एनआरएन र स्थानीयको लगानीमा साढे चार मेगावाटको जलविद्युत निर्माण गर्ने

20 March, 2020 19:51 | एन आर एन न्युज | comments | 42750 Views

गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

कूल ४.५५ मेगावाट क्षमताको सो आयोजनामा मलेसियामा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले लगानी गर्न लागेका हुन् ।

कूल रु ८१ करोड ६५ लाख लागत रहेको सो आयोजनामा स्वपूँजीका रुपमा लगानीकर्ताले रु ३२ करोड ६५ लाख लगानी गर्ने भएका छन् । यस्तै आयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड ९९ लाख लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । स्वपूँजी र ऋण लगानीको मात्रा ४० र ६० प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

  

प्रवद्र्धक विकास हाइड्रोपावरका अध्यक्ष न्यौपानले साना आयोजनाबाट निर्माण शुरु गरेर ठूलो आयोजनामा जाने सोचका साथ आफूहरु जलविद्युत् आयोजनामा हात हालेको बताउनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणसँग वर्षाकालमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । आगामी विसं २०८० साल असारमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुरु भइसकेको जानकारी दिँदै प्रवद्र्धक कम्पनीले भने २०७८ असार भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

“जतिसक्दो चाँडो आयोजना निर्माण सम्पन्न भयो, त्यत्ति नै हाम्रा लागि राम्रो हुने भएकाले सोहीअनुसार नै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, अध्यक्ष न्यौपानेले भन्नुभयो । आयोजनाबाट उत्पादित विद्युत् कूल ३३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको सल्यानटार सवस्टशेनमा जोड्ने लक्ष्य राखिएको छ । आयोजनाले वार्षिक कूल २८.१८ गिगावाट ऊर्जा उत्पादन गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सानो आयोजना भए पनि आकर्षक रहेकाले बैंकले लगानी गरेको बताउनुभयो । उहाँका अनुसार वाणिज्य बैंकले मात्रै हालसम्म ऊर्जा क्षेत्रमा कूल रु १० अर्ब लगानी गरिसकेको जानकारी दिँदै केही महत्वपूर्ण आयोजना पाइप लाइनमा रहेको बताउनुभयो ।

“ऊर्जा क्षेत्रका केही लगानी तितो भए पनि धेरै लगानी मीठो र सकारात्मक रहेको छ । हामी उच्च प्रतिफल दिने र आकर्षक आयोजनामा दिल खोलेर लगानी गर्न सक्ने अवस्थामा पुगेका छौँ”, उहाँले भन्नुभयो । बैंकले आर्थिक वर्ष २०७५/७६ मा मात्रै कूल रु पाँच अर्ब चार करोड मुनाफा गरेकाले पनि थप आयोजना अगाडि बढाउन कुनै समस्या नरहेको उहाँको भनाइ छ । भौगोलिकरुपमा पनि आयोजना निर्माण स्थल सहज रहेको उल्लेख गर्दै आयोजनाले हिउँदमा समेत उच्च प्रतिफल दिने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More