छन्,’ प्रा. पोखरेलले भने, ‘सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म हेर्दा अहिले ती सबै ‘सेन्टिमेन्ट क्यास’ गर्दै पोखरेल नेता बन्ने प्रयासमा छन् कि भनी अर्थ लगाउन सकिन्छ ।’

अभिव्यक्तिकै कारण उनी नेकपा वृत्तमा चर्चा र आलोचनाको विषय पनि बनेका छन् । पार्टी शीर्ष नेता मात्र होइन, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा दोस्रो वरीयताका सारथी रहेकाले उनका यस्ता अभिव्यक्तिमाथि केन्द्रीय सचिवालय बैठकमा पनि चर्चा हुने गरेको एकजना नेताले बताए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का वान–अन–वान भेटघाटमा समेत पोखरेलका कतिपय अभिव्यक्ति छलफलको विषय बन्ने गरेको स्रोत बताउँछ ।

अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखे, ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याइँनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु-याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । आज नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही बाटो हिँड्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले भेनेजुयला प्रकरणमा जारी गरेको वक्तव्यलगत्तै सत्तारुढ नेकपा पंक्ति मात्र होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेका वेला उनले यस्तो असन्तुष्टि पोखेका थिए । राजनीतिक विश्लेषकहरू पनि पोखरेलले अध्यक्ष प्रचण्डको नेतृत्वलाई अस्वीकार गरेको अथ्र्याउँदै आएका छन् । प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोस सम्मेलनमा सहभागी भएका वेला आएको प्रचण्डको त्यो वक्तव्यपछि अमेरिकासँगको कुटनीतिक सम्बन्ध सन्तुलित बनाइराख्न भन्दै प्रधानमन्त्री ओलीको उपस्थितिमा केन्द्रीय सचिवालयले बैठकले औपचारिक वक्तव्य सार्वजनिक गरेको थियो ।

पोखरेलको राजनीतिक यात्रा

एमालेमा दुईपटक महासचिवको कार्यकारी जिम्मेवारी सम्हालेका पोखरेल कम्युनिस्ट आन्दोलनको दोस्रो छिमलका नेता हुन् । १६ वर्षकै उमेरमा ओखलढुंगाबाट कम्युनिस्ट आन्दोलनमा होमिएका ६६ वर्षीय पोखरेल साबिक एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा चुनिएका थिए । शाहीकाल (०५९) मा उद्योगमन्त्री तथा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (०५१) मा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेल करिब २५ वर्षदेखि संस्थापननिकट रहेर निरन्तर शक्तिशाली भूमिका निर्वाह गर्ने चतुर नेता मानिन्छन् ।

मदन भण्डारीको निधनपछि तत्कालीन एमालेमा मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीसहित चारजनाले नेतृत्व सम्हाल्दा उनी निरन्तर संस्थापन समूहमा छन् । अहिले उनी अध्यक्ष ओलीनिकट रहेर सरकारको दोस्रो वरियताका मन्त्री छन् ।०२६ सालदेखि भूमिगत राजनीति सुरु गरेका पोखरेल ०३३ सालमा गठित ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी’को केन्द्रीय सदस्य थिए ।

उनी ०३५ मा गठित तत्कालीन नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य हुन् । पोखरेलले आफूलाई ओली, माधव नेपाल, झलनाथ खनाल, अमृतकुमार बोहोरा, वामदेव गौतमकै समकालीन भन्न रुचाउँछन् । ०५६ र ०७४ को आमनिर्वाचनमा पोखरेल दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तत्कालीन एमालेमा उनले संगठन विभाग, केन्द्रीय सचिवालय सचिव, उपत्यका इन्चार्ज, प्रचार विभाग, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र केन्द्रीय कार्यालय प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन् । उनका ०६१ माघ १९ पछि बन्दी बस्दाको संस्मरण ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ संस्मरण कृति प्रकाशित छन् ।

दुई अध्यक्षात्मक प्रणालीको विपक्षमा

केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच दुई अध्यक्षात्मक प्रणालीमा जाने गरी पार्टी एकीकरण गर्ने सहमति हुने संकेत पाएपछि पोखरेलले विरोध जनाएका थिए । एकतासम्बन्धी छलफलका समझदारीबारे पोखरेलसहित तत्कालीन एमालेका धेरै नेता जानकार थिएनन् । पोखरेलले भने त्यस्तो समझदारीबाट बहुकेन्द्र जन्मिने भन्दै एकीकरणको सहमतिअघि नै विरोध जनाएका थिए ।

पार्टी एकतापछि उनी नेतृत्वमा एउटै केन्द्र हुनुपर्ने तथा सरकारको नेतृत्व आलोपालो हुन नहुने अडानमा छन् । अर्का नेता वामदेव गौतमले दुईमध्ये एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी सञ्चालन गर्नुपर्ने राजनीतिक दस्तावेज पेस गरेपछि झन् आक्रामक बनेका उनले अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एउटै हुनुपर्ने अडान राख्दै आएका छन् । छुट्टाछुट्टै पार्टीबीच सत्तासमीकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भन्दै पोखरेलले त्यस्तो बहसले अस्थिरता निम्त्याउने तर्क गर्दै आएका छन् ।

‘संसदीय दलको नेता जो हुन्छ, प्रधानमन्त्री उही हुन्छ । यो अभ्यासकै कुरा भैहाल्यो । अब मात्र अध्यक्षको कुरा आयो । झट्ट सुन्दा राम्रो लाग्ला–प्रधानमन्त्री एउटा, पार्टी अध्यक्ष अर्को । तर, त्यसले काम गर्न सजिलो हुन्छ कि अप्ठ्यारो ? बरू कार्यकाल तोक्ने, एउटै केन्द्र बनाउने । कार्यकालको जस÷अपजसको भागिदार हुने, हामी यसरी जानुपर्छ ।’ एक कार्यक्रममा पोखरेलले भनेका थिए ।

अध्यक्षको प्रतिरक्षा कि उत्तराधिकारी बन्ने प्रयास ?

दुई दशकभन्दा लामो समय मूल नेतृत्वलाई सहयोग गर्दै आएका पोखरेल नेकपाको अध्यक्षका आकांक्षी छन् । पूर्वएमालेमा दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेको अनुभव भए पनि पार्टी एकतापछि जिम्मेवारी खुम्चिएकामा उनको अध्यक्ष बन्ने आकांक्षामा चुनौती थपिएको छ । पूर्वएमालेले कार्यकारी तहमा ७० वर्ष उमेर हदको अभ्यास गरिसकेकाले ६६ वर्षीय पोखरेलका लागि डेढ वर्षभित्र आयोजना हुने एकता महाधिवेशन अग्निपरीक्षा हुनेछ । एकता महाधिवेशनमा उमेरहद लागू नहुने विधान बने पनि नेतृत्वमा अघि बढिरहेकाहरूको कसरतमा नेकपामा पुनः उमेरहद लागू हुने सम्भावना छ । त्यसैले, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको रक्षाकवचका रूपमा अभिव्यक्ति दिँदै आएका पोखरेल उनको विश्वास जितेर पार्टी एकतापछि पूर्वएमालेभित्रै छुट्टै समूह बनाउने कसरतमा देखिन्छन् ।

पार्टी एकताले तलसम्म आकार ग्रहण नगर्दै अहिले ओलीको संरक्षकत्वमा रहेको मदन भण्डारी फाउन्डेसनको सांगठनिक विस्तारमा उनी खटिएका छन् । त्यसैले, पोखरेल अध्यक्ष ओलीको सहयोग लिएर पूर्वमाओवादीविरोधी समूह बनाउने प्रयासमा लागेको नेकपा पंक्तिमा विश्लेषण हुन थालेको छ ।

‘अहिले उहाँ अध्यक्षको प्रतिरक्षामा होइन, पूर्वएमालेभित्र माले समूह रहेजस्तै पूर्वमाओवादीविरोधी ग्रुप बनाउने प्रयासमा हुनुहुन्छ, एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टी एकतापछि पनि पूर्वएमालेमा पूर्वमार्क्सवादी , वामदेवको माले, माओवादीमा नारायणकाजीको पूर्वजनमोर्चा र बादल समूहजस्ता छुट्टै समूह बनाउने र त्यसबाटै नेतृत्वमा स्थापित हुने प्रयासमा हुनुहुन्छ ।’

पूर्वएमाले समूहमा उनीनिकट करिब एक दर्जन केन्द्रीय सदस्य नेकपाको केन्द्रीय कमिटीमा रहे पनि अहिलेसम्म छुट्टै समूह अस्तित्वमा छैन । त्यसैले पनि उनी अहिले ओलीको समेत समर्थनमा पूर्वएमालेभित्र छुट्टै समूह बनाउने कसरतमा रहेको एक नेताले बताए ।

पूर्वमाओवादीप्रति आक्रामक अभिव्यक्ति

एकतापछि ओलीलाई मात्र एकल अध्यक्ष बनाउनुपर्ने पक्षमा तर्क गरे पनि पूर्वएमालेभित्रैका धेरै नेताले उनका अभिव्यक्तिको बैठकहरूमै विरोध जनाए । सामाजिक सञ्जालमा वेला–वेला पूर्वमाओवादी लक्षित अभिव्यक्ति दिँदै आएका पोखरेलले एकतापछि जनयुद्ध दिवस मनाउने दुई अध्यक्षको निर्णयको विपक्षमा लबिङ नै गरेका थिए ।

स्रोतका अनुसार पार्टीमा छलफलै नभएको र पूर्वएमालेले जनयुद्ध स्वीकार नगरेकाले दिवस मनाउन नहुने भन्दै उनले आफूनिकट थुप्रै नेता–कार्यकर्तालाई टेलिफोन गरेर सहभागी नहुन निर्देशन गरेका थिए । उनी स्वयं पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएनन् । सुर्खेतमा रहेका माधव नेपालनिकट नेता योगेश भट्टराईलाई टेलिफोन गरेर उनले भनेका थिए– जनयुद्ध दिवस मनाउने निर्णय गरेर ठूलो ब्लन्डर भो, पार्टी लगेर बुझाइदिए भयो । अध्यक्षको यस्तो निर्णयलाई कसरी मान्न सकिन्छ ?

‘यसबाट एकतापछि माओवादीविरोधी सेन्टिमेन्ट क्यास गर्न सकिन्छ कि भन्ने उहाँको चाहना देखिन्छ, ती केन्द्रीय सदस्य भन्छन्, ‘एकताले पूर्णता नपाइसकेको र कार्यविभाजन नभइसकेकाले अहिलेसम्म को कता परिन्छ भनेर धेरैले मुख खोलेका छैनन्, तर उहाँ (पोखरेल) चाहिँ अहिल्यैदेखि त्यो समूहको नेतृत्व गर्ने जमिनको खोजीमा देखिनुहुन्छ ।’

 

ओलीनिकट मदन भण्डारी फाउन्डेसनको सांगठनिक विस्तारमा खटिएका पोखरेल ओलीकै सहयोग लिएर पूर्वमाओवादीविरोधी समूह बनाउने प्रयासमा लागेको विश्लेषण हुन थालेको छ

एकतापछि कमजोर ‘पोजिसन’

२५ वर्षदेखि संस्थापन समूहमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पोखरेलले पार्टी एकतापछि अध्यक्षपछिको कार्यकारी भूमिकाको महासचिव पद गुमाए । दुईपटक महाधिवेशनबाट महासचिवमा निर्वाचित पोखरेललाई ओली र प्रचण्डले एकीकरण घोषणा टुंगो लगाउने बैठकअघिसम्म दुई अध्यक्षबाहेकको संरचनाबाहिर लगेका थिएनन् । ‘बैठकमा ओलीको प्रस्ताव र प्रचण्डको समर्थनमा विष्णु पौडेललाई महासचिव बनाउने भनिएपछि उहाँले बैठकमा त कुनै विरोध जनाउनुभएको थिएन,’ केन्द्रीय सचिवालयका एक नेता स्मरण गर्दै भन्छन्, ‘तर बैठकबाट बाहिरिएपछि पारदर्शी नभएको भन्दै उहाँले धेरैसँग दुःखेसो व्यक्त गर्नुभयो ।’

ओली नेतृत्वको क्याबिनेटमा दोस्रो पोजिसनमा भए पनि पोखरेलले तत्काल उपप्रधानमन्त्रीको भूमिका त पाएनन् नै, रुचाएको अर्थ र परराष्ट्रको विकल्पमा रक्षा मन्त्रालयको जिम्मेवारी लिन बाध्य बनाइए । उच्च स्रोतका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारीपछि उनले निकटस्थहरूसँग आफूलाई विदेशी शक्ति केन्द्रले अर्थमन्त्री बन्न नदिएको बताउने गरेका थिए । ‘मेराविरुद्ध विदेशी शक्ति केन्द्र मात्र होइन, थुप्रै व्यापारिक स्वार्थ भएका व्यक्तिहरू पनि लागे, प्रधानमन्त्रीको कनेक्सन के छ, सबै थाहै छ, उहाँ(प्रधानमन्त्री) उनीहरूकै चंगुलमा पर्नुभो,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

ओलीले खासै सल्लाह नलिँदा पार्टी र सरकार दुवैतिर‘कर्नर’मा परेको महसुस गरेकै कारण पोखरेलले आन्तरिक विषयमा सार्वजनिक असन्तुष्टि पोख्ने गरेको हुन सक्ने विश्लेषकहरूको भनाइ छ । पोखरेलनिकट नेता तथा नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतम भने पोखरेलका पछिल्ला अभिव्यक्ति र भूमिकालाई मूल धारको राजनीतिमा स्थापित हुने सन्देशका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

सामाजिक सञ्जालमा व्यक्त पोखरेलका असन्तुष्टि

अभिव्यक्ति १ : सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिस्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो शृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिस्टका नाममा भिड शक्ति हुन सक्दैन । विसर्जन्मुख भिड त झन् किमार्थ शक्ति हुनै, बन्नै सक्दैैन । कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ ।

तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याउनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्‍याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । आज नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही बाटो हिँड्नुपर्छ । (फेब्रुअरी ९, २०१९)

सन्दर्भ : भेनेजुयला प्रकरणमा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यपछि पोखरेलले सामाजिक सञ्जालमा लेखेका थिए । जवाफमा प्रचण्डले गृहजिल्ला चितवनमा पूर्वमाओवादीलाई पेलेरै जान खोजे अर्को माओवादी जन्मिन सक्ने चेतावनी दिएका थिए ।

अभिव्यक्ति २ : नेपाल कम्युनिस्ट पार्टी सचिवालयको बैठकले काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामालाई औपचारिक रूपमा छलफल गर्नुनपर्ने विषय ठान्दै त्यसलाई ड्रप गरेको छ ! साथै, उपनिर्वाचन र उमेदवारीको विषयमा केन्द्रित भई गरिएको बहसलाई समेत अन्त्य गरेको छ ! (अक्टोबर २१, २०१८)

सन्दर्भ : वामदेव गौतमलाई काठमाडौं–७ मा उम्मेदवार बनाउने विषयको छलफलपछि । सचिवालयमा छलफल हुनु पहिल्यैदेखि पोखरेल नेता गौतमको उम्मेदवारीको विपक्षीमा थिए ।

 

पूर्वएमालेमा दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेको अनुभव भए पनि पार्टी एकतापछि जिम्मेवारी खुम्चिएकामा उनको अध्यक्ष बन्ने आकांक्षामा चुनौती थपिएको छ

अभिव्यक्ति ३ : हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौँ, रहन चाहेनौँ । देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौँ । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौँ, बाँच्न चाह्यौँ ! जनताले नरूचाएका वा जनतालाई हानी पु-याउने कुनै रूमानी ‘संघर्ष’ मा रमाएनौँ, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौँ ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकांक्षा कहिले पनि झांगिन पाएन, फल्न फुल्न पाएन । यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौँ, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौा ! (अक्टोबर १०, २०१८ )

सन्दर्भ : नेकपाभित्र पार्टी विधान र राजनीतिक कार्यदिशाबारे पूर्वमाओवादी समूहसँगको अन्तरविरोधलाई लक्षित गर्दै ।

अभिव्यक्ति ४ : परिवर्तनको आन्दोलन चलिरहँदा चुलिएका र चुल्याइएका जनताका आकांक्षाहरू, परिवर्तनपछि स्वाभाविक रूपमा प्रकट हुने अस्तव्यस्तता, तिनको सम्बोधन वा व्यवस्थापनमा राज्य सञ्चालनमा पुगेकाहरूमा देखापर्ने कमजोरीहरू (सीमा, अकुशलता, केही केही सत्ता (स्वार्थप्रेरित अभिव्यक्ति तथा गतिविधिहरू अर्थात् स्थितिजन्य अयोग्यताहरूलाई अगाडि सारेर प्रतिक्रान्तिलाई मलजल गर्ने उद्देश्यसहित केही गतिविधिहरू देखापर्न खोज्दै छन् । यस्तो वेलामा राष्ट्रियता र जनताको पक्षमा दृढतापूर्वक उभिनेहरूले विनय भावसहितको दृढता र आपसी एकता मजबुत बनाउनु जरूरी छ । व्यक्तिगत सन्तुष्टि र असन्तुष्टिबाट निर्देशित हुने सहुलियत वा छुट कसैका लागि पनि छैन र हुन सक्तैन ! (जुलाई, २४, २०१८)

सन्दर्भ : प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी चयनप्रति माधव नेपाल र नारायणकाजी श्रेष्ठको नोट अफ डिसेन्टपछि ।

आजको नयाँ पत्रिकामा खबर छ ।

बारापर्सामा वैशाख २१ बाट घर निर्माणको थालनी हुन्छ : उपप्रम पोखरेल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उत्तराधिकार खोज्दै ईश्वर पोखरेल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी

फेसबुक

राष्ट्रपति विद्यादेवी भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More