उपत्यकामा फैलदो कोरोना सङ्क्रमण- समुदायस्तरमा भए/नभएको परीक्षण सुरु

7 July, 2020 15:30 | जल/वातावरण/स्वास्थ्य | comments | 12900 Views

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

उपत्यकामा मानिसहरू भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ । सोमबार देखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् ।

  

उपत्यका भेटिएका सङ्क्रमित व्यक्तिहरूमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । भेटिएका सङ्क्रमित कपन, चागुनारायण, हरिसिद्धीलगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन । उनीहरूको कसै न कसैसँग कन्ट्याक्ट भएको हुनसक्दछ, कहाँबाट आएका हुन भन्ने हामीले पत्ता लगाउनु अति आवश्यक छ ।

काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरूमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताउनुभयो ।

उहाँका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरू उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताउनुभयो । उहाँले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताउनुभयो ।

महाशाखाले ती सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडेलगायत क्षेत्रका मानिसको नमूना सङ्कलन गरिएको छ । सङ्क्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा समेत अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताउनुभयो ।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More