किराँतीहरूको राजधानी गोकर्णको धार्मिक, ऐतिहासिक महत्व ओझेलमा (भिडियोसहित)

26 September, 2020 13:20 | कर्पोरेट/पर्यटन | comments | 33900 Views

नेपालका हरेक गाउँ, नदी, पोखरी, मन्दिरहरुको इतिहास पुराणसम्म जोडिएका छन् र यिनको इतिहास खोतल्दै जाँदा नेपालको प्राचीन कालसम्मै पुग्न सकिन्छ । यस्तै प्राचीनकालमै स्थापना भएको एउटा मन्दिर गोकर्णेश्वर महादेव हो भने यही मन्दिरको पूर्वपट्टी रहेको नेवार बस्ती । समुद्र सतहबाट १३३६ मिटरको उचाइमा काठमाडौँ उपत्यकाको पूर्वउत्तर नौ किलोमिटरको दूरीमा अवस्थित गोकर्ण किराँतीहरूको राजधानी रहेको इतिहासकारहरु बताउँछन् ।

गोकर्णेश्वर मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणमा गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल भए पनि यसको प्रचार प्रसारको अभावमा त्यसको लाभ लिन सकिएको छैन ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर महादेव र ऐतिहासिक गोकर्ण गाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित गर्न लागिपरेको बताउनुहुन्छ । गोकर्णेश्वर महादेव मन्दिरको पूर्वपट्टी रहेको प्राचीन नेवार बस्ती उपत्यकाकै पुरानो बस्तीमध्येको एक हो । यतिबेला गोकर्णेश्वर महादेवको जीर्णोद्वार कार्य भैरहेको छ ।

  

नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्ययुगदेखि नै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए । त्यस्तै गोकर्ण प्राचीन तथा महत्त्वपूर्ण तीर्थ भएकोले बङ्गाली राजा धर्मपाल यहा आएका थिए । गोकर्णेश्वर महादेवको प्रस्तरलाई हेर्दा यो एउटा कालो प्राकृतिक प्रस्तर हो र यसको अवधि प्राग्ऐतिहासिक नै हो।

यो मन्दिर राजा जयस्थिति मल्लले इ.स. १४२२मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।

यहाँ नेपाली संवत् ७०३ मै गोपीराना भारोले गजुरमा सुवर्ण कलश ध्वजा चढाए भने लिच्छवि राजा मानदेव प्रथमले निर्माण गराएको मानगृह पनि गोकर्णमा नै रहेको, साथै मन्दिरको कलाकौशल, टुँडालमा रहेका कलाकृतिका आधारमा यो मन्दिर लिच्छविकालीन हो भन्ने पुरातत्वविद्हरूको दाबी छ ।

त्यस्तै गोकर्णको इतिहास केलाउँदै जाने हो भने निकै प्राचीन कालसम्म पुग्न सकिन्छ । पुरातात्विक प्रमाणको आधारमा यस क्षेत्रको इतिहासलाई राजा मानदेवकाल अर्थात् लिच्छविकालसम्म पुर्‍याउन सकिन्छ भने साहित्यिक प्रमाणको आधारमा निकै अगाडिसम्म लैजान सकिन्छ ।

चाँगुमा प्राप्त ऐतिहासिक प्रमाणको आधारमा वि.सं. ५२१ तिर गोकर्णमा पनि बस्ती बसी सकेको मान्न सकिन्छ । यतिमात्र नभएर किरात कालदेखि नै यस क्षेत्रमा बस्ती भई विकसित रूपमा रहेको भन्ने इतिहासकारहरूको भनाइ रहेको छ । त्यस्तै लिच्छवि राजाको दरबार मानगृह कहाँ थियो भन्नेबारे विभिन्न अड्कल गरिए तापनि हालसम्मको खोजबाट गोकर्णमा नै थियो भन्ने यकिन भएको छ ।

त्यस्तै इतिहासकारहरूले अंशुवर्माको कैलाशकूट भवन विभिन्न ठाउमा रहेको अड्कल गरेको पाइन्छ । प्रबल मानेश्वर भनेर गोकर्णेश्वर महादेवलाई नै भनिएको र सोही कुरालाई पुष्टि गर्ने अर्को आधार हो अंशुवर्माको संवत् ५३६ को गोकर्ण बालुवा गाउँको अभिलेख हो । कैलाशकूट भवन गोकर्णको आसपास हुनुपर्छ भन्ने कुरा अभिलेखमा प्रयोग भएको अहिन्दूकोट्ट शब्दबाट स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ ।

यस गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका छन् । गोकर्णेश्वर मन्दिरको पश्चिमोत्तर वायण्य कोणमा आठौ शताब्दीको एक पुरानो मूर्ति रहेको एउटा पार्वतीको मन्दिर रहेको छ । त्यसमा पनि प्रसिद्ध गोकर्ण मन्दिरको इशानकोणतर्फ मिश्रति शैलीको श्री ३ जङ्गबहादुरकी आमा रक्षाकुमारीले विस १९११ मा निर्माण गरेको एक महत्वपूर्ण गदाधर नारायण मन्दिर रहेको छ ।

शास्त्रमा विष्णुपादुकालाई विष्णुले पितृको उद्धार गरेको पवित्र स्थल मानिन्छ । यस मन्दिरमा रहेको विष्णुपादुकामा राखी पिण्डदान गर्‍यो भने सबैभन्दा ठूलो पुण्य मिल्ने कुरा वराह पुराणमा उल्लेख छ । पितृकृत्यको लागि गदाधरको सानित्य अत्युत्तम मानिन्छ । आफ्नै महत्व रहेको विष्णुपादुका स्थानमा श्राद्ध गर्दा मृतकहरूले स्वर्गमा बास पाउछन् भनी विश्वास गरिन्छ ।

गोकर्णेश्वर मन्दिर आसपास रहेका विष्णुपादुका तीर्थ, त्रिवेणी धाम, पितामहमहातीर्थ, सप्तषिर्तीर्थ, पिङ्गला योगिनी, वाग्मती उत्तरवाहिनी तीर्थस्थल र गोकर्ण वनले महत्वपूर्ण स्थान राख्छन् । गोकर्णेश्वर महादेव मन्दिर पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ । पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिरबीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउँलाई उत्तरवाहिनी भनिन्छ । यो उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महत्वका वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिएर रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More