ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल पाँचथरको जोरपोखरी जोखिममा

13 November, 2015 22:20 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 174900 Views

जितबहादुर भण्डारी

पाँचथर जिल्लाका भारपा र सुभाङ गाविसको सिमानामा अवस्थित, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जोरपोखरी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

पोखरी नजिकैबाट सडक निर्माणसँगै अतिक्रमणमा पर्न थालेको जोर पोखरीमा पछिल्लोपटक संरक्षणका नाममा तम्सिएका सङ्घ संस्थाले सम्भाव्यता अध्ययन नगरी टेवा पर्खाल निर्माण गरेपछि थप जोखिममा परेको हो ।

  

Panchthar Districtमेची राजमार्ग निर्माण कार्य सुरु भएदेखि नै यो पोखरीको अतिक्रमण हुन थालेको स्थानीय बताउँछन् । पछिल्लोपटक जोरपोखरीवाट खुँगा–एकतिन हुँदै मेमेङ जोड्ने जोरपोखरी एकतिन ग्रामिण सडक निर्माणका क्रममा यस क्षेत्रको सबैभन्दा धेरै अतिक्रमण भएको स्थानीयवासीको भनाइ छ ।

सडक निर्माण गर्ने क्रममा निस्किएको ढुङ्गा र माटो खरीका दुईमध्ये एउटा सिंहपोखरीमा पसेपछि त्यहाँको पानी सुक्न थालेको जोरपोखरी क्षेत्र संरक्षण समितिका संयोजक तिलराज लावती बताउनुहुन्छ ।

करिब एक किलोमिटर क्षेत्र ढाकेको जोरपोखरीमा सिंह र सिद्व नामका दुईवटा पोखरी रहेकाले जोरपोखरी नामाकरण गरिएको हो । पछिल्लो समय अतिक्रमण हुन थालेपछि सिंहपोखरीमा पानी शून्य भएको छ भने सिद्वपोखरीको पनि पानी क्रमशः घट्दै गएको छ ।

पछिल्लोपटक फिदिमका बद्रीप्रसाद रिजालको पहल तथा भू–संरक्षण कार्यालय, जिल्ला विकास समिति र मेची पहाडी पर्यटन विकास बोर्डको सहयोगमा पाइपमार्फत पानी ल्याउने, पोखरी आसपास सरसफाइ गर्ने र पानी जमाउने काम गरिएको लावतीले जानकारी दिनुभयो ।

संरक्षणका नाममा पानी ल्याउने र टेवा पर्खाल गर्ने काम गरिएपनि तौरतरिका नमिलाइँदा संरक्षणको साटो पोखरीको सौन्दर्यतामा ह्रास आएको जोरपोखरी बजारकै मोहन सिवाकोटीको प्रतिक्रिया छ । बाटो खन्ने क्रममा नाली व्यवस्थित नगरिँदा भेल पोखरीभित्र पस्न थालेको उहाँको भनाइ छ । प्राकृतिक पोखरीभित्र सिमेन्टको पर्खाल बनाइनुका साथै बाहिरबाट आउने फोहोर पानी र भेल व्यवस्थित नगरिँदा पोखरी सुक्न लागेको स्थानीय युवा तुलसी भण्डारीको पनि टिप्पणी छ ।

जोरपोखरी क्षेत्र आसपासमा हिलिहाङ दरवार, आगेजुङ गुम्बा र शिवगङ्गा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलसँगै नजिकै जोरपोखरी र गोपेटार बजार रहेका छन् ।

पोखरीको संरक्षण सम्बद्र्धन गर्न सके यहाँ बाह्रैमास ढुङ्गा सञ्चालन गर्दै पर्यटक आकर्षित गर्नुका साथै त्यहाँ आएका पर्यटकलाई तमोेर नदीसम्म स्थलमार्ग र रयाफ्टिङमार्फत मुलघाटसम्म पुरयाउन सकिने सम्भावना रहेको संरक्षण समितिका संयोजक लावतीको भनाइ छ ।

जोरपोखरी १९३३ सालमा स्थापना भएको इतिहास छ । मेची राजमार्ग नबन्नुजेल दुईवटा पोखरी अत्यन्त ठूलो भएको स्थानीयवासी बताउँछन् । पोखरीमा पूजाअर्चना गरे रोग नलाग्ने जनविश्वास पाइन्छ ।

पोखरी आसपासमा सिद्धेश्वरी मन्दिर, फाल्गुनन्द माङ्हिमलगायतका मन्दिरहरु रहेका छन् । जोरपोखरी क्षेत्रमा नै जिल्लाकै पुरानो तथा एक मात्र संस्कृत विद्यापीठ समेत रहेको छ ।

जोरपोखरी प्राकृतिक रुपमा अत्यन्त सुन्दर क्षेत्रको रुपमा रहेको छ । पोखरीको दीर्घकालीन संरक्षणका लागि स्थानीय सक्रिय हुनुका साथै सरकारी र गैरसरकारी निकायको पनि चासो हुनु जरुरी रहेकाले त्यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More