कास्कीका तीन सहकारी खारेज २ सय बढी कारबाहीमा

7 July, 2015 10:38 | अर्थ , पश्चिमाञ्चल | comments | 289800 Views

sahakari-photo-650x250प्रकाश ढकाल/ पोखरा
यो बर्ष कास्कीका ३ वटा सहकारी संस्था खारेज भएका छन् । सहकारी ऐन विपरित काम गरेको भन्दै ती सहकारी संस्थाहरु खारेज गरिएको हो । जिल्लामा अहिले सम्म ६ सय वटा सहकारी संस्था दर्ता भएका छन् । यी मध्ये करिब ४ सय सहकारी सहरी क्षेत्रमा छन् भने २ सय सहकारी ग्रामिण क्षेत्रमा छन् । पोखरा उपमहानगरपालिकाको वडा नम्बर १० मा रहेको कुखुरा पालक कृषि सहकारी संस्था, ढिकुरपोखरी गाविसमा रहेको मिलिजुली कृषि सहकारी संस्था र कास्कीकोट ९ मा रहेको गुप्त कालिका दुग्ध उत्पादक सहकारी संस्था खारेज भएका हुन् । सहकारी ऐनअनुसार सहकारी संस्थाले काम नगरेकाले ३ सहकारी संस्था खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराले जनाएको छ । खारेज गरिएका सहकारी संस्थामा सबै कृषि तर्फका रहेका कार्यालयका प्राचार्य बद्री अधिकारीले जानकारी दिए ।

यस्तै, २ सय भन्दा बढी सहकारीहरु कारबाहीमा परेका छन् । कतिपय सहकारी संस्थाले नविकरण नगरेको पाइएकाले त्यस्ता सहकारी संस्थालाई कारबाही गरिएको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता खारेजी भएका सहकारीले साधारणसभा नगर्ने र प्रतिवेदन नदिने गरेका कारणले पनि उनीहरुको दर्ता खारेजी भएको जनाइएको छ ।
सहकारीमा दर्ता भएका सबै सहकारी संस्था सञ्चालनमा आएका छैनन् । विगत २ वर्ष देखि सहकारी ऐन, नियमावलि र सहकारी विभागबाट जारी मापदण्ड बमोजिम सहकारी संस्थाहरुले डिभिजन सहकारी कार्यालयमा पठाउनुपर्ने विवरण नियमित नपठाएको, लेखा परिक्षण र साधारण सभा नगरेको, गरेको भएपनि त्यसको प्रतिवेदन कार्यालयमा नपठाएकोले त्यस्ता संस्थाहरुलाई कारबाही गरिएको छ । यो बर्ष २ सय १ वटा सहकारी संस्थालाई कारबाही गरिएको छ । यिनिहरुलाई ३ सय देखि १५ सय रुपैयाँ सम्म जरिवाना गरिएको छ ।

हामीले सहकारीको बर्गिकरण गरेर कारबाही गरेका छौं, कार्यालयका बालकृष्ण सुवेदीले भने–ग्रामीण क्षेत्र र शहरी क्षेत्रका सहकारीलाई छुट्टाछुट्टै जरिवाना गरिएको छ। कार्यालयले ग्रामिण क्षेत्रको कृषि सहकारीलाई ३ सय, ग्रामिण क्षेत्रको बचत तथा ऋण र शहरी क्षेत्रको कृषि सहकारीलाई ५ सय र शहरी क्षेत्रको बचत तथा ऋण सहकारी संस्थालाई १५ सयका दरले जरिवाना लिएको छ । सहकारी संस्थाको कारबाहीबाट यो बर्ष २ लाख १८ हजार रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ । गत बर्ष पनि जिल्लाका ५ वटा सहकारी खारेज भएका थिए । कार्यालयले अहिले पनि अनुगमन गरिरहेकाले कारबाही संख्या बढ्न सक्ने जनाएको छ ।

  

यो आर्थिक बर्षभित्र ३७ वटा सहकारी थपिएका छन् । यसअघि ५ सय ६३ वटा सहकारी रहेको कास्कीमा ३७ वटा थपिएपछि अहिले ६ सय वटा पुगेका हुन् । कास्कीको मिजुरे डाँडामा पहिलोपटक सहकारी संस्था स्थापना भएको छ । थपिएका मध्ये ३४ वटा कृषि सहकारी छन् भने ३ वटा बचत तथा ऋण सहकारी संस्था छन् । सरकारले पनि शहरी क्षेत्रमा नयाँ सहकारी खोल्ने प्रबृत्तिलाई निरुत्साहित गर्नका लागि कुनै पनि शहरी क्षेत्रमा बचत तथा ऋण सहकारी संस्था स्थापना गर्न नपाउने प्राबधान बनाएको छ ।

यसैबीच, यो बर्ष जिल्लामै पहिलो पटक ६ वटा सहकारी संस्था एकिकरण भएका छन् । लेखनाथ नगरपालिकामा रहेका चक्रदेवी सहकारी र दिपाङ्ग मैदी सहकारी संस्था एकिकरण भएर चक्रदेवी सहकारी बनेको छ भने काहँुमा रहेका देउराली बचत तथा ऋण सहकारी संस्था र सहारा बचत तथा ऋण सहकारी एकिकरण भएर काहुँ देउराली बचत तथा ऋण सहकारी संस्था कायम भएको छ । यस्तै पुरुञ्चौर गाविसमा रहेका साना किसान सहकारी संस्था र सम्पूर्ण कृषि सहकारी संस्था एकिकरण भएर साना किसान सहकारी संस्था बनेको छ । अझै करिब ८ वटा सहकारी एकिकरणको प्रकृयामा रहेका सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीले जनाएको छ । एकिकरण हुन पनि प्रक्रिया पूरा गर्नुपर्छ, कार्यालयका प्राचार्य अधिकारीले भने–हामीलाई निवेदन आईसकेका छन्, अब साधारणसभामा निर्णय गरेर एकिकरण हुन्छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More