किन पाएन नेपालले सम्झौता अनुसार चीनमा हवाई उडानको अनुमति ?

6 June, 2019 13:19 |कर्पोरेट/पर्यटन | comments | 27900 Views

    नेपाल र चीनबीच सन् २०१४ मा भएको हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकनपछि दुवै देशले सातामा ७० उडान गर्न पाउने सम्झौता भए पनि नेपालले अहिलेसम्म एउटा पनि उडान अनुमति पाएको छैन ।

    नेपालले चीनका बेइजिङ, ग्वान्झाओ, ल्हासा, सांघाई, कुनमिङ, छेन्दु र सियान गरी सात सहरका विमानस्थलमा उडान गर्न सक्ने गरी सम्झौता गरेको छ ।

    adsads

    तर जहाजको अभावमा चीनले मात्र एकतर्फी उडान गरिरहेको छ । नेपाल वायुसेवा निगमले चीनको महत्वपूर्ण गन्तव्यमा उडान अनुमति खोजे पनि पाउन सकेको छैन र हाल चीनका ५ वटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन् ।

    नेपाली वायुसेवाले चीनका स्थापित गन्तव्यमा उडान अनुमति मागिरहेका छन् । नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओ र बेइजिङमा उडान अनुमति मागेको भए पनि चीनले दिएको छैन ।

    यो समस्या समाधान गर्न दुवै देशले मागेकै विमानस्थलमा उडान अनुमति पाउने र जुनसुकै विमानस्थलमा पनि उडान गर्न पाउने गरी सम्झौता पुनरवलोकन गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभएको छ ।

    यस्तो सम्झौता पुनरवलोकनपछि वायुसेवा निगमले चाहेकै गन्तव्यमा उडान गर्न सक्ने र तत्कालै अनुमति दिनुनपर्ने शर्त नेपालले राखेको छ । यो सम्झौता नवीकरण भए दुवै देशका वायुसेवाले जुनसुकै विमानस्थलमा उडान गर्न पाउनेछन् ।

    चीनले भने नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने गरी सम्झौता भएको छ । निकट भविष्यमै पोखरा र भैरहवा विमानस्थल निर्माण सम्पन्न भएपछि यी दुई विमानस्थमा हुने उडानलाई दृष्टिगत गरेर हवाई सम्झौता पुनरवलोकन गर्न चाहेको हो ।

    चीनले नेपालमा हुने उडान बढाउन चाहेको र निर्माणाधीन नयाँ विमानस्थबाट हुने उडान अनुमतिमा रुचि देखाएको छ । नेपाली पक्षका वायुसेवाले पनि चीनका नाफामूलक र चाहेकै विमानस्थल उडान अनुमति मागेकाले हवाई सम्झौता पुनरवलोकन गर्न खोजिएको हो ।

    यसका लागि सरकारी टोली साउन ७ र ८ गते चीनको राजधानी जाने र दुई पक्षीय वार्ताबाट सम्झौता पुनरवलोकन गर्ने तयारी छ । ५ वर्ष अगाडि चीनसँग भएको एएसए पुनरवलोकनमा दुवै देशले सातामा समान उडान गर्ने गरी ५६ उडानको सम्झौता भएको थियो । सम्झौतामा एक वर्षभित्रै उक्त उडानलाई बढाएर ७० वटा पुर्‍याउन सक्ने व्यवस्था थियो ।

    हाल चिनियाँ वायुसेवाले नेपालमा साताको ५६ वटै उडान गर्दै आएका छन् । नेपाल वायुसेवा निगमले भने दशक अगाडिको उडान जहाज अभावमा बन्द गरेको भए पनि नयाँ वाइडबडी ल्याएर पुनःचीन उडान गर्ने तयारी गरेको छ । तर, जहाज आएको एक वर्षसम्म पनि निगमले अझै चीन उड्न पाएको छैन ।

    चीनबाट एयर चाइनाले सातामा १ सय २७ र २ सय ८१ सिट क्षमताका जहाजबाट १० वटा र चाइना इस्टर्नले १ सय ३२ सिट क्षमताको जहाजबाट १४ वटा उडान गर्छ । यस्तै, चाइना साउदर्नले १ सय २० सिटदेखि २ सय ८६ सिट क्षमतासम्मका ७ प्रकारका जहाजबाट सातामा १४ उडान गर्ने गरेको छ ।

    सिचुवान एयरलाइन्सले १ सय ३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा, तिब्बत एयरलाइन्सले १ सय २८ सिट क्षमताको जहाजबाट सातामा दुईवटा उडान गरिरहेको छ ।

    चीनसँगको यो सम्झौता पुनरवलोकनपछि नेपाली वायुसेवालाई चीन उडान सहज हुनेछ । निजी क्षेत्रबाट सञ्चालन भइरहेको हिमालय एयरलाइन्सले पनि चीनको छोङचुङमा चार्टर उडानको अनुमति पाएको छ तर, यो गन्तव्य लाभदायी हुन नसकेकाले व्यावसायिक उडान सञ्चालन गर्न सकेको छैन । यसले ल्हासासहितका नाफामूलक गन्तव्यमा उडान अनुमति मागिरहेको छ।

    यात्रु नपाएको बहानामा वायुसेवा निगमको जापान उडान स्थगित 

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!