‘एड्भेन्चर’मा रमाउँदै पूर्वेलीहरु

20 June, 2015 22:57 | कला/मनोरन्जन , क्षेत्रीय समाचार | comments | 190800 Views

Capture-गोपाल दाहाल
कुनैसमय ‘कालसँग जोरी खोजेको’ ठानिने ‘एड्भेन्चरर्स’मा अहिले पूर्वेलीहरुको आकर्षण बढ्दो छ । त्यसैले आकाशमा उड्न, पानीमा फालहान्न, झरनामा झुन्डिन लालायित छन् उनिहरु । पोखरा घुम्न जाँदा आकाशभरि चरा उडे झैं प्याराग्लाईडिङका दृष्य देखेर रमाउने पूर्वेलीहरुले अब पूर्वमै आकाशमा उड्न पाउने प्रतिक्षामा छन् ।

हावामा कावा खाँदै चरा झैं माथिमाथि उड्नु । नदिमा पानीको सेतो छालसँग लडीबुडी गर्दै पानीयात्रा गर्नु । अग्लो झरनामा झुन्डिंदै तलमाथि गर्नु । एउटा रुखबाट डोरीमा झुन्डिएर अर्को रुखसम्म पुग्नु । सुन्दै डर लाग्ने यस्ता गतिविधी गर्नु एक दशकअघिसम्म पूर्वेलीहरुका लागि सपना र असम्भव जस्तो लाग्थ्यो ।

नौ वर्षअघि पूर्वमा रयाफ्टिङ सुरु भयो तर डरले चढनै मानेनन् स्थानीयहरु । विदेशीकालागि रमाईलो गर्ने अवसर भएपनि नेपालीकालागि डरको संसार थियो, रयाफ्टिङ । विदेशी त्यति नआउने, आन्तरिक पर्यटक चढ्न डराउने भएपनि ५ वर्षसम्म घाटामा रयाफ्टिङ सञ्चालन गरे ढकालले । तमोर रिभर रयाफ्टिङ सञ्चालन गर्ने उनि सुनाउँछन् ‘अहिले वर्षमा सात-आठ सय जनासम्मले रयाफ्टिङ गरिरहेका छन् । हरेक वर्ष यो क्रम बढ्दो छ ।’

  

1. paragliding

केही वर्षअघि देखि धरानमा हुने खेलकुद कार्यक्रम, उत्सव, महोत्सवमा पोखराबाट प्याराग्लाइडिङ पाईलट बोलाएर भेडेटारदेखि धरानसम्म प्याराग्लाईडिङ उडाउने लहर चलेको थियो । आकाशमा प्याराग्लाईडिङ उडेको रमाईलो दृष्य हेर्नेदेखि कार्यक्रम, उत्सवको उद्घाटनमा प्याराग्लाईडिङबाटै पुष्पवृष्टि गराएर रमाउथे पूर्वेलीहरु । केही युवाहरुले व्यक्तिगत रुपमा बेलाबेला प्याराग्लाईडिङ उडाएपनि धरानका युवाहरु रोशन अधिकारी र निर्मल आचार्यले संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयबाट स्विकृति लिएर धरान ४ लक्ष्मीसडकमा ‘धरान स्काई एड्भेन्चर प्रालि’ सञ्चालनमा ल्याएपछि पूर्वमा प्याराग्लाईडिङले व्यवसायिक रुप लिने भएको छ । भूकम्पका कारण उडान सञ्चालन प्रमाणपत्रमा ढिलाई भएपनि आगामी साउन पहिलो साताबाट प्याराग्लाईडिङको व्यवसायिक उडान हुने प्रालिले जनाएको छ ।

2. Rafting Tamor
धनकुटाको तमोर नदिमा रयाफ्टिङ

 

गत चैत्र ५मा दर्ता भएको प्रालिले भेडेटारको छोटीमोरङ डाँडाबाट उडाएर धरान १६ नौलोवस्तिमा अवतरण गर्ने गरी कम्पनी आफैंले जग्गा खरिद गरेको सञ्चालक अधिकारीले बताए । ६ वटा टेन्डम उडानको अनुमति पाएको प्रालिले ४ हजार २ सय फिट माथिबाट उडाउँदै ३५ मिनेटको यात्रापछि अवतरण गर्ने छ। उडानको ५ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । सञ्चालक अधिकारी सुनाउँछन् ‘तीन वर्षअघि साथीले धरानमाथिको आकाशमा उडाउँदा मैले व्यवसायिक रुपमा प्याराग्लाईडिङ सुरु गर्ने सपना देखेको थिएँ अहिले पुरा हुँदैछ । पूर्वमा प्याराग्लाईडिङको अनुमति लिने हामी मात्र छौं।’

प्रालिले भेडेटारस्थित उडान गर्ने ठाउँमा धरान स्काई रिसोर्ट समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । धरानको ७० प्रतिशत भागसँगै इटहरी र तराईको समथर फाँटको दृष्यावलोकन गर्न सकिने भएकाले रिसोर्टमापनि पर्यटकको भीड लाग्ने उनिहरुको आशा छ । प्याराग्लाईडिङ र रिसोर्टमात्र होइन उनिहरुले चाँडै हर्ष राईडिङ (घोडचढी) र बञ्जिजम्पपनि सञ्चालन गर्ने योजना बनाएका छन् । सञ्चालक निर्मल आचार्य भन्छन् ‘प्याराग्लाईडिङ कहिलेदेखि सुरु हुन्छ भनेर सोधखोज गर्ने धेरै आईरहेका छन्, आन्तरिक पर्यटकबाटपनि राम्रो चल्ने सम्भावना देखिएको छ ।’

3. kanoning
नमस्ते झरनामा क्यानोनिङ गरिंदै

पूर्वमा मदन ढकालको तमोर रिभर रयाफ्टिङले हरेक वर्ष मंसीरदेखि जेठसम्म धनकुटाको मुलघाटदेखि सुनसरीको चतरासम्म ६ घण्टाको जलयात्रा गराउँदै आएको छ । सुरुमा डराउनेहरुपनि अहिले रमाउँदै रयाफ्टिङमा जानथालेको उनको अनुभव छ । एड्भेन्चर्समा पूर्वेलीहरु रमाउन थालेपछि उनै ढकालले गत वर्षदेखि धनकुटाको नमस्ते झरनामा क्यानोनिङ सुरु गरे । डोरीको सहाराले पानीको झहरामा उक्लिने, ओर्लिने खेल क्यानोनिङमापनि आन्तरिक पर्यटकहरु अभ्यस्त हुन थालेका छन् । क्यानोनिङमा सहभागीहरु नमस्ते झरनाको शिरबाट ५५ मिटर तल छहरामा झर्न सक्छन् । गत वर्षबाटै सुरु गरिएको रुखहरुमा डोरीको माध्यमले झुन्डिदै खेलिने जीप लाईनमापनि फाट्टफुट्ट पर्यटकहरु रमाउन थालेका छन् ।

dharan paragliding
धरानको आकाशमा प्याराग्लाईडिङमा रमाउदै युवाहरु

पहिला नेपालमा पर्यटन भन्ने वित्तिकै मठमन्दिर, हिमाल पहाडमा पर्यटक घुमाउने सोंच हुन्थ्यो पछिल्लो समय साहसिक खेल र रमाईलोका लागि पर्यटकहरु आकर्षित हुने गरेका छन् । विदेशी पर्यटक मात्र होइन नेपालकै आन्तरिक पर्यटकपनि ‘एडभेन्चर’मा रमाउन थालेपछि यो क्षेत्रको व्यवसायिक सम्भावना बढेको छ ।

‘एड्भेन्चर’को आनन्द लिनका लागि विश्वका धेरै ठाउँमा पर्यटकको ओइरो लाग्छ । नेपालकै पोखरालेपनि एड्भेन्चर टुरिजमबाट राम्रो फाईदा उठाईरहेको छ । अब पूर्वमा पनि यस्तै ‘एड्भेन्चर टुरिजम’को राम्रो सम्भावना देखिएको छ । पूर्वमा रयाफ्टिङबाट एड्भेन्चर टुरिजम सुरु गर्ने मदन ढकाल भन्छन् ‘पूर्वमा विदेशी पर्यटकहरु धेरै नआउने हुनाले आन्तरिक पर्यटकहरुको भर पर्नुपर्छ, नेपालीहरु भर्खर एड्भेन्चर सिक्दैछन्, अझैपनि डराउनेहरु धेरै भएकाले सुरुमै फाईदामा पुग्ने अवस्था छैन तर केही वर्षसम्ममा पूर्वले एड्भेन्चर टुरिजममा आन्तरिक पर्यटकबाटै राम्रो फाईदा लिन सक्छ त्यसकालागि सरकारलेपनि सहयोग गर्नुपर्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More